मलेसियाविरुद्ध ५ खेलको सिरिज नेपालले जित्यो
काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टीट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डेले ११ रन जोडिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् भने विनिफ्रेड दुराईसिङ्घमले २५ बलमा २४ रन जोडिन् । त्यस्तै महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाइन् । बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिइन भने ईश्वरी विष्टले एक विकेट झारिन् । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपालले २७ रनले विजयी हुँदा चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हराएको थियो । रासस
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को १० खेल सम्पन्न
काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फर्म्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ । उक्त खेलमा महालक्ष्मी विकास बैंकका सागर गुप्ता म्यान अफ द म्यान घोषित भए । दोस्रो खेलमा प्राइम कमर्सियल बैंकले सिटिजन्स बैंकलाई १४ रनले हराएको छ । उक्त खेलमा प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्यलाई म्यान अफ द म्यानको उपाधि दिइएको छ । तेस्रो खेल राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकबीच भएको थियो । उक्त खेलमा राष्ट्रिय वाणिज्य बैंकले एनएमबीलाई ६ विकेटले हरायो । यस खेलमा राष्ट्रिय वाणिज्य बैंकका विवेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । चौथो खेल सनराइज बैंकले आइसिएफसी फाइनान्सलाई ४ विकेटले हराएको छ । उक्त खेलमा सनराइज बैंकका सुमन न्यौपानेलाई म्यान अफ द म्याच घोषणा गरिएको छ । पाँचौं खेलमा प्राइम बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई १०३ रनले हराएको छ । यस खेलमा प्राइमका विवेक दली म्यान अफ द म्यान घोषित भए । त्यसैगरी, छैटौं खेलमा एनआईसी एसिया बैंकले प्रभु बैंकलाई ३८ रनले हराएको छ । उक्त खेलमा एनआइसी एसियाका दिपन कार्कीलाई म्यान अफ द म्याच घोषित गरिएको छ । सातौं खेलमा हिमालयन बैंकलाई ३६ रनले हराउँदै आइसिएफसी फाइनान्स विजेता बन्यो । यस खेलमा म्यान अफ द म्याचको उपाधि सुरज तिमिल्सिनाले पाए । आठौं खेल एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकबीच भएकोमा राष्ट्रिय वाणिज्य बैंकले एनआइसी एसियालाई १८ रनले पराजित गरेको छ । यो खेलमा राष्ट्रिय वाणिज्य बैंकका सुशील देवकोटालाई म्यान अफ द म्याच घोषित गरिएको थियो । नवौं खेल लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकबीच भएको थियो । यो खेल कामना सेवाले ३८ रनले जितेको छ । यसमा कामना सेवाका छेतेन दोर्जी सेर्पा म्यान अफ द म्याच घोषित भए । गरिमा विकास बैंक र कुमारी बैंकबीचको १०औं खेलमा कुमारीले गरिमालाई ३ विकेटले हराएको थियो । यस खेलमा कुमारीका प्रतिज कर्माचार्यलाई म्यान अफ द म्याचको उपाधि दिइएको थियो । यो प्रतियोगितामा कुल ३१ खेल खेलिनेछ । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरेर खेलाइएको छ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्समा चलिरहेको छ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भइरहेको छ ।
हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल
काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् । यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिए । यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।’ समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताए । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गरेका उनले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताए । ‘समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु’, निर्देशक वलले भने, ‘नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।’ चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताए । उनले भने, ‘यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन् ।’ उनले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताए । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उनको भनाइ थियो । हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए । ‘हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो । त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौं’, निर्देशक वलले भने । अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताए । उनले भने, ‘यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’ भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छन् ।