पल्सर स्पोर्टस् अवार्ड: गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी
काठमाडाैं । पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जितेका छन् । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट खेलाडीका रूपमा घोषित भएका हुन् । गौरीकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् । गौरीकाले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक गरी नौ पदक जितेकी थिइन् । उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी थिइन् । गौरीकाले आठौँ राष्ट्रिय खेलकूदमा १२ स्वर्ण पदक जितेकी थिइन् । गौरीकाले कम उमेरमा ओलम्पिक खेल्ने कीर्तिमानसमेत बनाएकी थिइन् । उनले जापानको टोकियो ओलम्पिक खेल्ने पक्का भइसकेको छ । मण्डेकाजीले गल्फका सुवास तामाङ, तेक्वान्दोका कमल श्रेष्ठ, एनलेटिक्सका गोपीचन्द्र पार्की तथा फुटबलका विकेश कुथुलाई उछिन्दै उक्त अवार्ड जितेका हुन् । यी सबै खेलाडीले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक जितेका थिए । उक्त प्रतियोगितामा मण्डेकाजीले करातेतर्फ टिम काता र एकल गरी दुई स्वर्ण पदक जितेका थिए । उनले आठौँ राष्ट्रिय खेलकूदमा एकल कातामा स्वर्ण तथा टिम कातामा रजत जितेका थिए । महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो । गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । बङ्गलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । उक्त टोलीको प्रशिक्षक जगदीशप्रसाद भट्ट रहनुभएको थियो । सो प्रतियोगितामा नेपालले खेलेका सबै छ खेलमा विजयी भएको थियो । यस्तै गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो । महिला भलिबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो । नेपाली महिला टोलीले सागमा पहिलोपटक रजत पदक प्राप्त गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारसँग ३–२ सेटले हार व्योहोर्न पुगेको थियो । पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई भोटिङका आधारमा भएको पिपल्स च्वाइस अवार्डको उपाधि भलिबलकी कप्तान अरुणा शाहीले जितिन् । उनले सर्वाधिक मत प्राप्त गर्दै उक्त अवार्ड जितेकी हुन् । अरुणाले कूल ३७ दशमलव ५२ प्रतिशत प्राप्त गरिन् । उक्त विधातर्फ दोस्रो स्थानमा सागमा करातेमा दोहरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ रहे । उनले २८ दशमलव ४५ प्रतिशत मत प्राप्त गरे । तेस्रो स्थानमा बास्केटबलकी कप्तान सदिना श्रेष्ठ रहिन् । उनले १३ दशमलव १३ प्रतिशत मत प्राप्त गरिन् । चौथो स्थानमा रहनुभएकी पौडीकी गौरीका सिंहले १३ दशमलव तीन प्रतिशत तथा पाँचौँ स्थानमा रहेकी महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सात दशमलव दुई प्रतिशत मत प्राप्त गरिन् । अरुणालाई उक्त अवार्ड जिताउनका लागि पोखरामा अभियान नै शुरु गरिएको थियो । पोखरामा पुरुष भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सागमा नेपालले रजत पदक जित्दा शाहीले उत्कृष्ट कप्तानीको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जित्दा पनि उनले नै कप्तानी गरेकी थिइन् । यसैगरी उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जिते । उनले सागमा दुई स्वर्ण पदक जितेका थिए । सुवासले तेक्वान्दोका भूपेन श्रेष्ठ र सिना मादेन लिम्बू, भारत्तोलनकी सञ्जु चौधरी तथा जुडोकी पुनम श्रेष्ठलाई पछि पारेका हुन् । यसैगरी एउटै खेलबाट सर्वाधिक १२ स्वर्ण पदक दिलाउने तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्कीलाई उछिन्दै उक्त अवार्ड जितेका हुन् । टेवलटेनिसका ऐतिहासिक पदक विजेताद्वय गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । दुवै जना सन् १९९१ मा आयोजित पाँचौँ दक्षिण एशियाली खेलकूदका स्वर्ण विजेता हुन् । नेपाली महिला खेलाडीले सागमा जितेको त्यो नै पहिलो स्वर्ण पदक थियो । यस वर्षको स्पेसल अवार्ड एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा तेक्वान्दोकी आयशा शाक्यले संयुक्तरूपमा प्राप्त गरिन् । दुवै जना १३औँ सागका स्वर्ण विजेता हुन् । उनीहरु आ–आफ्नो खेलका लागि विशेष पदक जित्ने कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषीले सागमा महिला १० हजार मिटर दौडमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन् । यस्तै आयशाले १३औँ सागमा दुई स्वर्ण पदक जितेकी थिइन् । उनले तेक्वान्दोको पुम्सेतर्फ एकल तथा टिम स्पर्धामा स्वर्ण जितेकी हुन् । पारा एथ्लिट अवार्डबाट यस वर्ष ह्वीलचियर बास्केटबल तथा क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मान गरिएको छ । हरेक वर्षको विश्व खेलकूद पत्रकार दिवस, जुलाइ २ मा आयोजना गरिँदै आएको अवार्ड कोरोना महामारीका कारण यस वर्ष छ महिनापछि धकेलिएको हो । हंशराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजन रहेको अवार्डका वर्ष खेलाडी पुरुष, महिला, युवा खेलाडी तथा वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पुरस्कारस्वरुप प्राप्त गरेका छन् । अन्य विधाका विजेताले भने जनही ५० हजार पुरस्कार प्राप्त गरेका छन् । दश विधामा अवार्ड प्रदान गरिएको हो । वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल, लाइफटाइम अचिभमेन्ट, पिपुल्स च्वाइस, प्यारा एथलिट सम्मान, टिम अफ द इयर तथा अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता अवार्ड समावेश गरिएको थियो । ललितपुरको सातदोबोटोस्थित कराते हलमा कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रूपमा आयोजना गरिएको थियो । रासस
तीन दिनसम्म आंशिकदेखि सामान्य बदली हुने
काठमाडौं । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ । देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३ दशकमव ७ डिग्री रहेकामा आज २१ दशमलव ८ डिग्री सेल्सियस छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु कुहिराको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस छ । रासस
काभ्रेको रोशी गाउँपालिकामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, स्थानीय महिला लाभान्वित
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा स्त्री रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउँपालिकासंग सहकार्य गरी विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने स्त्री रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको हो । रोशी गाँउपालिकाको वडा नं १,२,३ र नमोबुद्ध नगरपालिकाको वडा नं ८ र ९ का स्थानीय महिलाहरुका लागि लक्षित गरी शिविरको आयोजना गरिएको विन्धवासिनी साकोस, भकुण्डे सेवा कार्यालयका कार्यालय ब्यवस्थापक राजेन्द्र श्रेष्ठले जानकारी दिए । धुलिखेल अस्पताल र रोटरी क्लब अफ पनौतीको प्राविधिक सहयोग तथा स्माईल केयर फार्मेसी बनेपाको ब्यवस्थापनमा रोशी अस्थायी अस्पतालमा संचालित शिविरमा १ सय ३० जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । ग्रामिण भेगका अधिकाशं महिलाहरुले आफु भित्र रहेको गुप्त रोगहरु अरुले केही भन्लान की भन्ने डर र लाजका कारण लुकाउने र पछि त्यही रोग फैलिएर क्यान्सरसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै संचालित शिविरबाट महिलाहरुले धेरै लाभ लिन सक्ने भएकाले शिविर निकै प्रभमवकारी रहेको धुलिखेल अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले बताए । पाठेघरको मुखको क्यान्सर परीक्षण सहित निःशुल्क औषधी वितरण गरिएको उक्त शिविरमा रोशी गाँउपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तोला, वडा श्रीदास लामा, बिन्धबासिनी साकोसका संचालक सदस्य भिमबहादुर के.सी, शिक्षा उप समितिका सदस्य प्रकाश कायस्थ, विभागीय व्यवस्थापक मित्रप्रसाद दाहाल, कार्यालय व्यवस्थापक राजेन्द्र श्रेष्ठ, स्माईल केयर फार्मेसीका निर्देशक पवन अधिकारी लगायतको सहभागिता रहेको थियो ।