त्रिविका परीक्षा तत्काल नहुने, विद्यार्थीको पढाई १ वर्ष ग्याप हुने निश्चित
काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको छ । त्रिविले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको हो । विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्राडा. शिवलाल भुसालले विश्वविद्यालयको तर्फबाट परीक्षा गराउनुपर्ने सबै खालको तयारी भइसकेको भएता पनि कोरोनाले संक्रमण बढ्दै गएकोले परीक्षा गर्न असम्भव भएको बताए । कोरोना भाइरसको त्रासकै बीच परीक्षा गराउनु उचित नभएको उनको भनाई छ । ‘यही स्थिती रहीरहे हामी परीक्षा संचालन गर्न भने सक्दैनौं, सकेसम्म विद्यार्थीहरुलाई परीक्षा हलमै राखेर परीक्षा गराउने हाम्रो उद्देश्य हो, तर अहिलेको अवस्थाले हालको लागि परीक्षा गराउन असम्भव छ,’ उनले भने । यसअघि त्रिविले अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो । दशैं अगाडि त्रिविको सेमेष्टर र वार्षिक प्रणालीका सबै त्रिविको सबै परीक्षाहरु हुने बताएको थियो । तर अब भने कोरोना संक्रमण दर झन बढ्दै जाँदा त्रिविका सम्पूर्ण परीक्षाहरु अनिश्चित नै बनेका हुन् । त्रिविले परीक्षा सञ्चालन सम्बन्धि रेक्टर प्रा.डा. भुसालकै नेतृत्वमा कार्यदल पनि गठन गरेको थियो । कार्यदल गठन हुनुभन्दा अगाडि सेमेष्टरको परीक्षा खुला पुस्तक हेरेर लेख्नेको साथसाथै अनलाइन परीक्षा लिनेबारे कुरा आएपनि त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा त्रिवि पुगेको थियो । परीक्षा अब कसरी गराउने भन्ने बारे थप छलफल भएपछि छिटै विद्यार्थीहरुलाई यसबारे खबर गरिने भुसालले बताए । कोरोना भाइरस संक्रमणको कारण यस वर्ष पराम्परागत शैलीका सबै परीक्षाहरु स्थगित भएका छन् । कोरोना भाइरसको सन्त्रास भइरहेको बेला त्रिविले हालसम्म के गर्ने र कसरी परीक्षा लिने भन्ने यकिन निर्णय लिन सकेको छैन । माघ/फागुनमा हुनु पर्ने परीक्षाहरु ६/७ महिना बितिसक्दा पनि सञ्चालन हुन सकेका छैनन् । यसले विद्यार्थीको भविश्यमा प्रत्यक्ष असर परिरहेको छ । अब पनि परीक्षा सञ्चालन भएन भने सम्पूर्ण विद्यार्थीहरुको पढाई एक वर्ष ग्याप हुने निश्चित छ । यसप्रति त्रिवि पनि चिन्तित भएको भुसालको भनाई छ ।
गर्मीमा छालाको समस्याबाट बच्न के गर्ने ?
काठमाडाैं । केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ । टन्टलापुर घाम, अत्यधिक गर्मी, वातावरणीय आद्रताले गर्दा छालाको हेरविचार गर्नुपर्ने हुन्छ । त्यसमाथि वातावरणीय प्रदूषण र धुलो धुवाँले छालाको प्राकृतिक चमकलाई निस्तेज पार्ने वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा हरेन्द्र झा बताउँछन् । यसकै कारण छाला अत्यधिक चिल्लो, दागले भरिएको तथा डढेको कालो जस्तो देखिने उनको भनाइ छ । गर्मीको मौसममा बढ्ने तापक्रम र आद्रताले गर्दा छालामा हुने चिल्लो निकाल्ने ग्रन्थी बढी सक्रिय हुन्छन् । जसले गर्दा चिल्लो छाला अझै बढी चिल्लो तथा सुक्खा छाला फुस्रो र दाग पूर्ण देखिने उनको भनाइ छ । उनले भने, “छालामा हुने रंग बनाउने कोशीकाले धेरै रंग बनाउँछन्, जसले गर्दा छाला डढेको र कालो देखिन्छ ।” बढदो तापक्रमले चिल्लो निकाल्ने ग्रन्थीको छिद्र ठूलो भएर जान्छन् जसमा चिल्लो, धुलो, फोहर तथा किटाणु जम्मा हुन्छन् । यी सबै कारणले गर्दा डन्डिफाेर, चायाँ, पोतोको समस्या बढेर जाने उनको भनाइ छ । छालामा बुढ्यौलीको लक्षण चाँडै देखिन्छ । साथै छालाको क्यान्सर रोगको सम्भावना पनि बढेर जाने डा झा बताउँछन् । डा झाले गर्मी मौसममा छाला बचाउनका लागि विभिन्न उपाय रहेको बताउनुभयो । चिल्लोरहित वा चिल्लो सफा गर्नसक्ने फेसवासको प्रयोग उपयुक्त हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सुक्खा छाला वा मिश्रित छालाका लागि फिँज नआउने अनुहार सफा गर्ने क्रिम प्रयोग गर्न सकिन्छ ।” दिनभरिमा चार÷पाँचपटकसम्म अनुहारलाई सफा गर्नु राम्रो हुने उनको सुझाव छ । बजारमा पाइने राम्रो खालका एन्टी अक्सिडेन्ट सेरम प्रयोग गर्न सकिने चिकित्सक बताउँछन् । जसले छालाको चिस्यानलाई जोगाइराख्नुका साथै यसलाई वातावरणीय प्रभावबाट पनि सुरक्षित राख्न मद्दत गर्दछ । सबै प्रकारको छालाका लागि यो राम्रो विकल्प मानिन्छ । हामीले आफ्नो खाने कुरामा पनि एन्टी अक्सिडेन्टको प्रयोग बढाउनसक्छौँ । झाले भने, “हरियो सागसब्जी, कागती, सुन्तला, गोलभेँडा, सुक्खा फल जस्तै छोकडा, किसमिस, ओखर आदिको प्रयोग गर्नाले छाला चम्किलो र जवान देखिन्छ ।” यस्तै गर्मीका बेलामा हप्तामा एक वा दुइपटक अनुहारमा फेस प्याकको प्रयोग उपयुक्त हुन्छ । राति सुत्न अगाडि पानीले अनुहार राम्ररी सफा गरिसकेपछि उपयुक्त फेस प्याकको प्रयोग गर्नु पर्ने चिकित्सक बताउँछन् । यसले छाला नरम, मुलायम हुनको साथै चाँया, डन्डिफाेरको समस्यालाई पनि कम गर्छ । गर्मीको मौसममा सन स्क्रीनको साथ एकदमै भरपर्दो हुने डा झाको भनाइ छ । राम्रो सनस्क्रीन जसको प्रयोगले विकिरणको शरीरमा प्रभाव कम पर्दछ । सनस्क्रीन बिहान ८ बजे र दिउँसो १२ बजे प्रयोग गरेमा छाला बचाउन सकिने उनको भनाइ छ । गुणस्तरमा एसपिएफ १५ देखिमाथि प्रयोग गर्न उनको सुझाव छ । गर्मीको मौसमा कम शृङ्गार गर्न उहाँले सुझाव दिनुभयो । राम्रो स्किन टोनरको प्रयोग गर्नाले छालाको छिद्र खुल्छन् । जसले चिल्लो जम्मा हुन पाउँदैन । घ्युकुमारी वा काँक्रो भएको टोनर प्रयोग गर्नु फाइदा जनक हुने उनको भनाइ छ । राम्रो, नरम, मुलायम छालाका लागि प्रशस्त पानी पिउनु उपयुक्त हुन्छ । गर्मीको बेलामा दैनिक थोरैमा दुई/तीन लिटर पानी पिउनाले शरीरलाई चाहिने पानीको मात्रा पुग्ने डा झाको भनाइ छ । पूरै अनुहारको तुलनामा आँखा वरिपरिको छाला अझै पातलो र नरम हुन्छ । ह्यालोरोनिक एसिड वा काँक्रो एवं महबाट बनेको आँखाको जेल प्रयोग गर्नाले छालालाई चाहिने ओस पुग्छ । जसले गर्दा छालामा चाउरी पर्ने समस्या नहुने उनको भनाइ छ । चर्को घाममा काम नपरी घर बाहिर नहिँड्न, सनस्क्रीनको लगातार प्रयोग गरिराख्ने, अनुहार छोप्ने लुगा वा सनग्लासको प्रयोग गर्ने, चिसो पानीको स्नान गर्ने आदिले पनि छालालाई स्वस्थ, चम्किलो र ताजा बनाइराख्ने डा झाको भनाइ छ ।
वाइवाइ नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड प्रसारणको तयारीमा
काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण भइसकेका छन् । देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो षडज् राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा आफु सहभागी हुन नपाएको बताएका छन् । प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल राउण्डको चौथो तथा अन्तिम एपिसोड प्रसारण हुन बाँकी छ । तेस्रो राउण्डको प्रतिस्पर्धामा उत्रिनका लागि आवश्यक ४८ प्रतिस्पर्धीमध्ये १४ जनाको नाम सार्वजनिक हुन समेत बाँकी छ । हामीले त्यो थाहा पाउनका लागि भने हेर्नै पर्ने हुन्छ-यही शनिबार राती प्रसारण हुने वाइवाइ नेपाल स्टारको नयाँ एपिसोड । अडिशनका सबै एपिसोडको प्रसारण सकिएपछि दोस्रो राउण्डको सुरुवात गर्नु अगावै तयारी गर्दै यो रियालिटी शो प्रसारणमा आएसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण काठमाडौं अडिशनदेखिको प्रसारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो । पहिले तय गरिएको फम्र्याटबाट अलि बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउण्डलाई सुरु गरियो । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइयो । प्रतिस्पर्धीले गाएको गीतमा सङ्गीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा सङ्गीत बजाउँदै साथ दिने साङ्गीतिक समुहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ । अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ । कार्यक्रमका निर्णायकमा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री रहेका छन् । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ ।