औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध

काठमाडौं । ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता’ अर्थात् पितृले वाक्यको इच्छा गर्छन्, देवतालाई भाव भए पुग्छ । श्राद्ध अर्थात् पितृकर्ममा वाक्य मिलेन भने श्राद्ध गर्नुको अर्थ हुँदैन, व्यर्थ हुन्छ । यसैगरी श्राद्ध गर्दा तोकिएको समयमा गर्नुपर्छ । ब्राह्मणले धेरै घरमा सिध्याउन बिहानै श्राद्ध गराउन खोजेमा त्यसो गर्दा पनि पितृले नपाउने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । श्राद्धमा कर्ताले पालना गर्नुपर्ने एकछाकी बाहेकका सबै नियम निमन्त्रणा पाएको पुरोहितले पनि पालना गर्नुपर्ने शास्त्रीय विधि रहेको बताउँछन् । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई । श्राद्ध गराउने पुरोहितले पनि घरमा पूजा गर्नु नहुने शास्त्रीय वचन छ । नित्य पूजा गर्ने अरु कोही नभई गर्नै पर्ने भएमा पूजा गरिसकेपछि फेरि स्नान गरेर मात्र यजमान कहाँ श्राद्ध गर्न जानुपर्छ । पुरोहितले पनि निधारमा टीका लगाउनुहुँदैन । ‘कर्ता र पुरोहितको पनि निधारमा टीका देखेपछि पितृ निराश भएर फर्कन्छन्, यसैले पूजा गर्नै पर्ने भए पनि पानीको मात्र टीका लगाउनुपर्छ, पुरोहितले एक घरमा मात्र श्राद्ध गर्नुपर्छ,’ उनले भने । देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे ।। देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरुको नामोच्चारण गरी ब्राम्हणहरुलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ भनी विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । सोह्र श्राद्धमा कुनै एक पितृको मात्र नभएर दिवङ्गत भएका सम्पूर्ण पितृको सम्झनामा तर्पण दिई श्राद्ध गरिन्छ । आफ्नै घर हुनेले घरमा र घर नहुनेले नदीको किनारमा श्राद्ध गर्नुपर्छ । अघिल्लो दिनदेखि नै चोखो बसेर, कपाल काटेर श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । ब्रम्हाजीले बताएअनुसार श्राद्ध भनेको श्रद्धा अर्थात् विश्वास हो । दिवङ्गत पितृको कर्म गर्दा दिएको पाउनुहुन्छ भनेर श्रद्धा र विश्वासले ब्राम्ह्ण, गाई, अग्नि, नदी, दुःखी, गरिब, असहायमा समर्पण गर्नु श्राद्ध हो भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नेपाल धर्म र संस्कृतिले धेरै धनी रहेको छ । प्रत्येक दिनजसो एक न एक पर्व परेकै हुन्छ । चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । वर्षका चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह् श्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन कृष्ण औँसीसम्मका सोह् तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह् श्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । बढ्दो आधुनिकताका कारणले गर्दा कतिपय व्यक्तिलाई श्राद्धका नियम थाहा नहुन पनि सक्दछ । हरेक व्यक्तिको जिम्मेवारी बढ्दै गएको कारणले गर्दा आफ्नो संस्कार, मूल्य र मान्यतालाई बिर्सिदै जाने क्रम बढेको छ । समाजबाट सदाचार, संस्कार, नैतिक शिक्षा, असल समाज तथा राष्ट्र निर्माणका लागि नभई नहुने वस्तुको अभाव हुँदै गएको छ । पितृ खुसी हुनु भयो भने आयु, पुत्र, धन, विद्या, राज्य, सुख, स्वर्ग, मोक्ष प्राप्त हुन्छ । त्यसैले शास्त्रले पितृकर्मलाई अत्यन्त महत्व दिएको छ । देवताले दिने, पितृले हर्ने शास्त्रीय मान्यता नेपाली समाजमा रहँदै आएको छ । न सन्ति पितरश्चेती कृत्वा मनसि यो नर । श्राद्धम् न कुरुते तत्र तस्य रक्तं पिवन्ति ते ।। अर्थात् जसले पितृ छैनन् वा हुँदैनन् भनी श्राद्धादि कर्म गर्दैनन् भने त्यसको रगत पितृले पिउँछन् भन्ने वचन पनि ग्रन्थमा रहेको छ । भगवान् राम, भीष्मपितामह आदिले पनि श्राद्ध गर्नुभएको रामायाण, महाभारतलगायत ग्रन्थमा उल्लेख गरिएको छ । हाम्रा धार्मिक शास्त्रमा श्राद्ध धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । दिनदिनै गरिने नित्य श्राद्ध हो । वार्षिक एकोद्दिष्ट नैमित्तिक श्राद्ध, आफ्नो इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध, विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध, सपिण्डी श्राद्ध, पार्वण श्राद्ध, गोठमा गरिने गोष्ठी श्राद्ध, पितृ तृप्ति विद्धानको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो । सीमन्तोनयन, पुंसवन आदि संस्कारका निमित्त गरिने कर्मांङ्ग श्राद्ध हो । देवताका लागि गरिने दैविक श्राद्ध । देशान्तरमा जाँदा घ्यूले गरिने यात्रा श्राद्ध हो । शरीर स्वस्थ होस् भनी गरिने पुष्टिश्राद्ध हो । यसैगरी अर्को ग्रन्थमा पाँच प्रकारको श्राद्धको उल्लेख गरिएको छ । यो श्राद्ध भने आजकाल धेरै गरिएको देखिन्छ । यसमा नित्य, नैमितिक, काम्य, वृद्धि र पार्वण श्राद्ध रहेका छन् । हाम्रो समाजमा एकोद्दिष्ट बढी प्रचलनमा छ । पितृलाई वार्षिक रुपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । पितृको मृत महिना, पक्ष र तिथि याद गरी यो श्राद्ध गरिन्छ । वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ । सोह् श्राद्ध समेत भनिने पिता अर्थात् बाबुको जुन तिथिमा गरिन्छ । एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ । आश्विन कृष्ण पक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा पनि वर्णन गरिएको छ । पार्वण श्राद्धमा चार जना ब्राम्ह्ण चाहिने भएकाले ब्राम्ह्णको प्रतीक स्वरुप कुशको ब्राम्ह्ण थापिन्छ । पहिले–पहिले पार्वण श्राद्ध गर्दा चार जना ब्राम्ह्ण अगाडि राखेर पूजाआजा गर्ने परम्परा थियो । यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राम्हण राख्न थालिएको पण्डित देवकोटा बताउँछन् । दुवैपट्टि दुई÷दुई ब्राम्ह्णलाई क्रमशः विश्देव र पितृ ब्राम्ह्ण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव, मनुष्य, दिव्यपितृ र स्वपितृलाई तर्पण दिएर सुरु गरिन्छ । प्रत्येक ब्राम्हणलाई निमन्त्रणा गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअधि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो घर नभए पवित्र तीर्थस्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ । घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ । के हो पिण्ड पिण्ड भनेको ब्रह्माण्डको उत्तम वस्तुद्वारा निर्मित पितृलाई नाम गोत्रोच्चारणपूर्वक समर्पण गरिने पितृको भोज्य अर्थात् खाने पदार्थ हो । श्राद्धको दिन छोरीको छोरो नाति, कुश, तुलसी, कालो तिल, मासको बारा, अदुवाको भुजुङ्गो छोप चाहिन्छ । कर्ताले दिएको पिण्डको अन्न पितृलाई अमृत अवस्थामा प्राप्त हुन्छ । दैत्ययोनीमा गएको भए भोगरुपमा प्राप्त हुन्छ । पशु योनिमा तृण अर्थात् घाँसका रुपमा प्राप्त हुन्छ । सर्प योनिमा वायु रुपमा प्राप्त हुन्छ । यक्ष योनिमा गएको भए पान रुपले प्राप्त हुन्छ । मनुष्य योनीमा गएको भए अन्नका अनेक रुपमा प्राप्त हुन्छ । प्रेत योनिमा गएको भए रगतको रुपमा प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । पितृ पक्ष सोह् श्राद्धको अपराह्नकाल:  कुन तिथि कतिखेर गर्ने दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह् श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको हुन्छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह् श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचन अनुसार पञ्चाङ्गकार तोयनाथ पन्तको पात्रोका सम्पादक सूर्यनाथ पन्तले सोह् श्राद्धका सबै तिथिको समय निकाली सार्वजनिक गर्नुभएको हो । पितृ पक्षसमेत भनिने सोह् श्राद्ध यस वर्ष भदौ २६ गते आइतबार अर्थात् आजदेखि सुरु भएको छ । सोह्र श्राद्धमा अपराह्नकालमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय प्रमाण छ । आइतबार आज प्रतिपदा तिथिको श्राद्ध दिउँसो १३ ः १४ बजेदेखि १४ः १९ बजेसम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उनले जानकारी दिए । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा एवं पितृ ब्राह्मणको आह्वान र पूजा तोकिएको समयअघि नै गर्न सकिने विधि छ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । भदौ २६ गते आइतबार नै द्वितीया तिथि श्राद्ध दिउँसो १४ः०९ बजेदेखि सूर्यास्तपूर्व सम्मको समय दिइएको छ । भदौ २७ गते सोमबार तृतीया तिथि श्राद्धको समय १३ः३० बजेदेखि सूर्यास्त पूर्वसम्म गर्न सकिन्छ । भदौ २८ गते मङ्गलबार चतुर्थी तिथि श्राद्ध पनि १३ः१२ बजेदेखि सूर्यास्त पूर्व नै सक्ने गरी गर्नुपर्छ । यसैगरी पञ्चमी तिथि श्राद्ध भदौ २९ गते बुधबार दिउँसो १३ः बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा सक्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ ३० गते बिहीबार १३ः११ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ ३१ गते शुक्रबार १३ः११ बजेदेखि सूर्यास्त पूर्व सम्ममा गर्नुपर्नेछ । यस वर्ष असोज १ गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पञ्चाङ्ग पात्रोमा उल्लेख छ । अष्टमी तिथि श्राद्ध असोज २ गते आइतबार दिउँसो १३: ०९ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ । नवमी तिथि श्राद्ध असोज ३ गते सोमबार दिउँसो १३ः१० देखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध असोज ४ गते मङ्गलबार १३ः०९ बजेदेखि सूर्यास्त पूर्वको समयसम्ममा गर्नुपर्नेछ । एकादशी श्राद्ध असोज ५ गते बुधबार दिउँसो १३ः०८ बजेदेखि सूर्यास्त पूर्वको समयमा सक्ने गरी गर्नुपर्नेछ । द्वादशी तिथि श्राद्ध असोज ६ गते बिहीबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयमा सक्ने गरी गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध असोज ७ गते शुक्रबार १३ः०८ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गर्नुपर्नेछ । यसैगरी चतुर्दशी तिथि श्राद्ध असोज ८ गते शनिबार १३ः०६ बजेदेखि सूर्यास्त पूर्वसम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताए । औँसी तिथि श्राद्ध असोज ९ गते आइतबार दिउँसो १३ः०७ बजेदेखि सूर्यास्त पूर्वकै समयसम्ममा गरिसक्नु पर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ । यस्तो श्राद्ध पितृले पाउँदैनन् । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह् श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । पितृपक्ष अर्थात् सोह् श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले आश्विन शुक्ल पञ्चमीसम्म पनि गर्न शास्त्रसम्मत् हुने उनले सुनाए । यो समयमा पनि कारणवश सोह् श्राद्ध गर्न नसकिएमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कात्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दशैँ, तिहारजस्ता सनातन धर्मावलम्बीले मनाउने ठूला पर्वअघि श्रद्धा, भक्तिका साथ दिवङ्गत पितृलाई सम्झन सोह् श्राद्ध गर्न थालिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । रासस

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा, भूतप्रेत भाग्ने विश्वास

भक्तपुर । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका हुन् । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरेका थिए । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिएका थिए । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो । स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो । जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ । संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिए । उनले भने, ‘हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।’ शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताए । जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्याइएको थियो । डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उनको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो । धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् । आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ । आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७-१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् । शनिवार राति ९ बजे श्रेष्ठ दोस्रोपटक जिब्रो छेडेका हुन् । उनले यसअघि विसं २०७४ मा जिब्रो छेडाएका थिए । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक-पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो । विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुनः वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् । रासस

विराटचोकका भक्त : जीवनको ३७ वर्ष साइकललाई

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् । यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन् । उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर रहेको छ । सुरुमा यस क्षेत्रमा उहाँको बाहेक अरू कसैको साइकल बनाउने ठाउँ थिएन । अहिले भने यस क्षेत्रमा एक दर्जनभन्दा बढी साइकल मर्मत गर्ने ठाउँ रहेका छन् । कर्मका पुजारी तथा मेहनती भक्तबहादुरको जिन्दगी हिजोआज साइकल मर्मतबाटै बाँचेको छ । उमेरले सात दशकको घामपानी खेप्नुभएका भक्तबहादुर अहिले पनि १६ वर्षे जोश जाँगर लिएर साइकल बनाउने पेसामा रमाइरहेका छन् । उनको साइकल मर्मत गर्ने कामबाहेक जीविकोपार्जनको लागि अरु कुनै पेसा छैन । ‘देश विदेश गएर काम गर्नुभन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जनमूलक काम गर्नु राम्रो हुन्छ’, भक्तबहादुर बताउँछन् । केही सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने उनको भनाइ छ । भक्तबहादुर विगत चार दशकअघि सोलुखुम्बुबाट मधेस झरेका थिए । उनी सुरुमा साविक हरैँचा गाविसमा बसोबास गर्थिए । ‘सुरुमा हरैँचा सानो बजार थियो । विसं २०४५ तिर विराटचोकमा त झन केही नभएको पातलो बस्ती थियो, झुप्रा घर मात्रै थियो’, भक्तबहादुर बताउँछन् । भक्तबहादुरलाई मधेस झरेर हरैँचा आउँदा सुरुमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्यो । सामान्य परिवारमा जन्मिएका भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेसा व्यवसाय नभएका व्यक्ति थिए । उनले केही समय घुमफिर गरी बिताएको तथा मेकानिकका साथमा लागेर साइकल बनाउने काम भने सिकेका थिए । भक्तबहादुरले पछि साइकल बनाउने पेसालाई नै जीवनचर्या बनाउन पुगे । ‘यही मेरो स्थायी काम भयो’, उनले सुनाए । जुँघा पालेका भक्तबहादुर प्रायःजसो विराटचोक बजार आसपासमा खाली खुट्टा हिँडेको भेटिन्छन् । ‘बाघको जस्तो जुँघा पाल्नु मेरो सोख हो, खाली खुट्टा हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक र राम्रो हो’, उनी बताउँछन् । निरोगी तथा हृष्टपुष्ट शरीर भएकाले भक्तबहादुर अझै तगडै देखिन्छन् । उनको घरमा पहिले छ जनाको परिवार थियो । दुई सन्तानको विवाह गरेपछि चार जनाको परिवार अहिले साइकल बनाउने पेसाबाट पाल्ने गरेको साथै अरु कुनै पैसा आउने बाटो नभएको भक्तबहादुरले उल्लेख गरे । भक्तबहादुर अहिले साइकल मर्मतको कामबाट दुःख गरेर मासिक १५ हजार जति कमाउँछन् । यसैबाट घर परिवार चलाउँछन् । उनले सुकुम्बासी टोलमा बाँसको सानो घर बनाएका छन् । भक्तबहादुर त्यही घरमा दुःख सुख बस्छन् । मनमा कुनै छलकपट नभएको तथा खुला दिल भएको भक्तबहादुर सानो ठूलो कसैको भेदभाव नगरी राम्रो व्यवहार गर्न रुचाउँछन् । ‘मरेर लानु केही छैन, सबैसँग राम्रो बोली वचन गर्नुपर्छ, साधा जीवन उच्च विचार नै असल व्यक्तिको गुण हो’, उनी भन्छन् । लामो समयदेखि साइकल मर्मतको सीपमा लाग्नुभएका भक्तबहादुर साइकलको फ्रेम फिटिङ गर्ने, पम्चर टाल्नेलगायतका साइकलसँग सम्बन्धित सबै काम दिल दिएर गर्छन् । चिनेजानेका सबै उनको पसलमा राम्रो साइकल बनाउने बाजे भन्दै धाएर आउँछन् । पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउन आउनेले अहिले आधुनिक समयसँगै मोटरसाइकल तथा कार किनेको उनी उल्लेख गर्छन् । साइकल बनाउन सारोगाह्रो केही नभएकाले आफ्नो ध्यानै यसैमा भएको भक्तबहादुरले उल्लेख गरे । भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्नसमेत रुचाउँछन् । उनको भक्त साइकल स्टोरमा प्रायः सबै खालका पत्रपत्रिका आउँछ । रासस