तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै
काठमाडौं । आइएमई ग्रुपकाे तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ हुने भएकाे छ । काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् । प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेवसाइटमा पनि आवेदन फारम उपलब्ध छ । खेलाडीहरूको पूर्ण विवरण सहित भरिएका आवेदन फारमहरू चैत १२ गते बिहिबारभित्र माथि उल्लेखित स्थानहरुको बुझाउनु पर्नेछ । टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।
मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ्ग पार्टनरमा आइएमई पे
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ्ग पार्टनर बन्ने भएको छ । गएको १३ फेब्रुअरीबाट शुरु भइ भएको उक्त प्रतियोगिता मार्च २७ मा ग्राण्ड फिनाले भइ समापन हुनेछ । प्रतियोगितामा सहभागी आफुले इच्छा लाएको प्रतिष्पर्धीलाई आइएमई पे मार्फत भोट गर्न सक्नेछन् । मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन तत्पर कूल ६८ जना युवा युवतीहरु यतिखेर मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्न मोडल हन्ट नेपाल सिजन ६ को प्लेटफर्ममा अभ्यस्त रहेका छन् । जस अन्तर्गत उनीहरुले र्याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गरिरहेका छन् । ‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । आइएमई डिजिटलले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘आइएमई पे’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।
दरबारमार्गमा ५० लाखको लगानीमा जुकोट दरवार रेस्टुराँ, अहिले मार्सीको खाना, अब स्याउको अचार पनि
काठमाडौं । दरबारमार्गमा ५० लाख रुपैयाँको लगानीमा जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज सुरु भएको छ । लकडाउन सुरू हुनु अगाडी गत चैतमा यो रेस्टुराँ सञ्चालन गर्ने तयारी भएको थियो । तर, विश्वरभर फैलिएको कोरोना महामारीले योजना चौपट बनाइदियो । तैपनि आत्तिएका छैन युवा व्यवसायी अमृत शाही ठकुरी । त्रिचन्द्र कलेज, घण्टाघरबाट दरबारमार्ग जाने क्रममा महेन्द्रको शालिक नपुग्दै दायाँतिर भेटिन्छ, जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज । सञ्चालनमा आएको भर्खर एक महिना मात्र भयो । यो छोटो अवधिमा पाएको रेस्पोन्सले सञ्चालक ठकुरी उत्साहित छन् । कोरोना महामारीपछि धमाधम व्यवसाय बन्द भए । कतिले नयाँ व्यवसाय गर्ने आँट गरेनन् । तर, उनले जोखिम उठाए । ‘चैतको पहिलो सातातिर भवन भाडामा लिएर चलाउन तयारी भइरहेको थियो ।’ ठकुरीले भने ‘बिचैमा लकडाउनले गर्दा धेरै समय काम अगाडी बढेन । ७ महिना भाडा मात्र तिर्न पर्यो ।’ चिटिक्क परेका सल्लाका कुर्सी र टेबल । सेतो रंगले पोतिएका भित्ताहरु आकर्षक देखिन्छन् । जुकोट दरबार छिर्ने बित्तिकै यहाँको माहोलले लोभ्याउँछ । इन्टेरियर डिजाइन गर्न २० लाख रुपैयाँ खर्चिएको ठकुरीले बताए । विहान ८ बजे नै खुल्ने यो रेस्टुराँमा राती ३ बजेसम्म चहलपहल भईरहन्छ । अन्य रेस्टुराँमा राती प्राय: १० बजे नै किचेन बन्द हुन्छ । तर, यहाँ भने तीन बजेसम्म आफ्नो रोजाइका परिकार निर्धक्क अर्डर गर्न सकिन्छ । लोकेसन र पार्किङ सुविधा भएकाले धेरैले आफ्नो रेस्टुराँ रोजाईमा परेको सञ्चालक ठकुरी बताउँछन् । यस रेस्टुराँमा एकै पटकमा ६० जना मानिस बस्न सक्ने क्षमता छ । बाहिर आफ्नै पार्किङको सुविधा छ । सुरुवातमा यो रेस्टुराँमा ९ जना स्टाफ कार्यरत छन् । सिफ्ट अनुसार काम भईरहेको छ । अझै स्टाफको संख्या बढाउने तयारी भईरहेको सञ्चालक शाहीले बताए । बिभिन्न बैंक, ट्राभल एण्ड टुर र विभिन्न कम्पनीका स्टाफहरू यहाँका नियमित ग्राहक हुन् । कलाकार चक्र बम, टंक तिमिल्सिना र सुनिल गिरी पनि यहाँका नियमित ग्राहकमध्ये पर्छन् । जुकोट दरबारले सपिङ सेन्टर, कलेजहरुमा खानेकुरा नियमित डेलिभरी गर्दै आएको छ । तपाई पठाओ एप चलाउनुहुन्छ भने त्यसबाटै पनि सिधै क्लीक गरेर खानेकुरा अर्डर गर्न सकिने व्यवस्था मिलाइएको छ । जुकोट दरबारका विशेषताहरू यस रेस्टुराँमा सबैभन्दा अर्डर हुने आइटम हो, मार्सी खाना । बाजुराको कालो सिमीको दालसँग यो आइटम दैनिक २ दर्जन भन्दा बढी अर्डर हुन्छ । यस बाहेक झानेको मम, बँदेलको तास, बँदेलको टिमुर, बँदेल तारेको आइटम यहाँका स्पेशल परिकार हुन् । इटालियन र मेक्सिकन परिकार पनि उपलब्ध छन् । एक पटक आएका ग्राहकहरू फर्केर आउने गरेको सञ्चालक अमृत शाही बताउँछन् । मार्सी भातको आइटम दैनिक २५ भन्दा बढी अर्डर हुने गरेको उनी बताउँछन् । यसको मूल्य ७ सय रुपैयाँ राखिएको छ । दुबई र चेक रिपब्लिकमा काम गरेका अनुभवी सेफ भुपेन्द्र खड्काको मातहतमा २ जना कुक छन् । हरेक हप्ता सेफ खड्काले स्टाफलाई फुड् र हस्पिटालिटीका बारेमा प्रशिक्षण दिने गरेका छन् । विशेष कार्यक्रम र पार्टीहरु भएका बेला दैनिक कारोबार अहिले १ लाख रुपैयाँभन्दा माथि हुने गरेको उनी बताउछन् । अन्य बेला पनि ८० हजार रुपैयाँभन्दा माथि नै छ । राम्रो सर्भिस र परिकारमा फरक स्वाद भयो भने ग्राहक तान्न गार्हो नहुने सञ्चालक ठकुरी बताउँछन् । खानाका परिकार स्थानीय स्वाद पस्किने र स्थानीय उत्पादनहरुलाई बढि नै प्राथमिकता दिने उनको लक्ष्य छ । यस्तो बन्दैछ जुकोट दरबारको मेनु बाजुराको जुकोटमा ३० रोपनीमा जग्गामा स्याउ बगान छ । उत्पादन भए जति स्याउले बजार पाईरहेको छैन । आउने सिजनदेखि नै स्याउका विविध परिकारहरु यहाँ राखिने सञ्चालक अमृतले बताए । अब स्याउको अचार, स्याउको सुकुटी र फ्रेश प्याकिङ स्याउ उपलब्ध गराउने तयारीमा छन् उनी । यस्तो छ भावी योजना आगामी दिनमा खानेकुरा सम्बन्धि प्रतियोगिता गर्ने लक्ष्य रहेको सञ्चालक ठकुरी बताउँछन् । होली, शिवरात्री जस्ता विशेष अवसरमा ब्यान्ड बोलाएर कार्यक्रम गर्ने तयारी भईरहेको सञ्चालक ठकुरी बताउँछन् । उनका अनुसार कुमारी बैंकसँग क्रेडिट कार्ड, क्यूआर कोड, स्वीप मेशिन र सबै कारोबारका लागि पनि सहकार्य भईरहेको छ । रेस्टुराँ सञ्चालनमा कृषि विकास कार्यालयमा कार्यरत पहल बहादुर, दाइ सरोज बहादुर शाही र जापान बस्ने कान्छा भाइ सविन शाहीको प्रत्यक्ष सहयोग रहेको छ । हालसम्म कसैबाट ऋण नलिएको उनले बताए । पछिल्लो समय धेरै रेस्टुराँ खुलेकाले केही चुनौति बढेको छ । तैपनि यो भीडमा फरक स्वाद पस्किएर ग्राहकको मन जित्ने ठकुरीले बताए ।