सोमबारदेखि सूर्य नेपाल गल्फ टूर सिजनको अन्तिम प्रतियोगिता हुँदै

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२१–०२२ सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्यामिपयनसिप सोमबारदेखि हुने भएको छ । गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि विहीबारसम्म हुने प्रतियोगिता ७२ होलमा खेलाइनेछ । प्रतियोगितामा एमेच्योर र व्यवसायिक गरी ४० जना खेलाडीको सहभागिता रहनेछ र हरेक दिन १८ होलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख ५५ हजार, तेस्रो हुनेले १ लाख १० हजार, चौथो हुनेले ९५ हजार, पाँचौं हुनेले ८७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियाेगिताकाे कुल पुरस्कार राशी १४ लाख ६१ हजार रुपैयाँ रहेकाे छ ।  

रमेशकुमार : जो घरभरी वेवारिसे कुकुर पाल्छन्

काठमाडौं ।  काठमाडौंमा घर बनाउँदा यो तला भाडा दिने यो तलामा आफू बस्ने भन्दै सबैजसोको योजनाभित्र पर्छ । अझ कोठाभाडा आफूखुशी बर्सेनि बढाउने धेरैको चलन हुन्छ । तर काठमाडौं महानगरपालिका– १६ बालाजुका रमेशकुमार शर्माको घरमा कसैलाई भाडा राखिएको छैन । यसको कारण आफूमात्र बस्न रुचाएर होइन, शर्मा चैपायाप्रेमी भएर हो । उनले घरमा भुस्याहा कुकुर राख्नको लागि मिल्ने गरी भुइँतला पूरै खाली राखेका छन् । उक्त घरमा नियमित बस्ने कुकुरहरू पनि छन् भने समय समयमा उपचारको लागि मात्र आउने कुकुर छन् । शर्मा बेवारिसे गाई र कुकुरको स्याहार र कुकुरको बन्ध्याकरणमा लागिपरेका हुन् । शर्माले विगत ६ वर्षदेखि नेपालटार पुल, बालाजु १६ का भागहरू, हिलेडोल, तारकेश्वर, माछापोखरी, सामाखुसी र रानिबारीलगायत क्षेत्रमा दिनको दुई पटक घुम्छन् । स्कुटरमा चारो र विस्कुटलगायतका खानेकुरा लिएर हिड्ने शर्माले भेटेका जति भुस्याहा कुकुरलाई आहारा दिन्छन् । अनि घर फकर्छन् र घरको भुइँतला मा रहेका कुकुरलाई दाना दिने र फोहोर व्यवस्थापन गर्छन् । शर्माको दैनिकीभित्र कुकुर र गाईलाई दाना दिनेमात्र होइन । बिरामी र घाइतेको उपचारमा पनि खर्च हुन्छ । कुकुर र गाईलाई दिने चारो सबै घरमा हुन्न । त्यसैले नजिकका पसलबाट किन्ने र दैनिक मासु पसलबाट मासु खरिद गरेर स्याहारमै हिड्दा शर्माको दैनिकी बित्ने गर्छ । त्यति मात्र नभई स्कुटरमा पशुका लागि आवश्यक बेटाडिन, पाउडर, स्प्रे, सर्जिकल क्रिमलगायतका औषधिसमेत बोकेर चोट पटक लागेका बिराम पशुहरूको स्याहारमा जाने उनको दैनिकी नै बनेको छ । उनको घरमा अहिले पनि ६ वटा भुस्याहा कुकुर छन् भने अन्य बाटोमा भेटेका सबै कुकुर र गाई–गोरुले समेत उनलाई चिन्छन् । शर्मा त्यस क्षेत्रका भुस्याहा कुकुर र गाई–गोरु स्याहार्नमा बिहान बेलुका व्यस्त हुन्छन् । उनको यो कार्यमा निहारिका शिशुकुञ्ज माविका प्रधानाध्यापक तथा रमेशकी श्रीमती शोभा आचार्यले स्याहारमा सघाउँछिन् । पहिला कसैले नसघाउँदा पनि यस कार्यमा लागेका उनी अहिले नजिकका नातेदार, केही मित्र र केहि पशुप्रेमि शुभेक्षुकहरूको बेलाबेलामा सहयोग पाएको बताउछन् । उनका आफन्तहरूले पनि कुकुर बन्ध्याकरणका लागि धेरै पटक विभिन्न स्थानबाट रकम सहयोग गरेका छन् । आफूले भुस्याहा कुकुर बाटो र खोला आसपास छाउरो जन्माउने अनि त्यसपछि दुर्घटना र भोकले मर्ने गरेको बिजोग देखेर सडक पशु सामुदायिक ब्यवस्थापन सोच र अनुसन्धान उद्देश्यले बिगतमा निजी लगानीमा बन्ध्याकरण अभियान चलाउँदै गर्दा झन कुकुरसँग नजिक भएको उनको भनाइ छ । बन्ध्याकरणमार्फत कुकुर नियन्त्रण गर्दै लैजान सकिने अभ्याससँगै थप कुकुरको स्याहारमा व्यस्त रहेको उनी बताउँछन् । सुरुमा घर आसपासमात्र यस्तो काम गर्दै आएकोमा अहिले करिब ७ किलोमिटरसम्म स्याहारमा स्कुटर चढेर सडकमा निस्किने गरेको बताउँछन् । उनले नियमित स्याहार गर्नुका साथै खुवाउने व्यवस्था गर्न थालेपछि उनको स्कुटर छेउमा खान आउने गाई–गोरु र कुकुरको रुटिन नै बनेको छ । अहिले त उनको स्कुटर वरपर जता पुग्छन कुकुर र गाई जम्मा हुन्छन् । शर्माले जब आफूसँग भएको चारो खुवाउँछन् अनि सबै आ-आफ्नो बाटो लाग्छन् । पशु चौपायाको उपचारमा उनले पशु प्राविधिकहरू पनि खटाउने गरेका छन् । साथै कुकुरको बन्ध्याकरणका लागि शिशुकुञ्ज माविमा आफ्नै निजी लगानीमा पटक-पटक शिविर पनि राखेको उनी बताउँछन् । ‘आफ्नो इच्छाअनुसारको काम गर्दैछु, पशुलाई माया गर्छु, त्यही भएर सधैँ स्याहार्छु, मसँग सधैँ उपचार गर्ने औषधि र केही खानेकुरा अनिवार्य राख्छु,’ उनले भने । बेवारिसे भेटिएका गाई बिरामी भएमा उपचार गराउने र निको पारेर गौशाला पठाउने गरेको उनी बताउँछन् । गाई गौशाला पठाउँदा समेत एउटा गाईको १५ सय रुपैयाँ भाडा लाग्ने गरेको उनी बताउँछन् । उनले हरेक गाई गौशाला पठाए पनि कुकुर भने आफैले स्याहार्ने गरेको उनी बताउँछन् । अहिले उनको दैनिकी करिब डेढ सय कुकुर स्याहार्दैमा बित्ने गरेको छ । यसअघि फण्ड बोर्डको बागमती प्रदेश निर्देशक हुँदा बिहान बेलुका कुकुरको स्याहार र दिउसो अफिसमा बित्थ्यो भने अहिले जागिरमा नभएकोले पशुसँगको प्रेम र स्याहारमै दिन बित्ने गरेको बताउँछन् । उनका अनुसार खाना र उपचार गरी मासिक सरदर २०-२५ हजारभन्दा बढी खर्च हुने गरेको छ । यसमा भुईँतलाको कोठाभाडाको हिसाब जोडिएको छैन । दैनिक खर्च एकरुपता नहुने उनी बताउँछन् । खाना खर्चभन्दा उपचार खर्च धेरै हुने र औषधि सकिरहने भएकोले दैनिक खर्च एकिन नभए पनि मासिक खर्च भने औषतमा २०-२५ हजारसम्म हुने गरेको उनको भनाइ छ । घरको फ्रिजमै एन्टी रेबिज सुइ स्टक राखेर् काम गर्दै आएको उनी बताउँछन् । उपचार डिस्टेम्पर, रेबिज आदि रोग मा प्रयोग गरिने विदेशी राम्रो एउटा सुइको मूल्य समेत ४०० रुपैयाँसम्म पनि पर्ने गरेको उनको भनाइ छ । केही कुकुरको ट्युमर, अप्रेसन् तथा किमो इन्जेक्सनजस्ता अति महङ्गा उपचार पनि गर्दै आएको उनी बताउछन् । त्यस्तै डिस्टेम्पर र पार्भो भाइरस जस्ता केशमा पनि धेरै खर्च हुने गरेको उनी बताउँछन् । उनका अनुसार समग्र वार्षिक खर्चमा आफ्नो ८० प्रतिशत लगानी छ भने करिब २० प्रतिशत आफन्त र केहि पशुप्रेमि मित्र हरूले सकेको सघाउने गरेको उनी बताउँछन् । खानपान सामान्य राख्दै , अन्य कुनै लतमा वा फजुल पैसा खर्च नगरी यस्ता वस्तु खरिदमा हुने फजुल खर्च पशु स्याहारमै सदुपयोग गरेको उनी बताउँछन् । यस्तो सोच कसरी आयो ? भन्ने प्रश्नमा युरोप का देश हरू मा अन्य कार्य मा जाँदा सडक मा कुकुरहरू नदेखेको ले नेपाल मा पनि त्यसरि नै ब्यवस्थित् गर्ने कसरि भन्ने सोच परिक्षण का लागि यो कार्यमा सात वर्षदेखि जुटेको बताउँछन् । फिल्ड मा काम गर्दा को सिकाइहरू अरुलाई पनि काम लागोस् भनि करिब् ५०० भिडियो टिक टक मा राखिदिएका छन् र् सडक् कुकुर् व्यवस्थापनमा अरुसङ्ग सन्जालमा जोडिन फेसबुक पेज पनि चलाएका छन् । उनले घाइते र बिरामी पशुप्रति गरिने अरूको व्यवहार देखेर आफू दु:खी भएको उनी बताउँछन् । त्यस्तै , मानवीय व्यवहारले पनि पशुहरूको माया लाग्न थालेर एकरदुईवटा स्याहार्दा स्याहार्दै वर्षौं बितेको र अहिले हजारौंको उपचार गरिसकेको बताउँछन् । वडा , नगर पालिका र जन समुदाय सबै सडक् कुकुर र सडक पशु ब्यवस्थापन् मा उदासिन्, र निस्क्रिय रहनु अत्यन्त दुखद अवस्था रहेको उनी बताउँछन् । यतिमात्र नभई उनले स्याहार्दै गरेका पालिरहेका कुकुरको निधन भएमा श्रद्धाका साथ फूल चढाएर अन्तिम श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने गरेका छन् ।

निर्वाचनले जसको गाँस खोस्यो

काठमाडौं । रामेछाप जिल्ला घर भई हाल काठमाडौंमा बस्दै आएका टिकाराम खड्काले रत्नपार्कको सडक छेउमा बसेर कपडा बेच्न थालेको ७ वर्ष भन्दा बढी भयो । उनले कपडा बेचेर महिनाको १० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । सो रकमबाट उनको घर खर्च चल्छ । रत्नपार्कमा नै व्यापार गरी आम्दानी स्रोत जुटाउँदै आएका खड्काको व्यापार अहिले ठप्प छ । स्थानीय तहको निर्वाचन सुरु भएसँगै रत्नपार्कमा मानिसहरूको भिडभाड कम भएसँगै व्यापार नै नभएको उनको भनाइ छ । पछिल्लो समय महानगरपालिकाका नगर प्रहरी र ट्राफिक प्रहरीले सडक छेउमा बसेर काम गर्न रोक्न थालेपछि बिहान देखि बेलुकासम्म रत्नपार्क र न्यूरोड एरियामा खड्का पत्रपत्रिका बेच्छन् । ‘एउटा पत्रिका बेचेबापत २ रुपैयाँ नाफा हुन्छ, दिनभर पत्रिका डुलाउँदा २ सय रुपैयाँको आम्दानी हुन्छ, नयाँ प्रविधिसँगै पत्रपत्रिकाको कुरा मोबाइलमा नै हेर्न मिल्ने भएकाले अहिले पत्रिका व्यापार हुन छाडेको छ,’ उनले भने । साँझको समयमा नगर प्रहरी र ट्राफिक प्रहरी घर फर्किए पछि बेलुका ६ बजेदेखि ८ बजेसम्म उनको कपडाको व्यापार सुरु हुन्छ । ‘पहिले यहाँ बसेर काम गर्दा कसैको रोकटोक थिएन, अहिले नगर प्रहरी र ट्राफिक प्रहरीले सडकमा नबस् भन्छन्, पेट पाल्नै पर्यो,’ उनले दुखेसो पोखे। त्यति मात्रै होइन, खुला आकाशमुनि बसेर काम गर्नुपर्दा हावाहुरी वा पानीले पनि अवरोध गरेको उनले सुनाए । ‘कहिले नगर प्रहरीले धपाउँछ त कहिले हावाहुरी र पानीले,’ उनले भने । उनी दैनिक करिब दुई सयदेखि एक हजार रुपैयाँसम्म कमाउँछन् । छोरा छोरी पढाउने र श्रीमतीसँगै बस्दै आएका उनको यहीको कमाइबाट घरखर्च चलेको छ । उनी मात्र होइनन्, यस्तो सास्ती खेप्ने काठमाडौंका सडक छेउमा बसेर व्यापार गरेर आएका अन्य धेरै छन् । कोरोना भाइरस संक्रमण पछि व्यापारबाट हुने उनको कमाइ घटेको छ । यो अवस्थामा पनि काम गर्न रोकटोक गरिन थालेपछि उनीहरूले नेताप्रति आक्रोश पोखेका छन् । ‘हामी जस्तो गरिबले सटर भाडामा लिए बस्न सक्दैनौं, काठमाडौंको महँगी हामी सबैलाई थाहा भएको नै कुरा हो, सडकको छेउमा बसेर काम गर्नु हाम्रो रहर हैन बाध्यता हो,’ उनले भने । यस्तै, आज भन्दा ७ वर्षअघि उच्च शिक्षाको अभिलाषाका साथ सिन्धुलीबाट काठमाडौं छिरेका थिए नारायण श्रेष्ठ । १० कक्षासम्म गाउँमा नै पढेका श्रेष्ठले उच्च शिक्षा हासिका लागि काठमाडौं आए । कलेजको महङ्गो शुल्क र घरको कमजोर आर्थिक अवस्थाको कारण उनी पढ्न सकेनन् । काठमाडौं आएपछि उनलाई दैनिकी चलाउन गाह्रो भयो । यस्तै समस्याको बीचमा कसैले सुनाइदियो–फुटपाथमा व्यापार गर्ने विकल्प । त्यसपछि उनी काठमाडौंको रत्नपार्कमा रेडियो, इयरफोन, चार्जर बेच्न लागे । ‘त्यो समयमा ठुलो व्यापार गर्नको लागि मसँग पैसा थिएन, इलेक्ट्रिक सामान किन्न महङ्गो पर्दथ्यो, मैले ७ हजारबाट रत्नपार्कमा व्यापार सुरु गरँको हुँ,’ उनले सुनाए । ‘काठमाडौं त आइयो, खान बस्नको लागि पैसाको आवश्यकता पूरा गर्न सक्ने आर्थिक अवस्था घरपरिवारको थिएन, अनि जागिर खोज्न थालेँ, जागिर पाइएन, अनि फुटपाथमा पेटी बेच्न लागेको हुँ,’ नारायणले भने । नभन्दै उनको कमाई राम्रो हुन थालेको उनी बताउँछन् । व्यापारबाट आएको पैसाले कोठा भाडा तिर्न र खानलाउन ठीक्क हुने उनी बताउँछन् । तर, कहिले काहीँ पैसा बच्यो भने घर पनि पठाउन थालेको उनले बताए । ‘दिनको ३ सय त कमाई भइहाल्छ नि, महिनामा ४० हजार रुपैयाँ बचाउँछु, महानगर आएर बेलाबेलामा हामीलाई लखेट्छ, त्यसरी लखेटेपछि अर्को ठाउँमा गएर फेरि व्यापार गर्छु’ उनले भने । निर्वाचनसँगै उनको व्यापार पनि घटेको छ । ७ हजारबाट सुरु गरेका काम अहिले एक लाख रुपैयाँको बनाएका छन् । टिकाराम र नारायण जस्ता अधिकांश फुटपाथ व्यवसायीहरू निर्वाचनले समस्या परेको बताउँछन् । उनीहरू यसअघि दैनिक रूपमा कमाइ हुने भएपनि अहिले निर्वाचनको कारण कमाइ ठप्प भएको र गुजारा गर्न पनि समस्या भएको गुनासो गर्छन् ।