बैंकहरूले ऋण उठाउन घरमा बाउन्सर पठाउन थाले

असार मसान्त आउन अब धेरै समय बाँकी छैन् । असार सकिन लागेसंगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनान्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तिय संस्थाले सञ्चालकले थर्काउने गरेका छन् । असार मसान्तभित्र बाँकी रहेको साहु, व्याज र हर्जाना चुक्ता नगरेको खण्डमा धितो लिलाम गर्दिने, कालोसूचीमा राखिदिने लगायतका धम्की दिएको ऋणीहरु बताउँछन् । घरको गेटमा ल्याएर चिठी टाँसिदिने भन्दै थर्काउने उनीहरुको भनाइ छ । कतिपयले घरमा गुण्डा (बाउन्सर) पठाउने चेतावनीसमेत दिएको पाइन्छ । यता, महिनामा किस्ता तिरिरहेका कर्जावाललाई समेत वित्तीय संस्थाले दबाब दिन थालेको छ । धितोको मूल्य ह्वात्तै घटेपछि कर्जामा वित्तीय संस्थाले कडाइ गरेको छ । कि कर्जा घटाउनु कि त हामी लिलाम गरिदिन्छौं भनेर बैंक, फाइनान्सले कर्जा लिनेलाई धम्काइरहेका छन् । कि त आफ्नो कर्जा चुक्ता गरेर अर्को बैंकमा नामसारी गर्न उनीहरुले दबाब दिएको पाइन्छ । ९५ प्रतिशत व्यक्तिले आफ्नो जायजेथा बैंक र सहकारीको नाममा राखेर धितो लिएको छ । हिजो धितो राखेर कर्जा दिने बेलामा वित्तिय संस्थाले पाँचदेखि २५ वर्षसम्मको अवधि तोकिदियो । तर, कर्जा लिएको वर्षदिन नबित्दै ऋणीहरुलाई वित्तिय संस्थाले प्याकप्याकी बनाएको छ । बारम्बार कर्जा तिर्न वा धितो अन्त सार्न ऋणीलाई बाध्य बनाइएको छ । ऋणीहरु यतिखेर दुविधामा परेका छन् । ऋण तिरौं पैसा छैन । अन्त लैजाऔं कुनै बैंकले कर्जा दिदैन । नयाँ बैंकमा करोडको धितो राखेर ४० लाखमा राखेर कर्जा पास गरेपनि पूरानो बैंकले सार्न दिदैन । पुराना बैंकको दाउ नै धितो पचाउनका निम्ति ऋणीलाई अर्को बैंकमा कर्जा सार्न पनि दिदैनन् । उता कुरा मिलाएर आएपनि यताले भड्काइसकेको हुन्छ । बैंक र सहकारीको योजना करोडको सम्पत्तिलाई ३० लाख दिने । पछि सम्पूर्ण धितो नै लिलाम गरिदिने । कर्जा लिनेलाई सडकमा पुर्याउने । वित्तीय संस्थाका कारण धेरै ऋणीहरु विस्थापित भइसकेका छन् । कतिपयलाई त आत्महत्या गर्न बाध्य बनाइएको छ । कर्जा तिर्न नसकेर आफ्नो गाँउघर नै छाडेर भाग्ने पनि उत्तिकै छ । बैंकबाट हरेक जनता पीडित छन् । किन कि उनीहरुले खुलेआम ठगिरहेका छन् । तर, सरकार मुकदर्शक बनेर हेरिरहेको छ । दिँउसै जनता ठग्दा पनि सरकार किन हात बाँधेर बसेको छ ? त्यस्ता ठग संस्थाको दर्ता किन खारेज गर्दैन सरकार ? बैंक र सहकारीले गर्दा कति मानसिक रोगबाट पीडित छन । घरमा जहिले पनि झगडा हुन त स्वाभाविकै भइसक्यो । बैंककै कारणले कति दम्पतीको छोडपत्रसमेत भएको घटनाहरु हाम्रो समाजमा छ । हिजो करोडको सम्पत्ति राखेर आधा रकम पनि दिएन । तर, तीन किस्ता नतिर्ने बित्तिकै धितो नै खाइदिदाँ करोडपति पनि रोडपति बनेका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले जनता ठग भनेर लाइसेन्स दिएको हो । बैंक र सहकारीको यस्तो चर्तिकलाका कारण जनतामा अहिले चेतनाको विकास भएको छ । एउटाको पैसा अर्कोलाई ऋण दिने अनि घरखेत नै उडाइदिने । बैंकले ऋण दिएको रकम उसको खल्तीको हो । बिचमा बसेर पुलको भूमिका निर्वाह गरे जस्तै देखाएर जथाभावी लुट्न मिल्छ ? बचत गर्ने र ऋण लिने दुवैलाई बैंक र सहकारीले ठगेको छ । बचत गर्नेलाई कम व्याज दिने तर त्यही पैसा मँहगो व्याजमा कर्जा लगानी गर्ने । त्यो पनि सेवाशुल्क र घुस लिएर । वित्तिय संस्थाको व्यवहारका कारण पछिल्लो समय रकम जम्मा गर्नेको सख्या ह्वात्तै घटेको छ । हाम्रो पैसा लगानी गरेर अर्कोलाई ठगिरहेको छ भन्ने कुरा जनताले राम्रोसंग बुझेका छन् । तर, कतिपय बैंक र सहकारीले अहिले पनि मँहगो व्याज दिन्छु भनेर जनतालाई प्रलोभन देखाइरहेको पाइन्छ । अब त्यस्ता विज्ञापन बजाएर जनता फसाउने दिन गइसकेका छन् । किन कि जनताहरु आफैपनि वित्तिय संस्थाको विरोधमा उत्रिएका छन् । हिजोको दिनमा विज्ञापन गरेर लुटेपनि आजको अवस्था त्यस्तो छैन । साक्षरता दरमा मुलुक धेरै नै अघि बढिसकेको छ । दिनमा दुई गुणा र रातमा चार गुणा गरेर ठगीधन्दा मौलाउदै गएपछि सञ्चार माध्यमहरु पनि धमाधम कलम चलाउदै छन् । विज्ञापन आफ्नो ठाँउमा भएपनि जनताप्रति उनीहरु जिम्मेवार भएका छन् । जसले जनतामा चेतना फैलाइदिएको छ । अझै पनि थप कलम चलाउने हो भने अरु सिधासाधी जनता लुटिनबाट बच्छन् । कतिपय बैंक र सहकारीका कारण करोडौं नेपाली सडकमा ओइरिने दिन आइसकेको छ । उनीहरुको घरबास नै अब सडकमा हुन्छ । यता, वित्तिय संस्थाहरुको पनि भागाभाग हुन धेरै बेर लाग्दैन । यसको जिम्मेवार अब कसले लिन्छ ? न राष्ट्र बैंकले लिन्छन सहकारी विभागले । अर्थ मन्त्रालयले पनि यो विषयमा चासो देखाएको छैन । दैनिक दर्जनौं सहकारीहरु बन्द भइरहेका छन् । अहिले बैंकको अवस्था यति नाजुक छ कि खातामा भएको पाँच लाख रुपैंया पनि दिन सक्दैन । यता, सहकारीले त एक लाखको चेक पनि साट्न छोडेको छ । बैंकका सिईओ, अध्यक्ष र उच्च तहका कर्मचारी भेट्न हम्मेहम्मे छ । उनीहरु आफ्नो कार्यकक्षमा हुदैनन् । गार्ड र अन्य कर्मचारी भएपनि जिम्मेवार व्यक्ति भने गायब छन् । आफु कार्यालय नआएपनि बजार प्रतिनिधि खटाएर पैसा उठाउनचाहि छोडेका छैनन् । बुझ्नेले त पैसा राख्दैन । तर, अहिलेको अवस्थाबारे ज्ञान नभएकालाई उनीहरुले मुर्गा बनाइरहेका छन् । तर, अधिकांश बैंक त्यस्ता पनि छैनन्। कतिपयले राम्रो काम पनि गरेका छन् । बैंक र सहकारी यसरी धरासायी हुनुको मुख्य कारण विश्वासनियता गुमाउनु हो । बैंकले १५ प्रतिशत र सहकारीले १९ प्रतिशत व्याज दिन्छु भनेपनि जनताले अनदेखा गरे । व्याजको लोभमा परेर साहु नै डुब्ने डर जनतामा अझै पनि छ । जसले गर्दा बैंकसँग कर्जा लगानी गर्ने पैसा छैन । अहिले पनि कर्जा लगानी ठप्प छ । कर्जा लगानी गर्दा सेवाशुल्क, घुस आउँथ्यो र पो मोजमस्ती गरिरहेको थिए । अहिले वित्तिय संस्थाले घरभाडासमेत तिर्न सकेका छैनन् । तीन महिनादेखि भाडा तिर्न नसकेको वित्तिय संस्था पनि छन् । कर्मचारीहरु पनि तलबविहिन बनेका छन् । यस्तो तरलता बढ्दा पनि वित्तिय संस्थाले यो कुरा लुकाउन खोजिरहेको छ । सरकार र जनता दुवैले सुइको पनि नपाउन भनेर उनीहरुले गोपनियता कायम गर्न खोजिरहेका छन् । सरकारी पक्ष वित्तिय संस्थाको अहिलेको अवस्थाबारे अनविज्ञ छ । किन कि उनीहरु अनुगमन गर्न जादैनन् । सरकारलाई नै थाहा नभएको कुरो जनताले के पत्तो पाऊन् । न जनताले डकुमेण्ट हेर्ने । जनताले थाहा पाउँछन् भनेर उनीहरू जतिसक्दो आफ्नो कमजोरी ढाक्न खोज्छन् । किराना पसलमा जति पनि व्यापार छैन् वित्तिय संस्थामा । किरानामा फाट्टफुट्ट भएपनि सेवाग्राही त आउँछन् । बिहान आउने अफिस खोल्ने बेलुका बन्द गर्ने हिड्ने । कर्मचारीहरु नै कामविहिन बनिसकेका छन् । डिपोजिट राख्न कोही आउदैनन् । कर्जा दिन पैसा छैन । वित्तिय संस्थाको प्रमुख काम यही त हो । आफ्नो पैसा वित्तिय संस्थामा लगेर राखेको छ भनेर ढुक्क भएर नबसौं । जनता आफै पनि चनाखो हुने बेला भइसकेको छ । भुरादेखि बुढासम्मको खाता खोल्ने भनेर वित्तिय संस्थाले नयाँनयाँ जनता ठग्ने योजना बाहिर ल्याइरहेको छ । पछिल्लो समय नेपालमा व्यापार घाटा बढ्दो छ । कोरोनाका कारण व्यापार ठप्प भएको छ । जसको कारण घरजग्गा, सेयर र गाडीको खरिदबिक्री ह्वात्तै घट्यो । दलालहरुको पछि लागेर लगानी गर्दा सबै चुलुम्मै डुबे । यी क्षेत्रमा लगानी गर्ने डुब्ने बित्तिकै वित्तिय संस्था धरासायी हुने अवस्थामा पुगे । (उल्लेखित विचार लेखककाे व्यक्तिगत हुन्)

मध्यपूर्वको शीर्ष ३० शेफमा छनोट भए नेपाली युवा राहुल श्रेष्ठ

काठमाडौं । नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० शेफमा छनोट भएका छन् । क्याटरर मिडल इष्टले ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने शेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पनि परेका हुन् । २८ वर्षीय राहुल चितवन कोइ प्रालिका सञ्चालक व्यवसायी राजेशबाबु श्रेष्ठका छोरा हुन् । उनी हाल ब्यागेटेल दुबईमा सु शेफका रुपमा कार्यरत छन् । क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ शेफहरूदेखि रेस्टुरेन्टहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी शेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्दछ । क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्दै आएको छ ।

सागर बाबुको गिति संग्रह ‘तृष्णा’ लोकार्पण

काठमाडौं । बुद्धिसागर लामिछाने (सागर बाबु)को गिति संग्रह ‘तृष्णा’ लोकार्पण भएको छ । सागर बाबुको एकल शब्द रहेको गिति संग्रह ‘तृष्णा’ असार १६ गते बिहीबार सांस्कृतिक संस्थान, जमल काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । गिति संग्रह तृष्णामा ९ वटा गितहरु रहेका छन् । गिति संग्रहमा शब्द सर्जक सागर बाबु, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिला बिष्ट, विपिन घिमिरे, सुगमा गौतम, ममता गुरुङ, शाम्भवी लामिछाने र विमर्श घिमिरेको स्वर रहेको छ । गिति संग्रहमा विपिन घिमिरेको संगित रहेको छ भने संगित संयोजनमा विकास सुनार, पुरुषोत्तम सुवेदी, विजय थापा र सञ्जय श्रीपाल रहेका छन् । टुकी आर्टस द्वारा प्रस्तुत गरिएको गिति संग्रहका गितहरु हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । संग्रहमा सामाजिक, पारिवारिक र राष्ट्रिय भावनाले ओतप्रोत गितहरु रहेका छन् । गिति संग्रहका सर्जक सागर बाबु नेपाल सरकारको सहसचिवको रुपमा कार्यरत समेत रहेका छन् । गित संगित क्षेत्रमा उनको यो पहिलो सार्वजनिक प्रस्तुती हो ।