क्रिस्टियानो रोनाल्डोलाई पुत्रशोक

कामठमाडौं । पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नवजात शिशुको निधन भएको छ । उनका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको भने एक जना सकुशल छन् । रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया उनकी पत्नी गर्जिना रोड्रिगेजले लेखेका छन्, ‘हाम्रो छोरा, तिमी देवदूत हौ । हामी सधैँ माया गरिरहने छौं ।’ रोनाल्डो आवद्ध फुटबल क्लब म्यान्चेस्टर युनाइटेडसहित विभिन्न फुटबल क्लबहरूले उनीहरूप्रति समवेदना प्रकट गरेका छन् । रोनाल्डो र रोड्रिगेजसँग यसअघि नै तीन सन्तान छन् ।

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

बागलुङ । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालन गरिरहेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आएका खत्रीले विसं २०७२ बाट मौरीपालन गर्न थालेका हुन् । सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई गएका खत्री दुई वर्षमै नेपाल आए । पुनः मलेसिया गएका खत्री सन् २००९ मा मलेसियाबाट फर्के । मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला र पछि मौरीपालनमा आकर्षित भएको बताउँछन् । उनको १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन् । उनले यस वर्षमात्रै ६ लाख सुन्तला बेचेरै आम्दानी गरे । सुन्तलामा मनग्य आम्दानी देखेका उनले घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले २०० सुन्तलाका नयाँ बिरुवा लगाएका छन् । खत्रीको घर बागलुङ नगरपालिका–४ रमेटारमा समेत छ । रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उनको ध्यान छ । स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका खत्रीले दुई वर्षदेखि मौरीपालनको क्षेत्र बागलुङलाई रोजे । उनले मौरीको महभन्दा मौरीसँगैको घार बिक्रीबाट मनग्य आम्दानी गर्दैछन् । खत्रीले गत वर्षमात्रै ११० मौरीसहितको घार बिक्री गरेर १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट एक लाख १३ हजार आम्दानी गरेको बताए । ‘हाम्रो आम्दानी वार्षिक हुन्छ, यही वर्ष सुन्तला, मौरीको घार र मह बिक्री गरेर १७ लाखभन्दा बढी आम्दानी गरेको रहेछु’, खत्रीले भने, ‘मेरो लगानी २० लाख पुग्यो, २०० सुन्तलाका बिरुवाले उत्पादन दिनै बाँकी छ, नयाँ सोचका साथ कृषिमा आएको थिएँ, राम्रो आम्दानी भएको छ, म्याग्दीमा सुन्तलाका लागि राम्रो मानियो भने बागलुङको रमेटारमा मौरीपालन ।’ खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट लैजाने गरेको बताए । ‘महभन्दा मौरीसहितको घार बिक्रीमा फाइदा छ, मौरीसहितका घारलाई नौ हजार ५०० पर्छ, खाली घारलाई तीन हजार ५०० पर्छ । मह केजीको एक हजार ३०० पर्छ’, खत्रीले भने, ‘मैले आफैं घार निर्माण गरेर मौरी व्यवस्थापन गर्दै आएको छु, मौरीसहितका घार र सुन्तला बिक्री नै मेरो मुख्य लक्ष्य हो ।’ सुन्तलाको फूल र तोरीको फूलका कारण मौरीपालन राम्रो हुँदै आएको छ । रमेटारमा भने उनले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आएका छन् । घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरनका लागि यताउता लैजान मिल्ने उनको भनाइ छ ।

पृथ्वीबहादुर शाहको बैंक खाता फुकुवा गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको ४० करोडौं रकम अवैध भन्दै राष्ट्र बैंकले उनको खाता रोक्का गरी छानबिन गरिरहेको छ । छानबिनका लागि रोक्का गरिएको बैंक खाता सञ्चालनका लागि उनले सर्वोच्चमा दिएको निवेदनमा अदालतले खाता फुकुवा गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको रकम फुकुवाका लागि शाहले दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्टको नाममा रहेको चार करोड ८० लाख रुपैयाँ फुकुवा गर्न शाहले गत साउन १२ गते निवेदन दिएका थिए । उनले विभिन्न व्यक्ति र कम्पनीको नाममा रकम नेपाल भित्र्याएको राष्ट्र बैंकले जनाएको छ ।  समाचार जम्मा भित्रिएको अवैध रकम ४० करोड भनिए पनि शाहले भने यसअघि पत्रकार सम्मेलन गरी १४ करोडमात्र बताइसेका छन्  । गतवर्षको असार र साउनमा गरी विभिन्न ६ वटा रिट निवेदनमार्फत शाहले सर्वोच्च अदालतमा राष्ट्र बैंकको निर्णयलाई चुनौती दिएकोमा गत वर्षकै साउन २४ मा सर्वोच्च अदालतले पाँच निवेदनमाथि अन्तरिम आदेश नदिने निर्णय गरेको थियो । बाँकी एउटामाथि सोमबार सुनुवाइ भएको सर्वोच्चले जनाएको छ । उक्त अवैध रकमको विषयमा अर्थमन्त्रीदेखि राष्ट्र बैंकका सञ्चालकसम्म विवादमा मुछिएका छन् भने राष्ट्र बैंक, प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण विभागले यसबार अनुसन्धान गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आफूकहाँ राष्ट्र बैंकका सञ्चालकले बार्गेनिङ गरेको सूचना आएको दाबी गरेका थिए भने यसअघि उक्त रकम फुकुवा गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीले दबाब दिएको समाचार बाहिरिएको थियो ।