खेलकुदले कोरोना परास्त गर्छ- उपाध्यक्ष कोइराला
काठमाडौं । कोभिडका कारण रोकिएको खेलकुद गतिविधि छिट फुट बाहेक अझै चल्न सकेको छैन । खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् । खेलाडी देखी खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहे छन् । छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चलान हुन थालेका छन् । फुटबल देखी क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् । भर्चुअल रुपमा केही प्रतियोगिता सुरु भएपनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन । खेलकुद गतिविधिलाई निर्वाद रुपमा सुचारु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेट लगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए । खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिक रुपमा तयार हुन पर्ने बताए । खेलकुद गतिविधि स्वास्थको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नु पर्ने तर्क राखे । सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका करातेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए । अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुचारु भइसेका छन् । तर घरेलु प्रतियोगिता सुचारु गर्नेमा भने अझै अन्योल देखिएको छ ।
कथा सुनाएर रात काट्ने पर्व पुसे पन्ध्र
डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चिम प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ । आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा कतिपय बस्तीमा छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एंव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ । दन्त्ये कथा जान्नेहरु नजिक गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन् । दन्त्यकथा भन्नेले परम्परागत शैलीमै सुनाउँदै बीचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । श्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् । कथा भन्ने यति सिपालु हुन्छन की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन । राक्षस, भुत, प्रेत, देवता, प्रेम, राजासंग सम्बन्धित दन्ते कथाहरु बढी प्रचलित छन् । जुन कथा बढी प्रचलित छ । त्यहि कथा सुनाउनका लागि बढी माग हुने गर्दछ । दन्त्य कथासँगै गाउँ खाने कथा समेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचिनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिकता भने हराउँदै जान थालेको छ । “पहिलाको जस्तो गाउँका सबै जना दन्त्य कथा भन्ने व्यक्तिको घर आङ्गनमा जम्मा भै आगो बालेर कथा सुन्ने गर्दथे । तर हाल रात काटने र कथा सुन्ने चलन हराउदै जान थालेको छ”, सुदूरपश्चिम संस्कृतिका जानकार तेज शाहले भने, “टेलिभिजन र इन्टरनेटको बढ्दो प्रभावका कारण पुराना मौलिक परम्परा हराउँदै जान थालेका छन् ।” “पुसे पन्ध्रको रात काटनका लागि एक ठाउँमा जम्मा हुनेहरु बीच गाउँको विकास, सामाजिक, धार्मिक र सांस्कृतिक कार्यका बारेमा सरसल्लाह हुन्थ्यो”, उनले भने, “एक आपसमा बैमनस्यता, रिस, राग भएपनि सबै भुलाएर सबै जना एक ठाउँमा जम्मा हुन्थे । जसमा सामाजिक सद्भाव देखिन्थ्यो ।” यसरी पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झण्डै २० फिट लामो) दाउराको मुढोको आगो ताप्नुपर्ने र एकआपसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ । पर्वको तयारीस्वरुप आज बिहानैदेखि हरेक घरका गृहणीहरुले आ-आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्य रुपमा स्वागतसत्कार गर्ने गरिन्छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको स्थानीयवासी लोकराज भट्टले बताए । सुदूरपश्चिममा मुख्य हिँउदेबालीका रुपमा लगाइने गहुँ छरेर फुर्सदिला बनेका बासिन्दा रातभर एक ठाउँमा जम्मा भएर रात अनिदोभै काट्ने गर्दछन् । रात काट्नका लागि दन्ते कथा र गाउँ खाने कथा सुनाएर रात काटने गरिन्छ । दन्ते कथा जान्नेहरु नजिकै गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन् । दन्ते कथा भन्नेले परम्परागत शैलीमै कथा सुनाउँदै बिचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । स्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् । कथा भन्ने यति सिपालु हुन्छन्की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन् । कथा भट्याउने व्यक्ति सिपालु छ भने एउटै कथाले रात काटिएको पत्तोनै हुदैन । राक्षस, भूत, प्रेत, देवता, प्रेम, राजासँग सम्बन्धित दन्ते कथा बढी प्रचलित छन् । जुन कथा बढी प्रचलित छ । त्यही कथा सुनाउनका लागि बढी माग हुने गर्दछ । दन्ते कथासँगै गाउँ खाने कथासमेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । गाउँ खाने कथा भन्नेले निकै चलाखीपूर्वक प्रश्न सोध्ने गर्दछन् । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिता भने हराउँदै जान थालेको छ । दन्ते कथा र गाउँ खाने कथा भन्ने चलन हराउँदै जान थालेको छ । कथा जान्ने व्यक्तिको अभाव र युवा पुस्ताले मनोरञ्जनका अन्य साधनप्रतिको आशक्तिले पुरानो चलन विर्षदै जान थालेका हुन् । “पहिलाको जस्तो गाउँका सबै जना दन्ते कथा भन्ने व्यक्तिको घर आँगनमा जम्मा भई आगो बालेर कथा सुन्ने गर्दथे । “हाल रात काट्ने र कथा सुन्ने चलन हराउँदै जान थालेको छ”, सुदूरपश्चिमको संस्कृतिका जानकार तेज शाहले भने, “टेलिभिजन र इन्टरनेटको बढ्दो प्रभावका कारण पुराना मौलिक परम्परा हराउँदै जान थालेका छन् ।” “पुसे पन्ध्रको रात काट्नका लागि एक ठाउँमा जम्मा हुने बीच गाउँको विकास, सामाजिक, धार्मिक कार्य, सांस्कृतिकका बारेमा सरसल्लाह हुन्थ्यो” उनले भने, “एक आपसमा वैमनश्यता, रिस, राग भए पनि सबै भुलाएर सबै एक ठाउँमा जम्मा हुन्थे जसमा सामाजिक सद्भाव देखिन्थ्यो ।” “गाउँका सबै जना जम्मा हुने भएकाले सुख दुःखका कुरा सुन्ने र सुनाउने कार्य हुन्थ्यो । पिँडा बिसाउने चौतारीका रुपमा पुसे पन्ध्रलाई विगतमा लिने गरिन्थ्यो । त्यो पुरानो चलन ठिक थियो । त्यसलाई जोगाउनका लागि चेतनाको दियो बाल्नुपर्ने बेला आएको छ । यसका लागि नयाँ पिँढीलाई तयार गर्नमा लाग्नु आवश्यक छ”, लालबहादुर ऐरले भने । एकको घरमा पाकेको मिठामसिनो अर्कोलाई खुवाउने चलनसमेत यस पर्वमा रहेको छ । रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन रहेको उनले बताए । यो पर्व हाल औपचारिकतामा मात्रै सीमित भएको छ । आज हतियार नचाउने परम्परा पनि छ । घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ । तिहारमा देउसी भैली खेलेर जम्मा भएका रकम खर्चेर वनभोज खाने यस अवसरमा गरिन्छ । विवाहिता दिदीबहिनीलाई यस अवसरमा घरमा बोलाएर विभिन्न पकवान पकाइ खुवाउने गरिन्छ । पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै कञ्चनपुरसहित बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतको कुमाउ गढवाल क्षेत्रमासमेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीत गाएर पुसे पन्ध्र मनाउने गरिन्छ । यस बेलादेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुने गर्दछन् । रासस
यसकारण मनाउँछन् नेवार समुदायले यःमरी पुन्ही
काठमाडाैं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् । नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन (जस्तो दुई वर्ष, चार वर्षको जन्मदिन) को अवसरमा नभई नहुने पकवान भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए । “नेवार समुदायमा नयाँ घर निर्माण गरी धुरी पूजा गर्दा, दुई वर्ष, चार वर्ष, छ वर्ष र १२ वर्षको जोडा जन्मदिन मनाउँदा जोडा यःमरी चढाउने, भीमारथारोहण, तान्त्रिक पूजा विधि र चह्रे पूजा, सांस्कृतिक गुठी भोजमा यःमरी राखेर भोज खाने प्रचलन छ ।” यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ । त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन रहेको धौभडेलले बताए । उनले भने, “यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाउँदा अन्न वृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ ।” यसरी चढाएको यःमरी चार दिनपछि विवाहिता जेठी छोरी बोलाएर उसको हातबाट प्रसाद खाइसकेपछि यःमरी पुन्ही सकिन्छ । यःमरी पुन्हीको दिन नेवार समुदायले आफ्ना गाउँ, टोलछिमेकमा यःमरी भाका गाउँदै यःमरी माग्ने चलन छ । तिहारमा देउसीभैलो खेलेजस्तै यस दिन नेवार समुदाय टोलछिमेकमा यमरी भाका गाउँदै यःमरीसँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलन गर्ने प्रचलन रहेको छ । त्यः सिं त्यः बकसिं त्यः थाबले यागु यःमरी छग ति यः व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई तालापाता कुलिचां जुसें त्यः यःमरी माकु, उकि दुने चाकु व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा कुरी कुरी… दुई माना देऊ, चार माना देऊ, यस वर्षको यःमरी एउटा देऊ, दिएमा तरुनी नदिएमा सितीकुती, दुईवटा दिए छोरा, एउटा दिए छोरी जन्मिन्छ, जसरी दिएनी चुली पारेर देऊ, यःमरी मिठो त्यसभित्र चाकु, दिए तरुनी, नदिए बूढी, कुरी कुरी…। यःमरी पूर्णिमाको साँझ नेवार समुदायको घरआँगनमा गुन्जिने यो मिठासपूर्ण लोकभाका भने अचेल भक्तपुरमा गुन्जिन छाडेको छ । मौलिक लोकसंस्कृतिलाई आधुनिकताले छोपेसँगै यःमरी माग्ने चलन विस्तारै लोप हुन थालेपछि उल्लेखित लोकभाका नेवार समुदायमा गुन्जिन छाडेको हो । यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् धौभडेलका अनुसार लिच्छवीकालीन समयदेखि नै यःमरी माग्ने प्रचलन चल्दै आएको हो । उनले अंशुबर्माको पालादेखि नै यो चलन चलेको वंशावलीमा उल्लेख भएको पाइएको जानकारी दिए । आधुनिकतासँगै स्थानीय कला, संस्कृति लोप हुने क्रममा यःमरी माग्ने प्रचलन पनि लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ । यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र संस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको धौभडेलले बताए । उनले यःमरी माग्ने संस्कृतिले नेवारी साहित्यको विकास र विस्तारमा समेत टेवा दिएको बताए । यो प्रचलनले नेवार समुदायमा विभिन्न खाले गीत, सङ्गीत, साहित्यिक लेखनसमेत विकास भएको पाइन्छ । यःमरी खाद्य वस्तु मात्र नभई साहित्यसँग समेत जोडिएकाले यःमरी माग्ने प्रचलनले पुष्टि गर्ने संस्कृतिकर्मी धौभडेलले बताए । उनले भने, “त्यछीं त्यः बकछीं त्यः, लातापाता कुलिचा जुछे त्यः, यमरी छगः तिय् भनी गीत गाउँदैं यःमरी माग्ने जुन नेवार समुदायमा छ, यसले नेवार समुदायको साहित्यिक धरातललाई समेत पुष्टि गर्दछ ।” संस्कृतिकर्मी धौभडेलले यःमरी खाने प्रचलनलाई अन्य समुदायमा समेत विस्तार गर्नसके यसले धार्मिक र सांस्कृतिक पर्यटनको समेत विकासमा टेवा पुग्ने बताए । उनले भने, “यःमरी खाने प्रचलनलाई अरुले पनि अपनाउँदै जान सक्यो भने नेपालको धार्मिक सांस्कृतिक पर्यटनको विकासमा टेवा पुग्न सक्छ ।” यःमरी पूर्णिमाका बारेमा ऐतिहासिक कथनअनुसार तत्कालीन पाञ्चाल देशमा भगवान् विष्णुका परमभक्त, दानी र धर्मात्मा सुचन्द्र दम्पती बस्दथे । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुबेर गरिब ब्राम्ह्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राम्ह्णरूपी कुबेरलाई श्रद्धापूर्वक आफूले तयार पारेको यःमरी खुवाइन् । उनको सत्कारदेखि प्रसन्न भई कुबेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोही अनुरूप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रूपमा बाँडेर खाएकाले उनीहरुको धन सम्पत्ति अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको जनश्रुति रहेको पाइन्छ ।