डिशहोमले ‘रगतका कथाहरु’ शिर्षकमा सिरिज बनाउने

काठमाडौं । डिशहोमले रगतका कथाहरु’ शिर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । आफ्ना ग्राहकहरुको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले नयाँ सिरिज निर्माण गर्ने भएको हो । यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरु हुनेछन् र प्रत्येक श्रृंखलामा फरक फरक कथावस्तु समेटिने छन् । डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखकरनिर्देशक किरण विकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राज कुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् । साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतम रहनेछन् ।

डीएभी स्कुलमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडौं । डीएभी शुशील केडिया विश्व भारती विद्यालयमा स्व. लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा प्रतिष्ठित व्यक्तित्व र विद्यालयका विद्यार्थी र अभिभावकको उपस्थितिबीच मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लता मङ्गेश्करको वृत्तचित्र प्रर्दशन गरिएको थियो । कार्यक्रममा गायिका मनिला सोताङ्ग र बबिता मानन्धरको उपस्थिती रहेको थियो । दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । सोही अवसरमा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए । यस्तै प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रर्दशन गरेक थिए । त्यसैगरी संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङग्रेजी शिक्षिका शशिल्ता राइले लता मङ्गेश्करले गाएको युगल गीत प्रस्तुत गरेका थिए । विद्यालयले स्व. गायिका लत मङ्गेश्करको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

महोत्तरी । महोत्तरी  जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ थियो । मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ । रासस