डा. रमेश बलायरको मनको बिम्बबाट नामक कविता संग्रह सार्वजनिक
काठमाडौं । डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई साझा प्रकाशनले प्रकाशन गरेको छ भने वोदि बुक्स एण्ड वेक्स नक्सालले एक भव्य समारोहकाबीच कृतिलाई पाठकमाझ सार्वजनिक गरेको छ । १८८ पृष्ठको यस कविता संग्रहमा लेखक डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई दर्शाउन खोजेका छन् । उनले कवितामा आफ्नो राष्ट्रप्रतिको चिन्ता, जीवनका भोगाइ, महिला सशक्तिकरणका कुरा र हालको राजनीतिक परिदृश्यलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गरेका छन् । उनले कविताहरुमार्फत युवा जनशक्तिलाई सकारात्मक सोच र कार्यका लागि प्रेरित गरेका छन् । डोटीको विकट गाउँमा जन्मेका बलायर मेहनत र लगानशीलताका पर्यावाची हुन् भन्दा अतिशयोक्ति नहोला । आईओवा स्टेट यूनिर्भर्सिटी अमेरिकाबाट समाजशास्त्रमा विद्यावारिधी गरेका बलायर सोही यूनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा संलग्न रहेका छन् । महिला सशक्तिकरण, साना किसान, खाद्य सुरक्षा र गरिबी निवारणजस्ता अनुसन्धानात्मक क्षेत्रमा रुचि राख्ने बलायरले अमेरिकी कांग्रेस, नेपाल सरकार, इजरायल दूतावास, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेर लामो अनुभव बटुलिसकेका छन् । सो समारोहमा साहित्यकार डा. गोविन्द कुसुमले डोटिको विकट ठाउँमा जन्मिएर पनि लेखक बलायरले विभिन्न संघर्ष र लगनशीलताका साथ अमेरिका जस्तो देशको प्रतिष्ठित यूनिभर्सिटीमा आफूलाई चिनाउनु सबै नेपालीका लागि गर्वको विषय भएको बताए । यस्तै, बलायरको कविता संग्रहले मानव जीवनको संघर्ष, साधना, लगनशीलता, र धैर्यतालाई उजागर गरेको कुसुमले बताए । उनले बलायरलाइ बधाई दिँदै आगामी दिनहरुमा साहित्य क्षेत्रमा थप कलम चलाउन आग्रह समेत गरे । समारोहमा आख्यानकार बुद्धीसागरले यस कविता संग्रहले आफूलाई समेत विगतमा फर्किएर आफ्नो जीवन संघर्ष र बाल्यकाललाई नियाल्न बाध्य बनाएको बताए । उनले कविता लेखनले मानिसलाई मनोरञ्जन मात्र दिने नभई यसले मानसिक स्वास्थ्य व्यवस्थापनमा पनि उत्तिकै भूमिका खेल्ने बताए ।
भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता
गण्डकी । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ कोे बजेटमा यसको सुनिश्चितता गरिएपछि पुनःनिर्माणको सुनिश्चिता भएको हो । भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुनःनिर्माण सुरु हुने भएको छ । त्यस्तै भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रको क्षमता विकास गरिने भएको छ । भवन अभावले समस्यामा परेको यस अस्पतालको क्षमता विकासको कार्यले अस्पतालेका सेवा विस्तार र बिरामीको सेवा सहजीकरणमा टेवा पुग्ने अस्पतालले अपेक्षा लिएको छ । भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट विनियोजन गरेको छ। त्यसैगरि बजेटमा उल्लेख गरिएका ठूला परियोजनामध्ये भक्तपुरमा सबैभन्दा धेरै खानेपानी तथा सरसफाई क्षेत्रमा योजना समेटिएको छ । यस शीर्षकमा चार योजना समेटिएका छन । काठमाडौँ उपत्यकाको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि भक्तपुरको महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गर्ने भएको छ । यसले भक्तपुरका बासिन्दाको खानेपानी, सिँचाइको आवश्यकतालाई पूरा गर्ने अभियानको सुरुआत भएको चाँगुनारायण नगरपालिकाकाले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत भक्तपुर, थिमि, पेप्सिकोला क्षेत्रमा पाइपलाइन निर्माण गरिने तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत निर्माणाधीन भक्तपुरको दधिकोट खानेपानी आयोजना आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गर्नुले खानेपानीको अभावपूर्तिमा राहत पुग्ने विश्वास लिएको छ । राष्ट्रिय अभियानको रुपमा सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरी भक्तपुरको कटुञ्जे ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने बजेटले व्यवस्था गरेको छ । हिंसापीडित महिलाको पुनःस्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मङ्गला–साहना पुनःस्थापना केन्द्र निर्माण गरिने बजेटले व्यवस्था गरेको छ । सडक पूर्वाधारतर्फ बजेटमा भक्तपुरको ठूलो परियोजनाअन्तर्गत यातायात पूर्वाधार शीर्षकमा सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छ । रासस
पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी कास्कीमा अग्लो शिवपञ्चायन मन्दिर निर्माण
गण्डकी । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब ९० लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्यागोडा शैलीमा निर्मित मन्दिर ४६ फिट अग्लो र पशुपतिनाथकै स्वरुपमा चारतर्फ नै ढोका राखिएको छ । यो कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर रहेको दाबी गरिएको छ । मन्दिरभित्र गणेश, सूर्य, देवी, शिव, विष्णुका मूर्तिका साथै रामसीता, राधाकृष्ण भगवानका मूर्ति स्थापना गरिएको छ । मन्दिरलाई पोखराको विशष्टि धार्मिक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ दर्शनार्थीले सेती नदीको जलले स्नान गर्नसक्ने गरी १०८ धारा, यज्ञकुण्ड आदि स्थापना गरिने उनले जानकारी दिए । तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको समयमा २०७५ सालमा मन्त्रालयबाट १५ लाख रुपैयाँ प्राप्त गरी सुरु गरिएको मन्दिरको निर्माणमा गोशली हाउसबाट १० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट तीन चरणमा गरी १५ लाख रुपैयाँ र अन्य विभिन्न सहयोगदाताको सहयोगमा निर्माण गरिएको हो । आगामी दिनमा मन्दिरमा भक्तजनबाट प्राप्त हुने दान तथा सहयोग यसको संरक्षण र विकाससँगै गुरुकुलको दिगो सञ्चालनका लागि उपयोग गरिने अध्यक्ष अधिकारीले बताए । विसं १९५८ मा राजकीय भाषा पाठशालाका रुपमा स्थापित गण्डकी क्षेत्रकै पुरानो यस विद्यालयमा हाल दुई सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद सिग्देलले जानकारी दिए । जसमध्ये ३३ जना विद्यार्थीले गुरुकुलका रुपमा आवाशीय अध्ययन गरिरहेका छन् । नवनिर्मित मन्दिरको यही जेठ १९ गते भव्य समारोहका बीच समुद्घाटन एवं मूर्तिको प्राणप्रतिष्ठा गर्ने तयारी भइरहेको प्रचारप्रसार उपसमितिका संयोजक श्रीकान्त खतिवडाले जानकारी दिए । रासस