कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा
पाेखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । उहाँका अनुसार आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् । हिन्दू महिलाको महान् पर्व तीज र कुशे औंसी जस्ता चाडमा मानिसको भीडभाड हुने र सङ्क्रमण अझ फैलने सक्ने अवस्थालाई ध्यान दिएर निषेधाज्ञा लागु गरिएको जनाइएको छ ।
बागलुङ बजार भदाै ७ गतेसम्म बन्द
बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष युवराज राजभण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा “अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरु बन्द गरिदिनुहुन अनुरोध छ”, उल्लेख छ । अत्यावश्यक वस्तु किनमेल पनि बिहान ७ः३० देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्र गर्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको छ । सङ्घले पसल, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन व्यवसायीमा आग्रह गरेको छ । बागलुङ नगरपालिका–१, २, ३ र ४ वडाले पनि वडाबाट प्रदान गरिने सेवा एक सातालाई बन्द गरिएको जनाएका छन् । अत्यावश्यकबाहेकका अन्य पसल, व्यवसाय र सेवा बन्द गरी सहयोग गरिदिन वडाले सबैमा आग्रह गरेका छन् । सङ्घ र वडाको निर्णयअनुसार आज बिहानैदेखि अत्यावश्यकबाहेकका पसल, व्यवसाय बन्द छन् । “बजारमा भीडभाड बढेकाले कोराना फैलने डर भयो, त्यसैले कडाइ गर्ने निर्णय भएको हो”, वडा नं २ का अध्यक्ष जीवन आचार्यले भन्नुभयो । समुदायका व्यक्तिमा कोरोना देखिन थालेपछि जिल्लामा कडाइ गर्न थालिएको हो । केही दिनअघि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यवसायीलगायतमा कोरोना पुष्टि भएको थियो । यसअघि जिल्ला सङ्कट व्यवस्थापन र सुरक्षा समितिले आइतबारदेखि लागू हुने गरी सवारी साधनलाई जोर÷बिजोर प्रणालीका आधारमा चलाउने निर्णय गरेको थियो । यस्तै खुला स्थानमा भीडभाड गर्ने, भेला हुने र जुलुस आदिजस्ता कार्यलाई रोक लगाइएको छ । नित्य पूजापाठबाहेक मन्दिरमा हुने धार्मिक कार्य बन्द गर्ने, मेला, जात्रा, सार्वजनिक कार्यक्रम, गोष्ठी, सेमिनार, भेला आयोजना गर्न नपाइने निर्णय गरिएको छ । होटल, रेष्टुराँलाई पनि प्याकिङ गरी खाना लैजाने (टेकअवे) सेवा मात्र प्रदान गर्न अनुरोध गरिएको छ । वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि भदौ ७ गतेसम्मलाई सिल गरिएको छ ।
चितवनका सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण
चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए । नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ । दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो । राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताए । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिए । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।