राजधानीमा ६५ रुपैयाँमै खाना, पैसा नहुनेलाई नि:शुल्क

काठमाडौं । कहिलेकाहीं संकटहरूले पनि अवसर सिर्जना गर्ने रहेछन् । त्यसैले त भनिएको होला समस्यालाई अवसरमा परिणत गर्न सकिन्छ भनेर । कोरोना महामारीपछि यस्ता थुप्रै दृश्यहरू देखा परे । संकट र समस्याबीच मानिसहरूले थुप्रै नयाँ–नयाँ सोच जन्माए । कोरोनाकालपछि व्यापार र सेवा भावका थुपै्र कामहरू सुरुवात भए । ‘हाम्रो खाना घर’ले माघ १७ बाट सञ्चालन गर्न लागेको ६५ रुपैयाँमै खाना त्यसैको गतिलो उदाहरण हो । राजधानीमा यति सस्तो दरमा खाना खुवाउने सम्भबत: यो पहिलो रेस्टुराँ हुन सक्छ । व्यापारभन्दा सेवा भावले बढी प्रेरित देखिन्छ अनामनगरस्थित हाम्रो खाना घर । यो यस्तो रेस्टुराँ हो, जसले सबैलाई ६५ रुपैयाँमै भेज खाना खुवाउनेछ । कम आय भएका, विद्यार्थी, मजदुर, सर्वसाधारण, अस्पतालमा बिरामी कुरुवा, व्यस्त दिनचर्या भएर खाना पकाउन नभ्याउँनेलाई लक्षित गर्दै हाम्रो खाना घरले यस्तो सुविधा प्रदान गर्न लागेको हो । अनामनगरको बिगमार्ट नेरै छ, हाम्रो खाना घर । यो रेस्टुराँले भेज आइटम सर्भ गर्नेछ । जहाँ एकै पटक ८३ जना व्यक्ति बस्न सकिने क्षमता छ । रेस्टुराँका अनुसार अस्पतालमा रहेका बिरामी र कुरूवालाई भने डेलिभरी गरिने छ । पैसा नहुने, अभाव र समस्यामा परेका व्यक्तिहरुलाई नि:शुल्क खाना खुवाईनेछ । ६५ रुपैयाँमा खाना उपलब्ध गराउने सोच कसरी सुरु गर्‍यो ? त्यसको पृष्ठभुमि हाम्रो टिम नेपालसँग जोडिन्छ । कोभिड–१९ को महामारीपछि धेरैको बिचल्ली भयो । लकडाउनमा कैयौंले रोजगारी गुमाए । कतिलाई दैनिकी चलाउनै धौधौ भयो । कामको खोजीमा निस्किएकाहरू शहर छाडेर गाउ नै फर्किए । आम नागरिकलाई छाक टार्नै समस्या भयो । तिनै भोका पेटहरूलाई ‘हाम्रो टिम नेपाल’ले चैत १४ देखि सेवा दिन थाल्यो । ५ वर्षदेखि काम गरिरहे पनि गत असारदेखि संस्था दर्ता गरेरै काम अगाडी बढाइएको छ । मनकारी व्यक्तिहरु जोडिएको ‘हाम्रो टिम नेपाल’ सक्रिय त पहिल्यै थियो । लकडाउनपछि झन् सक्रिय बन्यो । राजधानीका खुलामञ्च, महालक्ष्मीथान, तिलगंगा लगायतका क्षेत्रमा स्वयंसेवकहरुले खाना बाँड्न थाले । पुलमुनी बस्नेदेखि, मठ मन्दिर र अस्पतालबाहिर रात कटाउनेहरुलाई पनि ‘हाम्रो टिम नेपाल’ ले सहयोग गर्‍यो । लकडाउनमा खाना, खाद्यान्न बाँडेको यो संस्थाले २५ जिल्लामा सिरक, डसना, लगायतका सामग्रीहरु वितरण गर्‍यो । लकडाउनकै बेला फरक क्षमता भएका, दृष्टिविहिनलाई घरमै रासन पुर्‍याउनेदेखि समस्यामा परेका व्यक्तिहरुको कोठा भाडा पनि तिरिदियो । राजधानीमा अलपत्र परेका कतिपय नागरिकलाई ‘हाम्रो टिम नेपाल’ले घर जाने टिकट काटेर उद्धार गरिदियो । त्यो बेला झण्डै एक सयलाई खाना खर्च दिएर टिकट काटिदिएको ‘हाम्रो टिम नेपाल’ का सदस्य उमेश बोहरा बताउँछन् । २०७६, चैत १४ देखि सुरु भएको खाना वितरण अभियान अहिले पनि जारी छ । सेवाको त्यही काम गर्दागर्दै हाम्रो टिम नेपालले नयाँ सोच जन्मायो, ६५ रुपैयाँमा खाना खुवाउने । महिनाभरीका लागि ३ हजार ९ सय रुपैयाँ मात्र तिरे पुग्ने । बिभिन्न पेशा, व्यवसायमा सक्रिय व्यक्तिहरु मिलेर जन्मिएको हाम्रो टिम नेपाल सामाजिक सेवामा सक्रिय छ । यसमा ९ जनाको कार्य समिति छ भने ११ सय सदस्य आवद्ध छन् । सुदुरपश्चिमदेखि पूर्वसम्मका सबै व्यक्तिहरु यसमा जोडिएका छन् । राज्यको आँखा नपुगेका क्षेत्र, अभाब र समस्यामा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले धेरैलाई एकै ठाउा भेला गरायो । विदेशबाट फर्किएका नेपालीहरुको यसमा ठूलो समुह छ । आफ्नो व्यवसायबाट बचेको समय उनीहरु समाजसेवा लगाइरहेका छन् । संस्थाको नारा नै छ, भोकमुक्त, नांगोमुक्त, भेदभावमुक्त राष्ट निमार्ण, राज्यका हरेक सेवा, सुविधा हरेक नागरिकलाई समान अधिकार । सस्तोमा खाना खुवाउने अभियानको श्रेय खासगरी हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तलाई जान्छ । सहकर्मी साथीहरुसँग छलफल गरेपछि उनले यो कामलाई अगाडी बढाएका हुन् । लकडाउन नलम्बिएको भए अझै यो काम पहिले नै सञ्चालन गर्ने तयारी थालेको पन्त बताउँछन् । काठमाडौंमा महंगा–महंगा होटेल छन् । सेवामुलक भन्दा नाफामुलकको बाढी नै छ । तल्लो वर्गलाई लक्षित गर्दै होटेल, रेस्टुराँ खुलेनन् । ‘हामीले कम पैसा हुने र समस्यामा परेकालाई लक्षित गर्दै यो सेवा सुरु गर्‍यौं, यहाँबाट उठेको पैसा पनि समाजसेवामै खर्चिने छौं,’ अध्यक्ष पन्तले भने । काठमाडौंका सडकमा हिंड्ने कोही पनि भोकै नपरुन् भन्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए । नाफा जति आपतकालिन समस्या बाढी पहिरो, आगलागी, बिपन्न र फरक क्षमता भएका व्यक्तिलाई सघाउने लक्ष्य राखेको उनी बताउँछन् । ‘हाम्रो खाना घर’ मा बेलायत बस्ने समाजसेवी इशा गुरुङ र हाम्रो टिम नेपालको व्यापारिक साझेदारी छ । रेस्टुराँ कति लगानीमा खुल्यो ? यसको लागत खर्च कति हो ? यसबारे हाम्रो टिम नेपालका अध्यक्षले बताउन चाहेनन् । आर्थिक कारोबारका सवालमा सोधिएका प्रश्नमा उनी पन्छिए । अनामनगरस्थित ‘हाम्रो खाना घर’ मा जोसुकैले दैनिक १ सय ३० रुपैयाँमै बिहान बेलुका भोक मेटाउन सक्नेछन् । हाल ९ जना स्टाफ कार्यरत छन् । ३ जनाले तलबमा र बाँकीले स्वंयसेवा गर्ने छन् । दैनिक रुपमा भीढ बढेमा काठमाडौंका नाकाहरुमा शाखा खोल्ने तयारी पनि भइरहेको छ । त्यस्तै मुलुकका प्रमुख शहरहरूमा शाखा विस्तार गर्ने तयारी थालेको अध्यक्ष पन्तले बताए । कम्तिमा १० वटा शाखा पहिलो चरणमा खोल्ने तयारी भईरहेको हाम्रो टिम नेपालका विश्वबन्धु भण्डारी बताउँछन् । ‘हाम्रो खाना घर’ मेनुमा अहिले भेज आइटम मात्र उलब्ध छ । बिस्तारै खाजा, नास्ताको आइटम थपिनेछ । बजार मूल्यभन्दा निकै कम मूल्यमा उपलब्ध गराउने हाम्रो टिम नेपालका सदस्य उमेश बोहरा बताउँछन् । यसअघि यही समुहले कपडा बैंक पनि सुरु गरेको थियो । राजधानी र उपत्यका बाहिरका शहरमा कपडा बैंकले छोटो समयमै मन जितेको थियो । आफूसँग लुगा हुनेले दिने र नहुनेले लिने कपडा बैंक आम मानिसहरूले रुचाएका थिए । हाम्रो टिम नेपालको लिस्टमा स्वरोजगारका अरु पनि योजनाहरु छन् । विदेशबाट फर्किएका युवाहरुको ठूलो जमात छ यसमा । आफूले सिकेको सीप, अनुभव स्वदेशमै लगानी गर्ने उनीहरुको योजना छ । उनीहरू सकेसम्म स्वदेशी उत्पादन र यसको प्रयोगमा जोड दिन चाहन्छन् । संस्थाका अध्यक्ष पन्तका अनुसार उत्पादनमुलक उद्योग सञ्चालन गर्ने योजना रहेको छ । ‘आ–आफ्ना ठाउबाट सकेको योगदान दिने हो भने समाजमा पक्कै परिवर्तन आउछ,’ पन्तले सुनाए ।

प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ । शुक्रबार र शनिबार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ । चन्द्रागिरि–५ र नगरपालिका स्वयं आयोजक रहेको सो प्रतियोगिताको संयोजन वेष्टर्न युनाइटेड क्लबले गरेको छ । प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ७५ हजार र ४० हजारसहित ट्रफी र पदक र अन्य चार विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने जानकारी दिए । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर रहेका छन् । उनले भने, “फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । चन्द्रागिरि नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ ।” कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन् । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । उनले भने, “युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ ।” नगर प्रमुख घनश्याम गिरीले प्रतियोगिताका सहभागीलाई पोशाक वितरण गरे ।

५६ लाखकाे लगानीमा सहकारीले खोल्यो सुपथ मूल्यका पसल, अन्त्य भयाे बिचौलियाले खाने कमिसन

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि-४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । सहकारीले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ । सोमबारदेखि औपचारिक रुपमा शुरु भएको सो पसलका लागि लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई २१ लाख रूपैयाँ अनुदान दिएको थियो । अनुदान रकममध्ये १६ लाख रुपैयाँ भवन निर्माणमा र सात लाख रुपैयाँ पसल सञ्चालनमा लगानी गरिएको छ । सुपथ पसल सञ्चालनका लागि संस्थाले थप ३५ लाख रुपैयाँ लगानी गरेको छ । पसल सञ्चालन भएपछि स्थानीयस्तरमा उत्पादन सामग्री बिक्री वितरणमा सहज भएको सूर्य बहुउद्देशीय सहकारी संस्थाका व्यवस्थापक लेखनाथ खनालले बताए । पसलमा स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न, मरमसला, दैनिक उपभोग्य हुने सामग्री खरीद बिक्री हुनेछ । सुपथ पसल सञ्चालनमा आएपछि कालोबजारी निरुत्साहित भई सहुलियत दरमा सामग्री खरीद गर्न पाउने स्थानीय रुपेशकुमार श्रेष्ठले बताए । स्थानीय कृषकले उत्पादन गरेका तरकारी, सहकारीका सदस्यले उत्पादन गरेका सामग्री सिधैँ ग्राहकसँग पुग्ने भएपछि बिचौलियाले खाने कमिसनसमेत अन्त्य हुने विश्वास गरिएको छ । अहिले स्थानीय बजारमा बिक्री गर्ने योजना रहे पनि आगामी वर्षदेखि अन्य सुपथ पसलसँग समन्वय गरी बाह्य जिल्लामा स्थानीय उत्पादन बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले बताए । सहकारीमा ८०० बढी सेयर सदस्य रहेका छन् । सेयर सदस्यका लागि विशेष छुटकोसमेत व्यवस्था गरिएको बताइएको छ ।