कथाः बैंकर श्रीमती
ओ…हो… आजकल कम्ती गाह्रो छ बैंकको जागीर खानलाई ? त्यसमाथि पनि म परेँ महिला कर्मचारी । घर व्यवहार हेर्नै पर्यो, केटाकेटीको स्याहार सुसार गर्नै पर्यो, उनीहरुलाई होमवर्क गर्न सघाउनै पर्यो, स्कुल पुर्याउनै पर्यो, त्यसैगरी खाना पकाऊ, बुढाको लुगामा आइरन लगाऊ… । कहिलेकाहीँ त लाग्छ म एक असल बैंकर त हुन सकेँ होला तर परिवारलाई प्रशस्त समय दिन नसक्दा सायद म असल आमा चाहिँ हुन सकिन कि ? असल श्रीमती पनि पो हुन सकिन कि ? धन्न बुझ्ने र समझदार श्रीमान् अनि सासुससुरा परेका छन् र सजिलो भएको छ । सबैले मेरो जस्तो राम्रो र समझदार परिवार कहाँ पाएका हुन्छन् र ! आज दिउँसो लञ्च टाइममा शशीले उसको परिवार वारे मलाई सुनाउँदै थिइन् । उसलाई त घरमा कसैले पनि सघाउँदैनन् रे, अफिसबाट ढिलो गरी घर फर्कियो भने ‘कसैले नखाको जागिर’ भन्दै हकार्छन् रे, घरको काम सबै उसैले गर्नु पर्छ रे । यस्तो तालले त अब सकिँदैन… बरु जागिर नै छोड्छु भन्दैथिइन् । “जागिर भनेको पैसा मात्र होइन शशी… आत्मसम्मान पनि हो । जागिरे हुँदा त तिमिलाई घरका सदस्यले हेप्छन् भने गृहिणी मात्र भएर घर बस्दा झन् कति हेप्छन् होला ?” भन्दै मैले सम्झाएपछि बल्ल उसले चित्त बुझाई । हुन त शशीलाई सजिलै सम्झाइदिएँ मैले तर आफ्नै मनलाई सम्झाउन चाहिँ धेरै गाह्रो महसुस गर्दैछु । हुनत मेरा घरका सदस्यहरु उसका घरका जस्ता चाहिँ छैनन् । मेरा सासुससुरा अनि श्रीमान अलि बुझ्झकि र सहयोगी भएर केहि सजिलो चाहिँ पक्कै छ । नेपाली समाज आजसम्म पनि त्यत्ति उदार भइसकेको छैन । भान्साको कामकाज अझै पनि महिलाले नै पुर्ण रुपमा जिम्मा लिनुपर्ने अवस्था छ, छोराछोरीको लालनपालन महिलाले नै गर्नुपर्ने पुरुषवादि सोच हावी छ । सासु बुहारीका किस्साको अवस्था उस्तै छ । आजका बुहारी सोच्दछन् कि उसकी सासु खराब छिन् तर केहि वर्ष पछि त्यही बुहारी सासु बन्नेछिन् र आफ्नी बुहारीसँग सम्बन्ध राम्रो बनाउन सक्दिनन् । त्योवेला उसकी बुहारीका पनि गुनासा बेग्लै हुन्छन् । वास्तवमा, आज हामी आफ्ना सासुप्रति खराब धारणा बनाउँछौं तर भोलि कसैको सासु बन्छौं र उही गल्ती आफु पनि दोहोर्याउँछौं । अहिले अषाढ पन्ध्र गते पनि कटिसक्यो, हामी बैंकरको लागि यो नजिकिएको क्लोजिङमा समयको एक–एक महत्व छ । त्यसमा पनि म लोन फाँटको कर्मचारी भएदेखि झनै व्यस्त भएको छु । आज पनि साँवा र व्याजको लागि ऋणीहरुलाई कम्ति फोन गरिएन । ऋणीहरुलाई पनि बहाना भएको छ यो कोरोनाको । पसल खोलेकै छन्, भित्र भित्र व्यापार व्यवसाय पनि गरेकै छन्, थोरबहुत नाफा पनि गरेकै छन् । व्यापार हिजो पनि गरेका हुन्, भोलि पनि गर्नेछन् । कहिलेकाहिँ त लाग्छ जनताको पैसालाई ऋणको रुपमा खाएपछि खुरुक्क तिर्नु नि… कत्ति फोन गरेर सम्झाउनु पर्ने होला । शशीले “टेलरको हिसाव मिल्यो… नगद थन्क्याऊँ ?” भनेर वेलुकी ६ बजेतिर सोध्दै गर्दा ल्याण्डलाइनमा फोन वज्छ । फोन एकजना प्रतिष्ठित ऋणीको हुन्छ । उताबाट आवाज आउँछ, “म्याडम, मेरो स्टाफ ऋणको किस्ता र व्याज लिएर आधा घन्टामा आउँदैछन् है… एकछिन बैंक बन्द नगर्नू होला ।” म “हुन्छ” भन्दै फोन राख्छु र शशीलाई उक्त कुरा सुनाउँछु । शशी भित्ताको घडि हेर्दै मलिन अनुहार बनाउँछिन् । मलाई थाहा छ उसको पिडा, आज पनि ऊ ढिलो गरी घर पुग्नेछिन् र घरमा गालि खानेछिन् । हुन त म पनि ढिलै घर पुग्ने पक्का भयो तर मैले गाली चाहिँ खानु पर्दैन । सबै काम सिध्याएर साँझ ७ वजे म र शशी सँगै बागवजारको अफिसबाट निस्कन्छौं । मेरो श्रीमान् मलाई लिन बाइकमा पर्खिरहेका हुन्छन् । सशी भने कपन जाने माइक्रो चढ्न भन्दै लुरुलुरु न्यूरोडतर्फ लाग्छिन् । मलाई नमिठो लाग्छ… म सोच्छु शशीले माइक्रो पाउँछिन् कि पाउँदिनन् होला यति राति ! कपन उत्रेर पनि घर पुग्नका लागि उसले २० मिनेट जति हिँड्नु पर्छ रे । कति बजे खाना पकाएर परिवारलाई खुवाउँदी हुन् कुन्नी ! शशीका वारे नानाथरी सोच्दै गर्दा मेरा श्रीमान चाहिँ मलाई भनिरहेका हुन्छन्, “थाहा छ तिमीलाई ? आज आमाले तिमीलाई मिठो लाग्ने तरकारी पकाउनु भएको छ नि ।” म बदलामा मुसुक्क हाँस्छु । बुहारीको बाटो नहेर्ने बरु आफैं भान्सा सम्हाल्ने मेरी सासूको सम्झना आउँछ… केटाकेटीलाई कथा र चुट्किला सुनाएर हेरचाह गर्ने ससुराको सम्झना आउँछ… अनि जति ढिलो भएपनि हौसला दिने, मलाई बुझ्ने र सधैं बाइक लिएर अफिसको गेटमा झर्को नमानि मलाई पर्खिरहने श्रीमानको याद आउँछ… । वास्तवमा मेरो परिवार प्रति मलाई गर्व लाग्छ । सबै बैंकर महिला कर्मचारीहरुको मेरो जस्तै सहयोगी परिवार भए कति राम्रो हुन्थ्यो होला… कति सजिलो हुन्थ्यो होला… । कोटेश्वरको खुला बाटोमा बाइक हाँक्दै गरेका श्रीमान प्रतिको माया अचानक बढेर आउँछ र अगाडि सर्दै टाँसिएर अँगालो हाल्छु… छातीमा तातो महसुस हुन्छ… श्रीमानले जिस्किँदै भन्छन्, “के भयो आज मेरो प्यारो बैंकर श्रीमतीलाई ?” म उसको कानमा साउति मार्दै भन्छु, “मलाई हरेक कुरामा सहयोग गर्ने प्यारो पतिलाई थ्यांक यू एण्ड लभ यु ।” मैले यति भनिनसक्दै श्रीमानले बाइकको एक्सिलिरेटर बटारिसकेका हुन्छन् र म पनि उसलाई बेस्सरी समाउँछु । [email protected]
लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी
सुुर्खेत । लकडाउन खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले गर्दा तराई मधेशबाट यहाँ आएर भाडामा बस्दै आएका सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् । दाह्री, कपाल काटेर गुजारा चलाउँदै आएका व्यवसायीले चार महिनादेखि व्यवसाय ठप्प हुँदा आफूहरु मर्कामा परेको बताएका छन् । अन्य व्यवसायजस्तै सुरक्षाका विधिहरु अपनाएर सैलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । नेपाल नाई सङ्घले आफ्नो व्यवसाय क्षेत्रको समस्याबारे शुक्रबार प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइसकेको छ । प्रशासनले व्यवसाय सञ्चालनमा सहजीकरण गरिदिनुपर्ने नाई सङ्घको माग छ । नाई व्यवसायी विनोद ठाकुरले लामो लकडाउनले बिहान–बेलुकाको छाक टार्न समस्या भएको गुनासो गरे । “हाम्रो व्यवसाय चार महिनादेखि पूर्णरूपले बन्द छ, पसलको भाडा, घरभाडा तिर्न र बिहान–बेलुका के खाने भन्ने समस्या भइसक्यो”, उनले भने, “सबै व्यवसायी परिवारसहित तराई–मधेसबाट आएर यहाँ घर भाडा लिएरै बसेका छौँ, लकडाउनमा अन्य व्यवसाय खुले पनि सैलुन व्यवसाय सरकारले बन्द गर्दा हामी ठूलो मर्कामा पर्यौं।” अर्का व्यवसायी सुवीर अन्सारीले आफूहरुको एक मात्र पेशा बन्द हुँदा जीविकोपार्जनमा कठिनाइ भएको बताए । “पसल र घरको भाडा तिर्नै समस्या भइसक्यो, घरबेटीले बारम्बार भाडा माग्न थाले, अब सापटी माग्न ठाउँसमेत रहेन”, अन्सारीले भने । नेपाल नाई सङ्घ सुर्खेतका अनुसार सुर्खेत उपत्यकामा झण्डै ५० सैलुनहरुका २ सय युवाहरुको रोजगारी गुमेको छ । रासस
सलहबाट मकै बालीमा पाँच करोड क्षति
अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन । वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिए । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करीब रु पाँच करोड नोक्सान भएको जनाइएको छ । । शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताए । सन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए । रासस