कुशलको शतकको साहयताले नेपालले फिलिपिन्सलाई दियो २१९ रनको विशाल लक्ष्य
काठमाडाैं । कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको छ । ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।
चाउचाउ उत्पादन गर्ने उद्योगमा आगलागी, एक अर्ब बढीको क्षति
झापा । झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो । चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ । उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको बताइएकाे छ ।
म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी !
हो ! ठिक सुन्नुभयो । बिल्कुलै ठिक । म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी हुँ । मेरो समाजमा ‘ए प्लस’, ‘बि प्लस, ‘सि प्लस’, ‘डि प्लस’का ठूल्ठूला लक्ष्मण रेखा छन् । मलाई यो समाज, परिवार र विद्यालयदेखि डर लाग्छ । यदि मेरो ग्रेड ‘ए प्लस’ भन्दा कम आयो भने, मलाई मेरो छिमेकी, साथीहरूले कस्तो यार केही जान्दैन यो त भन्नुहुन्छ । मलाई मेरो परिवारले भन्नुहुन्छ, ‘हामीले यत्रो सुविधा देको छौं तँलाई । ट्युसन हाल्देको छौं, कोचिङ क्लास छ पुगेन भने अलि लामो समय पढ् ट्युसन म पैसा तिरिदिन्छु तर हाम्रो परिवारको नाक चाहिँ राख्नुपर्छ ।’ मेरो परिवारले पनि मलाई एकदमै सत्य कुरा भन्नुभएको छ । जब मेरो ‘ए प्लस’ ग्रेड आउँछ मेरो समाजले पनि यसको छोरो त पढाइमा हिरो छ भनेर बुवालाई भनिदिन्छन् तर मैले अहिलेसम्म पनि बुझेको छैन खास त्यो ‘हिरो’ कस्तो हो भनेर ! मेरो तपाईंहरू सबै जनालाई प्रश्न छ- हाम्रो समाजले बनाइदिएका ‘ए प्लस हिरोहरू’ले के भोलि हाम्रो समाजकै तिनै मान्छेका समस्या समाधान गर्न सक्लान् त ? हाम्रो समाज, वातावरण, हावापानी, अर्थ व्यवस्थालाई चाहिने जसले मेरो ओखलढुंगामा बस्नुभएकी हजुरआमाको घाउमा मलम लगाउन सकोस् ! जुम्लाको स्याउ, फर्पिङको नासपाती र भोजपुरको खुकुरीको शक्ति चिनेर विश्व बजारमा स्थापित गर्न सक्ला त ! मेरो दाइ नेपालमा काम नपाएर घरकी सानी छोरी पढाउन नसकेर मुटु निचोर्दै विदेशिएको कुरा बुझ्ला त ! यो सबै प्रश्न तपाईंहरूलाई नै छोड्दै छु । मैले समाज र परिवारको कुरा त गरें । अब पालो आयो विद्यालयको मेरो समाजमा दुई प्रकारका विद्यालय छन्, सरकारी र प्राइभेट। हाम्रो शिक्षा अहिले या त प्राइभेटको कुरा गर्दा व्यापारीकरणको पासोमा छ वा सरकारी यथास्थितिवादको पासोमा। अब भन्नुस् कुन राम्रो हो ? खै म चाहिँ कुनलाई राम्रो भन्नु आफैं दुविधामा छु त्यसैले त यो लेख्दै छु । अहिले यो कुरा छोडौं । अब जाऊँ मेरो ग्रेडको विषयमा ! जब मेरो ‘ए प्लस’ ग्रेड आउँछ विद्यालयमा सबैले वाह ! वाह ! गर्नुहुन्छ। पत्रिकामा छापिन्छ, फोटो टासिन्छ कलेजको भित्तामा । ‘कति ट्यालेन्ट छौ तिमी’ भन्नुहुन्छ। के रियल ट्यालेन्ट भनेकै एक्जाममा राम्रो ग्रेड ल्याउनु हो तर मलाई एउटा कुराको एकदमै डर लाग्छ। के कुरा थाहा छ ? के अबको १० वर्षपछि म त्यही भित्ताको फोटो हेर्न जाँदा कतै त्यो फोटोले मलाई देखेर खित्का छोडी छोडी हाँस्ने त हैन ? हाँस्ने यो अर्थमा कि पढाइको ‘हिरो’को अर्थ र परिभाषा बुझाउन । आज म जस्ता धेरै आवाजविहीन भएर बसेका छन् किनकि हाम्रो यो कुरा कसले सुनिदिन्छ ? कोही छैन ! ‘तँ तेरो जिन्दगीमा के चाहन्छस्’ भनेर कसैले मात्र एकपटक सोधिदिएको भए त हुन्थ्यो नि तर कोही छैन सोध्ने, कोही छैन । म त यसरी कसैले सोधेको भए मज्जाले उसको काखमा डाँको छोडेर रोइदिन्थें । अब मलाई भन्नुहोस् के म जस्ता धेरै हामीहरूलाई यो कुराको समाधान रूनु मात्र हो त ? (सामाजिक सञ्जालबाट)