बजेटकाे सिलिङ नाघ्ने, कर्मचारीको तलब र आयकर सीमा बढ्ने, बृद्धभत्ता पाउने उमेर घट्ने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको संयक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । नेपालको संविधानमा १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउँदा राष्ट्रिय योजना आयोगले तयार पारेको सीमाभन्दा केही बढीको तयार पारेको स्रोतले जानकारी दिएको छ । आयोगले १७ खर्ब ४६ अर्ब रुपैयाँको सीमा दिएको छ । तर, अर्थमन्त्रालयले करिब १८ खर्ब रुपैयाँ हाराहारीको बजेट तयार पारेको स्रोतले बतायो । बजेटमा स्रोतको व्यवस्थापनको लागि राजस्वको सीमा २० प्रतिशतले बढाउन लागिएको छ । सरकारले विगत वर्षहरुमा पनि करिब २० प्रतिशतकै दरले राजस्व बढाउने लक्ष्य राख्दै आएका थिए । यसरी राजस्वको लक्ष्य बढाउँदा राजस्वबाट करिब १३ खर्ब रुपैयाँ उठ्नेछ । बाँकी रकम वैदेशिक अनुदान, वैदेशिक ऋण, आन्तरिक ऋण र चालू आर्थिक वर्षको वचत रकमसमेत गरी सो रकम बराबरको रकमको व्यवस्था गरिनेछ । सरकारले चालू आर्थिक वर्षको प्रतिस्थापन बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको ल्याएको थियो । आयकर सीमा बढ्ने सरकारले आगामी आर्थिक वर्षदेखि व्यक्तिगत आयकर सीमा बढाउने तयारी थालेको छ । हाल व्यक्तिगत तर्फ विवाहितका लागि वार्षिक ४ लाख ५० हजार र अविवाहितका लागि ४ लाख रुपैयाँ रहेको सीमा रहेको छ । उक्त सीमामा विवाहितका लागि १ लाख ५० हजार रुपैयाँ थप गर्दै वार्षिक ६ लाख रुपैयाँ र अविवाहितका लागि वार्षिक १ लाख रुपैयाँ थप गरी वार्षिक सीमा ५ लाख रुपैयाँ बनाइन लागिएको स्रोतले जानकारी दिएको छ । अब वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने विवाहित र वार्षिक ५ लाख रुपैयाँ आम्दानी हुने अविवाहितले आफ्नो वार्षिक आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । सामाजिक सुरक्षा कोषमा आवद्ध भएका व्यक्तिहरुले भने १ प्रतिशत पनि कर तिर्नु पर्दैन । अर्थ मन्त्रालय स्रोतका अनुसार व्यक्तिगत आयकरको सीमा बढेता पनि संस्थागत कर (कर्पोरेट ट्याक्स) र स्रोतमा कर कट्टी (टीडीएस) को दरमा हेरफेर भएको छैन । कर्मचारीको तलब बढ्ने यस्तै, सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारीको तलब बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कर्मचारीको तबल २ हजार रुपैयाँले बढाउन लागेको स्रोतले दाबी गरेको छ । बृद्धभत्ता पाउने उमेर घट्ने सरकारले बृद्धभत्ता पाउने उमेर घटाउन लागेको छ । अहिले ७० वर्ष पुगेपछि बृद्धभत्ता पाउने व्यवस्था रहेकोमा यसलाई घटाएर सरकारले ६८ वर्षमा बृद्धभत्ता पाउने व्यवस्था गर्न लागेको छ । पूर्वाधारमा जोड सरकारले बजेट मार्फत केही ठूला पूर्वाधार निर्माण सुरु गर्न लागेको छ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो संसदमा बोल्दै सरकारले ठूला परियोजना निर्माण थाल्ने जानकारी दिएका थिए । यसरी निर्माण सुरु हुने ठूला परियोजनामा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना तथा केही सडक पूर्वाधार हुन सक्ने बताइएको छ । कृषिमा जोड आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिको आधुनिकीकरण, व्यवसायीकरण र उत्पादन बृद्धिमा विशेष जोड दिने कार्यक्रम ल्याउन लागिएको छ । विश्वभर नै खाद्य संकटको चर्चा चलिलरहेको तथा नेपाल विगतदेखि नै कृषिमा आधारित अर्थतन्त्र भएकोले कृषि क्षेत्रलाई विेशष जोड दिन लागिएको हो । लोकप्रिय कार्यक्रम धेरै सरकारले आगामी आर्थिक वर्षमा संघ र प्रदेशको निर्वाचन गर्न लागेको छ । सो निर्वाचनको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । सरकारले आगामी निर्वाचनलाई ध्यानमा राखेर सकेसम्म सबैलाई खुसी पार्ने गरी लोकप्रिय कार्यक्रम धेरै नै राखेको स्रोतले जानकारी दियो ।
कबड्डी–४ को किर्तिमानी : पहिलो दिनमै कमायो २ करोड ९० लाख रूपैयाँ
काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाएको छ । पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाउँदै सो सिनेमाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । दोस्रो दिन शनिबार पनि फिल्मको कमाइमा उछाल आउने देखिएको छ । बिहानैदेखि हलमा दर्शकहरु भरिभराउ छन् ।
एन्फा निर्वाचनका लागि ५४ जनाको उम्मेदवारी, कसकसले दिए उम्मेदवारी ?
काठमाडौं । नयाँ नेतृत्व सहित २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदैछ । जेठ ६ गते देखी १२ गते सम्मलाई समय तोक्दै निर्वाचनमा भाग लिन मनोनय दर्ता समय तोकेको छ । समितिले दिएको समयसीमा बिहीबार सकिँदै छ । समितिका अनुसार अहिलेसम्म अध्यक्ष सहित विभिन्न पदमा ५४ जनाको उम्मेदवारी परेको छ । र अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराउने अन्तिम बिहीबार दिन थियो । असार ६ गते हुने निर्वाचनका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्यको चयन गर्नेछ । आसन्न निर्वाचनको अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन भने अध्यक्ष पदकै लागि फ्रेन्ड्स क्लबका राजिव पौडेलले पनि उम्मेदवारी बिहीबार दर्ता गराएका छन् । तीन अध्यक्षका प्रत्यासीले निर्वाचन समितीले तोकेको समयभित्र छुट्टा छुट्टै कार्यक्रम गरेर घोषणा गरेका थिए । १ वरिष्ठ उपाध्यक्ष पदमा कुल दुई जनाको उम्मेदवारी परेको छ । कर्माछिरिङ शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराउँदा पंकजको प्यानलबाट सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ४ उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट कुमार केसी, बिज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन भने पंकजको प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा गरी कुल ८ उम्मेदवारले मनोनय दर्ता गराएका छन् । १३ खुल्ला सदस्यको पदमा शेर्पा प्यानलबाट दिपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराज गुरुङ, टीका लामा, प्रदेशसिंह राठोर, भरत बढ थापा, अनिल श्रेष्ठ, रमेश ब्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी परेको छ । उता पंकजको प्यानलबाट खुल्ला सदस्य सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह ठकुरी, रमेशकुमार श्रेष्ठ, बिनोद लामा तामाङ, मणिकुमार लिम्बु, तपेश्वर कुर्मी, मानदेव हाजार, रविन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, दिपेन्द्र धिमालको उम्मेदवारी परेको छ । यससँगै खुला सदस्यमा कुल ३६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सदस्यमा बिमला पौडेल, सरिता श्रेष्ठ, बिन्द्रा देवन, पेमा डोल्मा लामा, विना नबाछे श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी ४ वर्षको कार्यकालका लागि हुन लागेको निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फा केन्द्रीय निर्वाचनका लागि १४ वटा ‘ए’ डिभिजन क्लब, १४ मध्ये ११ ‘बी’ डिभिजन क्लब र १४ मध्ये ९ ‘सी’ डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबले मतदान गर्न पाउनेछन् ।