मध्यपुरथिमिमा भदौ ९ गतेसम्म लकडाउन, अत्यावश्यक पसल २ घण्टा मात्रै खोल्न पाइने

काठमाडाै‌ं । मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिएको छ । लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी राधेराधेदेखि पश्चिमतर्फ जडीबुटी मनोहरा पुलसम्म कुनै पनि सवारी साधनले मानिस चढाउन र ओराल्न समेत दिएको छैन । अरनिको राजमार्गमा कुनै पनि सवारीसाधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउन गरिएको जानकारी दिँदै प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रभित्रका सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरियामैत्री नगरपालिका अस्पतालसमेत सिल गरेपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा रोकिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल शनिबार सिल गरिएको थियो । आजबाट नै आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

मकवानपुरमा भदाै ९ गतेसम्मकाे लागि पुनः निषेधाज्ञा

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाैँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको भए पनि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पुनः निषेधाज्ञा जारी गर्न बाध्यता भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रजिअ दीपकराज नेपालले बताए । जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बैठकले निषेधाज्ञा जारी गरिएअनुसार बाहेक जिल्लामा दैनिक सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्वलगायत अन्य भिडभाड हुने कार्यक्रम नगर्नसमेत आदेश जारी गरिएको र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । उनका अनुसार, निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म सर्वसाधारणलाई आवश्यक खाद्यान्न, इन्धन, औषधिलगायत अतिआवश्यक वस्तु खरिद गर्न समय निर्धारण गरिएको र सर्वसाधारणले दैनिक प्रयोग गर्दै आएको सार्वजनिक यातायात, निजी यातायात, र मोरटसाइकललाई निषेधाज्ञा जारी भएअनुसार सञ्चालनमा कडा रोक लगाइएको बताए । सो बैठकले मकवानपुरको मनहरि गाउँपालिका क्षेत्र पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत हेटौँडा उपमहानगरपालिका क्षेत्रका १ देखि १९ वटै वडासम्ममा सोही मितिसम्म निषेधाज्ञा जारी गरिएको आदेशलाई उल्लङ्घन गरेको पाएमा कानूनी कारवाही अघि बढाइने भएको प्रजिअ नेपालले जानकारी दिए । बैठकले मकवानपुर जिल्लाभर धार्मिक, सांस्कृतिक, विवाह, सभा–समारोह, जन्मोत्सव पर्वलाई निषेध गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दमकका सबै अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द

दमक । दमकमा कोरोना सङ्क्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना सङ्क्रमित जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गर्ने निर्णयमा पुगेका छन् । ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । जिल्लाको मेचीनगरमा एक चिकित्सकमा केहि दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना सङ्क्रमित व्यक्ति उपचारमा आएको पत्तो पाएपछि उक्त हस्पिटलमा आवतजावतमा रोक लगाइएको छ । त्यसपछि दमकका एक जना सब्जी व्यापारी दमकस्थित एक अस्पतालमा उपचारका लागि गएको खुलेपछि अस्पताल पनि सिल हुने सम्भावना रहेको छ ।