आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई थुनामा पठाउन आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको छ । आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहस पछि बस्नेतलाई थुनामा पठाउन आदेश दिएको हो । मुद्दा दर्ता भएको १० महिनापछि बस्नेत बयानका लागि आफै अदालतमा उपस्थित भएका थिए । बस्नेतले आफ्नो तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ लागयतका कानून व्यवसायीहरुलाई लगाएका थिए । विशेष अदालतका प्रवक्ता तथा उपरजिष्ट्रार पुष्पराज पाण्डेले न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्नेतलाई थुनामा पठाउने आदेश दिएको बताए । तत्काल प्राप्त प्रमाणबाट बस्नेत आरोपित पुष्टि हुने देखिएकोले थुनामा पठाउने आदेश भएको प्रवक्ता पाण्डेले बताए । तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेको बेला ललिता निवासको जग्गा हिनामिना गर्न सहयोग गरेको भन्दै अख्तियारले पूर्व प्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाडौंमा गत वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले उनी सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो । बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी समेत गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्री समेत रहेका छन् ।

फुटबल टिमको बन्द प्रशिक्षण शुरु, ५८ जना खेलाडी सहभागि

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज (आइतबार) देखि शुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजदेखि प्रशिक्षण शुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि गराएको छ । फुटबल टिमका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाकाको तयारी स्वरुप बन्द प्रशिक्षण शुरु गरिएको बताए । पूर्व कप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागि हुन पाउँदा खुशी लागेको बताए । विश्वकप छनौटका लागि प्रयाप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गरे । एसियन छनोट अन्तर्गत समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अंक सहित शिर्ष स्थानमा रहेको छ भने कुवेत र जोर्डन १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन भने नेपाल तीन अंक सहित चौथो स्थानमा रहेको छ । कोभिड संक्रमणको जोखिमका कारण खेलाडिहरु गत चैत महिना यता कुनैपनि प्रशिक्षणमा सहभागि हुन पाएका थिएनन् । तर गत शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणमा सहभागि हुनु भन्दा पहिला सबै खेलाडिको पीसीआर परीक्षण गरिएको थियो ।

धादिङबाट ५० केजी चरेशसहित युुवक पक्राउ

काठमाडौं । धादिङबाट ५० केजी चरेशसहित एक जना युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको खटिएको टोलीले लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट गएराति चरेससहित धादिङको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो । बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरले तीनवटा झोलामा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको बताइएको छ । उनलाई राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ ।