यी पत्रकार जसले सीआईबीको नाममा व्यापारीलाई ठग्न खोजे

काठमाडां । सीआईबीको नाममा ठगी गर्न खोज्ने एक जना पत्रकार पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पक्राउ गरेको हो । धादिङ्गकाे निलकण्ठ नगरपालिका वडा नं १४ घर भई  हाल तारकेश्वर नपा. वडा नम्बर ११ नेपालटारमा डेरा लिई बस्ने र आफुलाई आलोचना साप्ताहिक पत्रिकाको सम्वाददाता भनी बताउने  ३६ वर्षका शंकर प्रसाद अधिकारीलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ३ बसुन्धराबाट पक्राउ गरिएकाे सीआईबीले बताएकाे हाे । अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सि.आई.बि. मा पत्राचार भएको छ । मुद्दा हेर्ने सिआईबीका ईन्सपेक्टरले  ५ लाख रुपैया दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईलाई प्रहरीले पक्राउ गर्छ भनी डर त्रास देखाई धम्क्यार्ई सिआईबीकाे नाममा रकम असूल गरी ठगी गर्न खोज्ने उनलाई पक्राउ गरेकाे सीआईबीले बताएकाे हाे । उनले अन्य व्यक्तिहरुलाई समेत विभिन्न बहानामा ठगी गरेको हुन सक्ने हुनाले सो सम्बन्धमा अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी बृत्त महाराजगंजमा पठाइएको बताइएकाे छ ।

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक

काठमाडाैं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’(इ-बुक संस्करण)मा सार्वजनिक भएको छ । बुढाथोकीको यो तेस्रो पुस्तक हो । यसअघि बुढाथोकीको आर्थिक उदारीकरणको २० वर्ष र समाकालीन नेपाली अर्थतन्त्र विषयक २ पुस्तक सार्वजनिक भइसकेका छन् । सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली प्रयोग गरेर नेपालको अर्थ-सामाजिक क्षेत्रमा कोरोना भाइरस महामारीले पारेको प्रभावहरूबारे अध्ययन सहायक सामग्रीका रूपमा यो पुस्तक तयार पारिएको हो । गत २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरबाट देखापरेको नव कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी अर्थतन्त्रमा निकै गहिरो प्रभाव पारेको छ । अन्तर्रराष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, ओइसीडी, सीपीआरलगायतका विश्व आर्थिक संस्थाहरूले यसले पार्ने असरका विषयमा आफ्ना प्रक्षेपण वा अनुमानहरूमा समेत समय-समयमा परिवर्तन गर्दै लगेका छन् । नेपाली अर्थतन्त्रमा कस्तो र कति गहिरो प्रभाव पर्छ भन्ने विषयमा अहिले नै यसै भन्न सकिने अवस्था छैन । फरक फरक आर्थिक संस्थाहरूले नेपालको अर्थतन्त्रमा पर्ने प्रभावबारे केही स्थितिपत्र, द्रूत अध्ययन मूल्यांकन र सर्वेहरू गरेका छन् । प्रायः ती अध्ययनहरू अंग्रेजी भाषामा तयार पारिएका र एकीकृत नहुँदा कोरोनाले अर्थ-सामाजिक क्षेत्रमा पार्ने प्रभावका विषयमा अहिले पनि एक किसिमको अन्योल नै छ । कोरोनाले पारेको असरका विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरूका प्रतिवेदनका आधारमा तयार पारिएका सामग्रीहरूबाट नेपालका कोरोना भाइरसले पारेको असरको प्रारम्भिक मूल्यांकनका लागि एकीकृत रूपमा पुस्तकाकार रुप दिइएको हो । यसले सबै अध्येतादेखि सर्वसाधारणका लागि समेत सन्दर्भ सामग्रीका रूपमा काम गर्ने र भविष्यमा कोरोनाका आर्थिक असरबारे अध्ययनपत्रहरू तयार गर्न सहयोगी हुने लेखकले विश्वास लिएका छन् । लेखक बुढाथोकी विगत २५ वर्षदेखि आर्थिक पत्रकारितामा संलग्न  रहेका छन् ।

काेराेना संक्रमित बढी देखिएपछि कलंकीमा अत्यावश्यक बाहेकका पसल बन्द

काठमाडौं  । काठमाडौंकाे कलंकीमा अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएका छन् । काठमाडाैं महानगरपालिका वडा नम्बर १४ मा कोरोना भाइरसका संक्रमित बढ्दै गएको भन्दै पसलहरू बन्द गरिएका हुन्। कोरोना संक्रमितहरू धेरै बढ्न थालेपछि स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हाे । अहिले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ। अन्य सबै पसल बन्द छन् ।