जग्गा खरिद गरेको १५ वर्षपछि भोजपुरमा रंगशाला निर्माणको काम अगाडी बढ्यो

टक्सार (भोजपुर) । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निराश देखिएका थिए । विसं २०६४ मा खरिद भएको जग्गामा अहिले आएर भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहको छ । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर विभिन्न खेलकुद गतिविधि भई रहने र खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा पनि चिनिन्छ । भौतिक पूर्वाधारका अभावमा पनि यहाँका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा भाग लिएका छन् । उचित भौतिक संरचनाको निर्माण कार्य भने नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टनका खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी पनि जिल्लाकै हुन् । जिल्लामा व्यवस्थित रङ्गशाला अभावमा भने हरेक खेलकुद प्रतियोगिता प्रभावित हुँदै आइरहेका छन् तर पछिल्लो समयमा आएर जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि सदरमुकाममा रङ्गशालाका साथै ग्रामीण क्षेत्रमा समेत खेल मैदान बन्नेक्रममा छन । खेलकुद क्षेत्रमा अहिले हुँदै आएको परिवर्तन भने सह्रानीय भएको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवाल बताउँछन् । अन्तर्राष्ट्रियस्तरका गोल्डकपसमेत सञ्चालन हुने जिल्लामा रङ्गशाला र खेल मैदान निर्माणले सबै उत्साहित बनेका छन् । अध्यक्ष सुवाल प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचनासमेत बन्ने चरणमा रहेकाले अबको केही वर्षभित्रमा खेलकुदका गतिविधिसमेत जिल्लामा अझै बढ्ने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म त भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था छ, भोजपुर नगरपालिका–७ को कोदारमा निर्माण भइरहेको रङ्गशाला निर्माणको अन्तिम चरणमा पुगेको छ, यो पूरा भएमा प्रतियोगिता सञ्चालनमा सहजता हुन्छ, ठूला प्रतियोगितासमेत जिल्लामा नै सञ्चालन गर्न सकिन्छ ।’ प्रदेश सरकारको १४ करोड पाँच लाखको लागतमा सो रङगशाला निर्माणाधीन छ । आगामी २०८० सालसम्ममा निर्माण अवधि रहे पनि अवको केही समयभित्रमा काम सम्पन्न हुने निर्माण व्यवसायी श्याम श्रेष्ठले जानकारी दिए । तोकिएको समयअघि नै सक्ने लक्ष्यका साथ रायमाझी मार्सेली निर्माण जेभीले रङ्गशाला निर्माणको काम गरिरहेको छ । करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले जिल्लावासीलाई थप उत्साहसमेत जगाएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगितासमेत भइरहेको अवस्थामा रङ्गशालाको निर्माणले खेल मैदानको समस्या दीर्घकालीनरुपमा समाधान हुने खेल अभियन्ता विनम श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘खेल मैदान सानो हुँदा ११ खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, फुटबल मात्र होइन जिल्ला तहमा हुने अन्य खेलसमेत प्रभावित बनेका थिए ।’ जिल्लामा ढिलै भए पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनिरहेको छ । यसले खेल क्षेत्रको विकाससँगै खेलाडीमा उत्साहको रङसमेत भरेको छ । मापदण्डअनुसारका खेल मैदान नहुँदा सोचेजस्तो खेलाडीको वृत्तिविकाससमेत हुन सकिरहेको थिएन । सदरमुकाममा मात्र होइन अहिले स्थानीयतमा पनि साना ठूला रङ्गशाला बन्दै छन् भने कतिपय ठाउँमा बन्ने चरणमा छन । दुर्गम गाउँमा जन्मिएर विश्वमा समेत नाम कमाउन सफल अल्ट्रा धाविका मीरा राईको सम्मानमा पूर्वी पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा ‘मीरा राई रङ्गशाला’को निर्माण कार्यसमेत थालिएको छ । पौवादुङमा गाउँपालिकाले ५६ करोडको लागत रहेको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको हो । अल्ट्रा धाविका राईको सम्मानमा निर्माणाधीन रङ्गशाला निर्माणमा आफु लागि परेको गाउँपालिकाका अध्यक्ष किरण राईको भनाइ छ । उनी भन्छन्, ‘हामीले सवैको साथ सहयोग लिएर रङ्गशाला निर्माणको काम पूरा गर्ने लक्षका साथ काम अगाडि बढाएका छौँ ।’ यसलाई पूरा गर्न जिल्लावासीका साथै सबै पक्षको साथ सहयोग आवश्यक छ । खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्दै आइरहेकाकाले जिल्लामा पछिल्लो समयमा स्थानीय तहहरुमा समेत खेल मैदानसहित खेल क्षेत्रको विकास सुरु भएको छ ।

एमबान स्पोट्र्स मिट २०२२ सम्पन्न

काठमाडौं । नेपालमर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर हेल्दी लाइफस्टाइल’ भन्ने नाराका साथ एमबान स्पोट्र्स मिट २०२२ भदौ १७ गते सम्पन्न भएको छ । स्पोट्र्स मिटको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यता भएको थियो । खेल उद्घाटनमा नेपाल मर्चेन्ट बैंकर संघका अध्यक्ष मेख बहादुर थापाले अतिथि तथा सहभागिहरुलाई मन्तव्यमार्फत् स्वागत गरेका थिए । साथै उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लि. काप्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, सिडिएस एण्ड क्लियरिङ्ग लि. का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र नेपालब्रोकर्स संघका अध्यक्ष सन्तोष मैनालीको पनि सहभागिता रहेको थियो । स्र्पोट्स मिटमा नेपालमर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नेपाल धितोपत्रबोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लि. को बिभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागीता रहेकोछ । बिभिन्न खेलकुद प्रतियोगिताहरु अन्तर्गत मिति २०७९ भाद्र १७ गते टेबलटेनिस र ब्याटमिण्टनका बिभिन्न विधामा प्रतिस्पर्धा सम्पन्न भएका छन् । जसमा ब्याटमिण्टन प्रतियोगिता अन्तर्गत भएका खेलहरुमा पुरुष डवल तर्फ विजेता नेपाल एसबिआई मर्चेन्ट् र उप विजेतामा नागरिक लगानी कोष भएको छ । त्यसै गरी महिला डवल तर्फ विजेता प्रभु क्यापिटल र उपविजेतामा ग्लोबल आइएमई क्यापिटल भएका थिए । सोहि दिन सम्पन्न भएका टेबल टेनिस प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरुमा पुरुष सिंगल तर्फ विजेता एनआईबिएल एस क्यापिटल र उपविजेताकुमारी क्यापिटल साथै महिला सिंगल तर्फ विजेता र उपविजेता सिद्घार्थ क्यापिटल रहन सफल भएका थिए । त्यसै गरी टेबल टेनिस भेट्रान अन्तर्गत भएका प्रतियोगिताहरुमा विजेता र उप विजेता ग्लोबल आइएमई क्यापिटल रहन सफल भएका थिए । उक्त स्र्पोट्स मिट अन्तर्गत हुने फुटसलका प्रतिस्पर्धाहरु यहि मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा १३ वटा टिमबीच प्रतिस्पर्धा सम्पन्न हुनेछन् । साथै, मिति २०७९ भाद्र २५ गते सम्पूर्ण खेलहरुको पुरस्कार वितरण तथा प्रतियोगिता समापन ढुकु फुटसल हवमा नै विशेष कार्यक्रमका बिच गरीने आयोजकले जनाएको छ ।

मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आएकी छन् । चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो । कमैया मुक्तिको घोषणा भएपछि पुनःस्थापन हुँदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई कट्ठा जग्गामा चौधरीले घर बनाएकी छन्। बाँकी तीन कट्ठा जग्गामा तरकारी खेती गर्छिन् । तरकारी खेतीले वर्ष भरिको घरको खर्च चल्छ । ‘विगतमा घरखर्च चलाउनकै लागि मजदुरी गर्नु पर्ने बाध्यता थियो’, उनले भनिन्, ‘तरकारी खेती गर्ने तौर तरिका सिकेपछि यसबाटै सहजरुपमा घर खर्च चल्न थालेको छ, वर्षभरि तरकारी खेती हुन्छ, त्यही तरकारी खेतीले जीवन धानिएको छ ।’ चौधरीले वर्षमा तीन पटकसम्म तरकारी रोप्नुहुन्छ जसबाट वार्षिक रुपमा पाँच लाख जति आम्दानी हुन्छ । हिउँदको समयमा बस्ती नजिकै भएर बग्ने वनहरा नदीको बगरमा बगर खेती गर्नुहुन्छ । त्यसबाट दुई लाख जति आम्दानी हुन्छ । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि दश कट्ठा जग्गाको वार्षिकरुपमा रु १० हजार भाडा तिर्ने गरी लिजमा लिएकी छन् । अन्नको जोहो गर्नका लागि स्थानीय बासिन्दाको दुई बिघा जग्गा अधियासमेत उहाँले कमाउने गर्दै आएकी छन् । ‘छोरालाई महेन्द्रनगरमा डेरामा राखेर स्तरीय विद्यालयमा पढाउँदै आएको छु’, उनले भनिन्, ‘तरकारी खेतीको कमाइले सबै धानिएको छ‘, ‘बिरामी पर्दा, घरको गर्जो टार्न, बालबालिकाको विद्यालयको खर्च चलाउन र अरु कार्यका लागि कसैसँग कमैया मुक्ति पछि हात थाप्नुपरेको छैन, पाखुरी खियाएर, मिहिनेत गरी आम्दानी गर्दै आएको छु, यसमा परिवारले साथ दिँदै आएका छन्’, चौधरीले गर्व गर्दै भनिन्। चौधरीले १३ वर्षको उमेर छँदै चार वटा जमिन्दारको घरमा कमैया बसेर काम गरेकी थिइन्। दत्तरामजस्तै बस्तीका २० मुक्तकमैया परिवारले बर्सातमा काँक्रा, लौका, बोडी, भिन्डीलगायतको तरकारी खेती गर्दछन् । हिउँदमा दुई पटक काउली, बन्दागोभी, टमाटर, लौका, खुर्सानी, हरियो सागपातलगायतको तरकारी रोपेर आम्दानी लिन्छन । जेठ, वैशाखमा प्लाष्टिकको टनेलभित्र काँक्रो रोप्ने गरेका छन् । माघ महिनादेखि जेठको अन्त्यसम्म नदीको बगरमा लौका, फर्सी, काँक्रो, तरभुजा खेती गरेर आम्दानी लिन्छन् । ‘तरकारी खेती गरेर यति धेरै आम्दानी हुन्छ भन्ने पहिला थाहा थिएन’, सैवनिया वडायकले भने, ‘परिवारका श्रीमान श्रीमती दुवै जना मजदुरीमा जाने गरेका थियौँ, त्यसबाट दैनिक खर्च चलाउनसमेत निकै समस्या हुन्थ्यो, कुनै दिन मजदुरी नपाइदा भोकैसमेत बस्नुपर्ने अवस्था आइलाग्दथ्यो ।’ ‘पुनः स्थापन हुँदा पाइएको पाँच कट्ठा जग्गामा बालुवा मिश्रित माटो भएकाले अन्न फल्दैनथ्यो, कुन माटोमा कुन बाली सप्रिन्छ भन्ने कुरा तत्कालीन कृषि विकास कार्यालयले दिएको तालिममा सिक्यौँ’, उहाँले अनुहार हसिलो पार्दै भने, ‘त्यस पछि तरकारी खेती गर्न थाल्यौँ । तरकारी खेती गर्न थालेपछि पैसाले हात कहिल्यै रित्तो भएको छैन । विगतको जस्तो मजदुरी खोज्दै जानुपर्ने पनि छैन ।’ ‘मिहिनेत गरे खेतमै पैसा फल्छ भन्थे, पत्याएको थिइन्, थोरै जग्गामा दैनिक मिहिनेत गर्छौं, तरकारी फल्छ, बेच्छौँ, पैसा नै पैसा हुन्छ’, उनले भने । तरकारी खेती गर्नमा निपुण भएपछि वर्षभरिनै यसै खेतीलाई निरन्तरता दिँदै आएका जानकारी रानाले वर्षमा चार पटक तरकारी खेती गर्दै आएको बताउँछिन् । ‘पहिला घरमा पैसाको समस्या परे साहु महाजनसँग गुहार्नु पर्दथ्यो’, उनले भनिन्, ‘अहिले आँफै कमायो, खर्च ग¥यो, भविष्यका लागि रकम बचत ग¥यो, कुनै रोक तोक छैन, साहु महाजनसँग कर्जा माग्न जाने झन्झट छैन । के लगाउन, के खाउ भन्ने पनि छैन, तरकारी बेचेर आएको पैसाले घरको सबै खर्च चलेको छ ।’ बगरमा उत्पादित तरकारी गहुँलगायतका अन्नसँग साटेर लिने भएकाले अन्नको अभाव नहुने बरु बढी भएको अन्न बेचेर अरु कार्यका लागि खर्च गर्दै आएको उनले बताए। गएको एक महिनामै काँक्रो मात्रै बिक्री गरेर रु २५ हजार बढी आम्दानी गरेको विमल रानाले बताए। ‘मौसमी तरकारी खेतीमा बजारमा निकै प्रतिस्पर्धा हुने भएकाले मूल्य कमै पाइन्छ’, उनले भने, ‘बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी हुन्छ । प्रतिस्पर्धा कमै हुने भएकाले आम्दानी चाहेअनुसारकै हुन्छ ।’ बस्तीका व्यावसायिक तरकारी खेतीमा संलग्न मुक्तकमैया कोही पनि अब मजदुरीमा जाँदैनन् । तरकारी खेतीको कमाइले धेरै परिवारले पक्की घरसमेत निर्माण गरेका छन । केही निर्माण गर्ने तर्खरमा लागेका छन् । तरकारी बजारसम्म बोक्नसका लागि सबै जनासँग मोटरसाइकलको व्यवस्था रहेको छ । बाह्रै महिना तरकारी खेती गर्ने थोरै भए पनि बगर खेती गर्नेको सङ्ख्या भने ७० बढी रहने गरेको छ । नगरपालिकको कृषि शाखाका प्रमुख लालबहादुर धामीले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा प्लाष्टिक घर, बीउबिजन, कृषि औजार र यन्त्र उपलब्ध गराइँदै आएको बताउँछन । उनका अनुसार किसानलाई मागअनुसारको बेलाबेलामा तालिमको समेत व्यवस्था गरिँदै आएको छ । डकर्मी, कारपेन्टर, प्लम्बिङको सीप सिकेका भने अरु कहाँ अहिले पनि काममा जाने गरेका छन् । तरकारी खेतीमै संलग्नजस्तै अरु सीप सिकेकाले पनि आम्दानी गर्दै आएका छन् । बस्तीमा दुई सय बढी परिवारको बसोवास रहेको छ ।