भारतीय चलचित्र प्रदर्शनमा निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि भारतीय चलचित्र प्रदर्शन रोक लगाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गर्ने बताएका हुन् । भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको बताएका हुन् । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको उनको भनाइ छ । ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ, उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ, उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने । शाहले काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताएका छन् । उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको शाहले स्पष्ट गरेका छन् ।

सफलता सम्भव छ पुस्तक लोकार्पण, प्रेरक विषयका ४१ लेख समावेश

काठमाडौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को लोकार्पण भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तकको लोकार्पण नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका थिए भने लेखक डा. मदन बिष्ट र पत्रकार रोहित भण्डारीले पुस्तकमाथि समिक्षा गरेका थिए । लेखकले सरल भाषमा सकारात्मक सोच र उत्प्रेरक विषयहरु प्रस्तुत गरेका छन् । पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक विषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धर्य, व्यवहार, एसम्यमान लगायत विभिन्न विषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् । पुस्तकमा संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वी नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जीवनमा घटेका केहि प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ । पुस्तकबारे टिप्पणी गर्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष पौडेलले यस्तो किताव संघ तथा प्रदेशका सांसददेखि उच्च तहमा बसेर नीति निर्माण गर्ने, सरकारमा बसेर निणर्य गर्नेहरुलाई पढाउनु पर्ने बताए । ‘युवा पुस्ता पढेलेखेका छन्, जान्नु बुझ्ने छन् तर नीति निर्माताहरुले राम्रो गर्न सकिरहेका छैनन् । देशको नेतृत्व गर्ने ठाउँमा बसेकाहरुबाट आशा जगाउने काम हुन सकेको छैन’ उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले यस किताव पढेपछि युवा पुस्ता नेपाल छोडेर विदेश जान कम हुने विश्वास व्यक्त गरे । ‘अहिले युवाहरु लर्को लागेर देश छोड्दैछन् । यो किताव पढाउन सक्यो भने उनीहरुले पनि नेपालमा नै भविष्य देख्थे होलान, नेपाल मै बसेर काम गर्दथे होलान’ केसीले भने । पुस्तकबारे टिप्पणी गर्दै पत्रकार रोहित भण्डारीले हरेक पाठकलाई उर्जाशिल बनाउन योगदान गर्ने बताए । सफलता सम्भव छ पुस्तकका लेखक मल्लले मानिसमा सकारात्मक उर्जा प्रदान गर्न पुस्तक सहयोगि हुने विश्वास व्यक्त गरे । बैदेशिक रोजगारी, शिक्षण हुँदै दुई दशक भन्दा बढी बैकिङ व्यवसायमा संलग्न डा मल्ल एनएमबी बैंकका उप-प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

राइजिङ स्टार खुला टेनिस यू–१४ सिंगल्सको उपाधिबोरिस र शिभालीलाई

काठमाडौं । राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू–१४ सिंगल्सको उपाधि बोरिस अधिकारी र शिभाली गुरुङले जितेका छन् । बोरिसले ब्वाइजतर्फको र शिभालीले गल्र्सतर्फ उपाधि सुरक्षित गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार सम्पन्न ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई सीधा सेटमा ६–० र ६–१ ले सहजै हराइन् । राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशीको टेनिस प्रतियोगिताअन्तर्गत यू–१६ सिंगल्सको ब्वाइजमा शंकर हैस्नान र गल्र्समा सुनिरा थापा पहिलो भए । फाइनलमा शंकरले राजवीर प्रधानलाई ४–६, ६–४ र ६–१ को सेटमा पाखा लगाए । सुनिराले शिभालीलाई दोहोरो स्वर्ण जित्नबाट रोक्न ६–२, ५–७ र ६–१ को नतिजामा विजयी भइन् । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकीजुवेन रावत र आरभ सम्राट हाडाको जोडी पहिलो बनेका छन् । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पन्छाए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६–४ र ६–२ ले स्तब्ध पार्दै स्वर्ण जिते । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६–० र ६–२ को सहज जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६–७, ७–५ र १०–५ तथा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६–२ र ६–० ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त प्रतियोगिताको फाइनलसँगै पुरुष÷महिला सिंगल्सको पनि फाइनल हुनेछ ।