माटो जोगाउने सन्देश दिनको लागि ३५ सय किलोमिटर दौडदै पुन

काठमाडौ । माटो विनाश भइरहेको स्थितिबारे जानकारी फैलाउन र माटो जोगाउन सबै नेपालीमा सन्देश पुर्याउने उद्देश्यसहित माटो जोगाऔँ अभियानका स्वयंसेवक यमबहादुर चोचाङ्गी पुन (नबिन पुन मगर) ले काठमाडौंबाट देशव्यापी दौड शुरु गरेका छन् । पुनले सातवटै प्रदेश छुने गरी ३५ सय किलोमिटर दुरीको देशव्यापी दौड गर्ने निर्णय गरेका हुन् । काठमाडौँको टुँडिखेलबाट शुरु भएको दौडलाई नेपाल फुटबल टिमका पूर्व कप्तान हरि खड्काले राष्ट्रिय झण्डा तथा माटो जोगाऔँ चित्रित झण्डा फहराएर उद्घाटन गरेका थिए । पुनले ६० देखि ७० दिनभित्र दौड पूरा गर्ने लक्ष्य लिएका छन् । काठमाडौँबाट शुरु भएको दौड तराई हुँदै पुर्बी सीमा पुग्नेछ । त्यसपछि उत्तरतर्फ अघि बढी पश्चिम सिमाना हुँदै दक्षिणतर्फ गई फेरि काठमाडौं आएर टुङ्गिनेछ । दौडको क्रममा देशका विभिन्न ठूला, साना तथा महत्त्वपूर्ण स्थान जस्तै चितवन, हेटौँडा, वीरगञ्ज, जनकपुर, विराटनगर, दमक, फिदिम, दिक्तेल बजार, पोखरा, कुश्मा–पर्वत, हटिया–बाग्लुङ्ग, सुर्खेत, पञ्चदेवल–अछाम, कञ्चनपुर, दाङ्ग, लुम्बिनी, बुटवललगायतका स्थानहरूमा कार्यक्रम गरी माटोको विनाशबारे जनचेतना फैलाउने र आम मानिसहरूलाई माटो जोगाउनको लागि जागरूक हुन प्रेरित गरिनेछ । ‘माटो जोगाऔं’ अभियान सदगुरुद्वारा शुरु गरिएको विश्वव्यापी अभियान हो, जसअन्तर्गत हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोण सहित काम गर्न प्रोत्साहन गरिने आयोजकले जानकारी दिएको छ । विश्वव्यापी माटो जोगाऔं अभियानको लागि सदगुरुले गत मार्च २१ मा लण्डनबाट ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा सुरु गगरेका थिए । सोही यात्राबाट प्रेरित भई माटो जोगाऔँ अभियानका स्वयंसेवक पुनले नेपालमा ३५ सय किलोमिटर दौड गर्ने निर्णय गरेका हुन् । हाल माटोको अवस्था निकै भयावह रहेको अनि यसलाई जोगाउनसबै एकजुट भई अघि बढ्नुपर्ने सन्देश फैलाउने उद्देश्य बोकी पुनले दौड पूरा गर्ने सङ्कल्प लिएका छन् । संविधान सभाका पूर्व सदस्य डीबी परियार, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनलगायत उपस्थित भएर पुनलाई शुभकामना दिएका थिए । त्यसैगरी, अल्ट्रा मेरेथन धावक शेरबहादुर थारु, पुष्पलाल श्रेष्ठ, संयोगराज गुरुङ्ग, महेन्द्रमान सिंह, र माटो जोगाऔँ अभियानका स्वयंसेवकहरू संसार पलान्चोके, राजा कार्की, सन्देश अधिकारी, कुबेर साउद, शिवान्स कर्णले नागढुङ्गासम्म दौडेर पुनलाई साथ दिएका थिए । माटो जोगाऔँ अभियानलाई समर्थन गर्नको लागि नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना हुँदै आइरहेको छ । आफूलाई भू–मित्र भन्न रुचाउने समर्थकहरूले ‘माटो जोगाऔँ १ अहिल्यै केही गरौं, आउनुहोस् यसलाई साकार पारौं’ जस्ता सन्देश लेखिएका प्लेकार्डहरू बोकी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेका छन् । उनीहरूले सडक नाटक, साङ्गीतिक कार्यक्रमदेखि विद्यालय, संघ संस्थाहरूमा गएर जनचेतना फैलाउने कार्यहरूसमेत गरिरहेका छन् । हालसम्म ३० वटाभन्दा बढी विद्यालय र ११ वटा संघ संस्थाहरूमा यस्ता कार्यक्रमहरु आयोजना भइसकेको छ । त्यसैगरी, ६ हजारभन्दा बढी विद्यार्थीले आफू माटोको दयनीय अवस्थाप्रति चिन्तित रहेको कुरा व्यक्त गरी माटोलाई पहिलेकै अवस्थामा फर्काउन र माटो सुरक्षित राख्ने नीतिहरू लागू गर्न आग्रह गर्दै राष्ट्रप्रमुखलाई चिठ्ठी लेखिसकेका छन् । यो क्रम अझै जारी रहेको आयोजकले जानकारी दिएको छ ।

तेल र मसलाबिनाको अचार

चितवन । अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईं हामीले खाइरहेका छौं । तर तेल र मर मसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला । भरतपुर महानगरपालिका-४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेका छन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् । रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँ जहाँ काम गथिन् त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेकी हुन् । सन् २००६ मा रोजगारीका लागि गएकी चापागाईं सन् २०१६ मा नेपाल भकिइन् । त्यसपछि पुस्तक व्यवसाय गरेकी उनी दुई वर्षपछि पर्वतमा भएको दुर्घटनामा परिन् । दुर्घटनामा परी गम्भीर घाइते बनेकी चापागाइँ अहिले आफ्नो शरीरमा केही सुधार भएपछि आफूले विदेशमा सिकेको सीपलाई प्रयोग गर्न थालेकी हुन् । चापागाईं अहिले तेलबिना काँक्रो, खुर्सानी, गाँजर, चुकन्दरलगायतका अचार बनाइरहेकी छिन् । यी खाद्यवस्तुलाई उसिनेर घाममा सुकाएर अचार बनाउने गरेको उनले बताइन् । उठेर खासै हिँडडुल गर्न नसक्ने उनी आफ्नो सीपको प्रयोगका लागि छोराको साथ लिएकी छिन् । कृषि विषय अध्ययन गर्दै आएका छोरा प्रशन्नले अहिले आमालाई पूर्णरूपमा साथ दिइरहेका छन् । व्यवसाय राम्रो भएमा आमालाई काममा सघाउन कर्मचारी राखेर काम अघि बढाउने उनको योजना छ । अचार बनाउनका लागि नुन, लसुन, अमिलोलगायतका सामग्रीमात्रै प्रयोग गर्ने गरिएको उनले बताइन् । पूर्णकलाले भनिन्, ‘स्वास्थ्यवद्र्धक खानका लागि यो अचार निकै उपयुक्त हुन्छ ।’ परीक्षण उत्पादनका रूपमा सुरु गरिएको यो व्यवसायलाई आगामी दिनमा व्यावसायिक बनाउने योजना उनको छ । खाँदा नयाँ स्वाद पाउने भएकाले अहिले तत्काल मन नपर्न सक्ने भन्दै उनले केही दिनमा व्यावसायिकरूपमा उत्पादन गरेर अचारलाई बजारमा लैजाने बताइन् । यही वैशाख १६ गतेदेखि चापागाईँले यो अचार बनाउन थालेकी हुन् । अहिलेसम्म १५० डब्बा अचार घरबाटै बिक्री भइसकेको छ । उनले भनिन्, ‘सुरुआती समयमा बजारमा अचार रुचाइन्छ कि रुचाइँदैन भनेर लागत मूल्यमा नै दिने गरेका छौं ।’ एकपटक प्रयोग गरेका ग्राहकले पुनः माग गर्ने गरेको उनको भनाइ छ । अहिले चितवन, पोखरालगायतका स्थानबाट माग आइरहेको उनले जानकारी दिइन् ।

ग्रामीण कृषकको जीवनस्तर उकास्न बाख्रा वितरण

झापा । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ५०० बाख्रा वितरण गरेको छ । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘मेयर पकेट बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत उक्त बाख्रा वितरण गरिएको नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिइन् । “नगरवासीलाई पशुपालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप बाख्रा वितरण गरिएको हो”, उन भनिन्, “विसं २०७४ यता ५०० बाख्रा र १६५ खोर निर्माण गरिएको छ ।” बाख्राको खोर निर्माणका लागि मात्र रु ४१ लाख खर्च भएको उनले बताइन् । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले ग्रामीण क्षेत्रका कृषकको जीवनस्तर उकास्न यो कार्यक्रम ल्याइएको बताइन् । “यस कार्यक्रमबाट धेरै कृषकले लाभान्वित हुनुभएको छ”, उनले भनिन् । कुनै पनि कारणले बाख्रा म¥यो भने त्यसको प्रमाणसहित आएमा अर्को बाख्रा उपलब्ध गराइने उनले बताइन् । यसैबीच, नगरपालिकाले वडा नम्बर ८ मा १५ जना कृषकलाई तीन वटाका दरले ४५ वटा र किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहलाई एउटा बोयर जातको बीउ बोका वितरण गरेको छ । यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजङ्घा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्वअनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यावसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो । रासस