अब होटल र रेष्टुराँमा बसेर खानेलाई सरकारले कारवाही गर्ने

काठमाडौं । सरकारले अबदेखि होटल तथा रेष्टुराँमा बसेर खानलाई रोक लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । उनले अब होटल तथा रेष्टुराँमा बसेर खान नपाइने र टेक अवे सेवा मात्र संचालन हुने बताएका हुन् । सरकारको नियमलाई पालना नगर्नेलाई नियम अनुसार कारवाही गर्ने उनले बताए ।

२ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन नपाइने

काठमाडौं । सरकारले २ सयभन्दा बढी संक्रमित भएको जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाएको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा.युवराज खतिवडाले मंगलबार सरकारले  गरेका निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । उनले २ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट अत्यावश्यक काम बाहेकले आवतजावत गर्न नपाउने बताएका हुन् । उनले कोरोनाको संक्रमण बढ्दै गएकाेले त्यसकाे राेकथामका लागि यस्ताे कदम चालेकाे बताए ।  अत्यावश्यक काम भएपनि त्यहाँको स्थानीय तह अर्थात जिल्लाबाट स्वीकृती लिएर मात्र काठमाडौंमा प्रवेश गर्न पाउने उनकाे भनाई छ  ।

अब यी १० नाकाबाट मात्रै नेपाल आउन पाइने

काठमाडौं । नेपाल सरकारले अब विभिन्न १० नाकाबाट मात्र नेपाल आउन पाइने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले देशका विभिन्न १० नाकाबाट मात्रै नेपाल आउन पाइने भएको बताए । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने बताए । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए ।