सन्दीप लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिँदै

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

‘प्रेमगीत ३’ ले दुई सातामा कमायाे ३४ करोड १३ लाख रुपैयाँ

काठमाडौं । ‘प्रेमगीत ३’ ले दुई सातामा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको छ ।निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार प्रेमगीत ३’ ले दुई सातामा विश्वव्यापी रुपमा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको हो । फिल्मले नेपालबाट मात्रै ११ करोड ८१ लाख रुपैयाँ र भारतबाट ५ करोड ३२ लाख भारु कमाएको छ । यस्तै फिल्मले नेपाल र भारत बाहेक अन्य देशहरुबाट दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य कलाकारको रुपमा रहेका छन् । हिन्दी र नेपाली संस्करणमा रहेको यस फिल्मले सुरुवाती चरण देखि नै निकै चर्चा कमाइरहेको छ ।

काठमाडौँ उपत्यकासहित पश्चिममा भारी वर्षा, काठमाडौँमा कतिबेला रोकिन्छ ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ । आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ । वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ । “उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३/४ बजेतिर पानी रोकिन्छ” उनले भने, “सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन । मौसम खुल्ने सम्भवाना छैन, बदली रहन्छ ।” उनले यो प्रक्रिया अझै २/३ दिन रहने जानकारी दिँदै भने, “पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ । यो प्रक्रिया अझै २/३ दिनसम्म रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ ।” उनका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ ।