प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई

काठमाडौं । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार आइसफल डाक्टरले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन । आइसफल डाक्टरले सगरमाथाको साउथ कोल चौथो शिविरसम्म बाटो बनाइसकेका छन् । उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ डोरी टाँग्ने गरेपछि मात्रै सगरमाथा आरोहण शुरु हुन्छ । पश्चिमी र स्थानीय वायुको प्रभावले एक सातादेखि बिग्रिएको मौसम शुक्रबारदेखि क्रमिक रुपमा सुधार आएको छ । दुई दिनदेखि राजधानी काठमाडौंसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ । देशभरको मौसममा सुधार आएपनि आरोहणको सङ्घारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीब्र वेगको हावा चलिरहेको छ । उक्त क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधार आउन नसकेको हो । ‘सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर, सात हजार ५०० मिटरभन्दामाथि तीव्र बेगको हावा चलिरहेकाले माथि जानसक्ने अवस्था नै छैन, वैशाख २६ र २७ गतेसम्म नै यस्तो हावा चलिरहने देखिन्छ’, उनले भने । अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौं फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिकरुपमा सुधार हुँदैगएको छ । केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन । “सगरमाथा क्षेत्रमा केही बादल लागेको छ, अपरान्हतिर सगरमाथाको माथिल्लो भेगमा बादल बढेर हल्का वर्षा हुने देखिन्छ”, उनले भने । महाशाखाले हरेक दिन साँझ सगरमाथालगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ । पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ । महाशाखाको लुक्ला स्टेशनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ । महाशाखाले सगरमाथा, अन्नपूर्ण क्षेत्रलगायतमा सरसफाई अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद लामिछानेले जानकारी दिए । मौसम अनुकूल भइदिएको भए यही वैशाख २१ गते बिहीबार सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने रोप फिक्सिङ गर्ने योजना रद्द भयो । झण्डै दुई सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले मौसमले साथ दिएमा वैशाख २९ गते सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु हुने विश्वास व्यक्त गरे । ‘सगरमाथा क्षेत्रको मौसम अझै पूर्णरुपमा सुधार आएको छैन, शुक्रबारको तुलनामाभन्दा आज मौसम राम्रो छ, आशा छ, वैशाख २९ सम्म चुचुरोसममको बाटो खुलाउने योजना साकार हुनेछ’, उनले भने । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपिसिसीले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतिक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतिक्षारत छन् केही आरोहीले आधार शिविरबाट विभिन्न शिविरतिर सामान ओसारिरहेका छन् । आरोहणका लागि सिजनमा विभिन्न कम्पनीले छुट्टाछुट्टै निकायबाट मौसम रिपोर्ट लिन्छन् । ‘वीन्डी एप’, ‘निम्सदाई स्टोर एप’ लगायतबाट मौसम रिपोर्ट लिइने गरिएको छ । विभिन्न मुलुकबाट आएका आरोहीले सम्बन्धित मुलुकबाट मौसमी विवरण लिएर आरोहणमा निस्कन्छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सगरमाथा क्षेत्रमा मौसम क्रमिक रुपमा सुधार हुँदै गएको बताए । उनले भने, ‘सगरमाथा क्षेत्रमो मौसम सुधार भइरहेको छ, म आफू पनि आधार शिविर पुगेर आजै फर्किदैँछु । आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा आराम गरिरहेका छन् ।’ वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमा ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, एसपिसिसी र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ । रासस

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गरेका हुन् । साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मानित गरेको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति वाइडेनले सो अवार्ड प्रदान गरेका थिए । सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेको थियो । हाल उक्त कम्पनीमा २६ जना कर्मचारी कार्यरत छन् । यो अवार्ड नेपाली मूलका अमेरिकीलाई पहिलो पटक प्रदान गरिएको हो । अमेरिकामा साना तथा मझौला उद्योग तथा व्यवसायका रुपमा सञ्चालनमा आएका करिब तीन करोड ३१ लाख ८५ हजार कम्पनी रहेको तथ्याङ्क छ । यस्ता साना व्यवसायीले छ करोड १७ लाख जनालाई रोजगारी दिएका छन् । कम्पनीको पुँजी र रोजगारीका आधारमा साना तथा मझौला उद्योगका रुपमा वर्गीकरण गर्ने गरिन्छ । अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित हुँदै आएको उक्त कम्पनीको अध्यक्ष डा भण्डारी हुनुहुन्छ भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’ को जिम्मेवारी सम्हाल्नुहुन्छ । साउथ डकोटा स्टेट् युनिभर्सिटीबाट विद्यावारिधि गरेका भण्डारीले हार्डवर्ड स्कूल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रुपमा एक वर्ष कामसमेत गरेका थिए । अवार्ड प्राप्त गरेपछि भण्डारी र पौडेलले ह्वाइटहाउसले व्यवसायीका रुपमा गरेको सम्मानबाट पहिलो नेपाली अमेरिकी बन्न पाउँदा आफ्नो कामले सफलता चुमेको टिप्पणी गरे । अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारीसको उपस्थितिमा सो समूह सम्मानित भएको थियो । ‘यस्तो अवार्ड प्राप्त गर्नु मेरा लागि गौरवको क्षण हो, यो मेरो र श्रद्धाका लागि जीवनकै महत्वपूर्ण समय हो’, पौडेलले भने । उनले भने, ‘भेटका क्रममा राष्ट्रपति वाइडेनसँग केही संवाद पनि भयो । राष्ट्रपति वाइडेनसँग मैले म नेपालबाट आएको एक आप्रवासी हुँ र मैले अमेरिकी सपनालाई पछ्याउँदै आएको छु भनेँ, राष्ट्रपति वाइडेनले नेपालका बारेमा जान्दछु’, भने । राष्ट्रपति वाइडेनले आप्रवासीले अमेरिकी भूमिमा रोजगारी सिर्जना गर्नुका साथै व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेको पनि उनले जानकारी दिए । त्यस अवसरमा उपराष्ट्रपति कमला ह्यारीसले पनि आफूहरुलाई हौसला प्रदान गर्र्दै जानकारी दिँदै आप्रवासीको सफलताको कथाले आफुलाई खुसी बनाएको बताएको भण्डारीले बताइन् । कास्की जिल्लाको लामाचौरमा जन्मिएका भण्डारी सन् २००४ मा र श्रद्धा सन् २००५ मा विद्यार्थी भिसामा अमेरिका आएका हुन् । अठार वर्ष अमेरिकामा बसेर प्रविधिमा आधारित उत्पादन र वितरणसँग जोडिएर काम गर्दा आफूहरुले यो सफलता हासिल गरेको उनीहरुको भनाइ छ । यो नेपाली मूलकालाई मात्र नभएर सम्पूर्ण आप्रवासीका लागि पनि एउटा प्रेरणादायी क्षण भएको उनीहरुको भनाइ छ । भावि पिँढीका लागि पनि मार्गनिर्देशक बन्न सकोस् भनेर आफूले हासिल गरेको ज्ञान, अनुभव र दक्षता विस्तार गर्ने पक्षमा आफूहरु रहेको उनीहरुले बताए । यो कम्पनीले औषधिको गुणस्तरमा परिमाणको मात्रा जाँच्नका लागि आवश्यकपर्ने उपकरणको मर्मतसम्भार गर्ने पार्टपुर्जा उत्पादन गर्ने गर्दछ । उक्त कम्पनीले ती पार्टपुर्जा अमेरिका र विश्वका एक सय देशमा निर्यात गर्दै आएको छ । रासस

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाएर पुग्दैन चामल

बझाङ । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन् । यसबाट तामाङको परिवारले पाँच–छ लाख रुपैयाँ आम्दानी गर्दछ । त्योबाहेक उनीहरूको आम्दानीको स्रोत अन्य केही छैन । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ । सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ । गएको वर्षमात्रै उनीको परिवारले नौ क्विन्टल चामल किन्नुपर्यो । सहुलियत चामल खाद्य संस्थानबाट प्राप्त साढे दुई क्विन्टलमात्रै पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताए । तामाङ परिवारले एक वर्षमा एक लाख रुपैयाँ चामल ढुवानीमै खर्च गरे । चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झन्डै एक लाख रुपैयाँ खर्च हुने गरेको उनले सुनाए । ‘सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुने गर्छ’, उनले भने, ‘साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ । पाँच दिन लगाएर बोकेको सामान तेब्बरभन्दा बढी नै हुन्छ ।’ चिसोले अलि बढी नै खाना खाने त्यसैमा दुवै छाक भात खाने हुँदा क्विन्टलका क्विन्टलनै खरिद गर्नुपरेको उनले बताए । सोनामको जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको । पदमको परिवारमा पाँच छन् । उनको परिवारलाई वार्षिक सात क्विन्टल चामल आवश्यक पर्छ । हिउँदेबाली कोदो र जौँ एक महिनामात्रै पुग्ने भएपछि नियमित किनेरै खानुपरेको उनले बताए । ‘गत वर्ष खाद्यको चामल डेढ क्विन्टलमात्रै पाएको हुँ’, उनले भने, ‘त्यो चामल दुई महिनामात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ ।’ ताक्लाकोट नाका बन्द हुँदा सास्ती नेपाल–चीन सीमानाका पूर्णरूपमा बन्द भएको पाँच वर्ष भयो । नाका बन्द हुँदा मारमा परे साइपालवासी । धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे । खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो । सोनामकी श्रीमती सोनाम तामाङ दम्पतीको एउटै नामले भनिन्, ‘हामीलाई खाद्य सङ्कट हुन लागेको पाँच वर्ष नै भयो । ताक्लाकोट नाका बन्द भएपछि सदरमुकामबाट सामान ल्याउन सुरु गर्यौँ । सदरमुकामबाट ल्याउँदा सामानको मूल्य चौबरभन्दा बढी पर्न थाल्यो ।’ साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार ताक्लाकोटमा नाकाबन्दी हुनुअघि वडा नं ३, ४ र ५ का गाउँ न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतमा चिनियाँ सामान नै हुन्थ्यो । धलौनमा भने तलकोट गाउँपालिका पनि नजिक पर्ने हुँदा दुवैतिरबाट आवश्यकतानुसार सामान आउने गरेको उनी सम्झन्छन् । तर नाकाबन्दीपछि भने आवतजावत नै ठप्प भएको उनले बताए । दुई वर्ष अगाडि साइपालमा निकै खाद्य सङ्कट थियो । भोकमरी भएपछि धुलीका भीम धामीले चैनपुरबाट चामल माग गरे । तलकोटको रूपातोलाका गोविन्द बोहरा, उनका दाई प्रदीपसहित तीन जनाले एक क्विन्टल चामल धामीको घरमा पु¥याए । एक क्विन्टल चामल पु¥याएवापत भीमबाट प्रतिकेजी दुई सय रुपैयाँका दरले २० हजार रुपैयाँ बोहरा दाजुभाइले बुझे । ‘रूपातोलाबाट धुलीसम्म प्रतिकेजी दुई सय रुपैयाँ लागेकै दररेट हो’, गोविन्दले भने, ‘अरु सामान त दुई सय रुपैयाँकै दरले सधैँ बोकिन्थ्यो, अहिले पनि सोही मूल्य पर्ने सामान बोकिरहेका छौँ । चामल भने त्यसबखत नै पहिलो चोटी बोकेका हौँ ।’ मान्छेले चामल बोकेर साइपालको धुली पु¥याउँदा प्रतिक्विन्टल मोटो चामल साढे २२ हजार रुपैयाँमा पुग्छ । खच्चडमा बोकाउँदा प्रतिक्विन्टल १३ हजार रुपैयाँ पर्छ । न्यूनाका जीवन बोहराले भने, ‘खच्चड हिउँदयाममा मात्रै आउँछ । बर्खामा खोलानाला बढ्ने हुँदा मान्छेले मात्रै आवतजावत गर्छन् । बर्खामा कसैको परिवारमा खाद्यसङ्कट भए बोकेरै ल्याउनुपर्छ । आफैँले बोक्न नसके भरियालाई ज्याला तिरेर ल्याउनुपर्छ ।’ गोविन्दका अनुसार किर्किट्या हुँदै कालडाँडाबाट न्युनासम्म प्रतिकेजी एक सय ८० रुपैयाँ ज्याला लाग्छ भने बलौडीसम्म एक सय ९० रुपैयाँ र धुलीसम्म प्रतिकेजी दुई सय रुपैयाँ लाग्छ । बोहोराले भने, ‘हामी महिनामा चार–पाँचपटक साइपालको सामान बोकेर गन्तव्यमा पु¥याउँछौँ ।’ प्रायः फलामका रड, किला, जस्तापाता, भाँडाकुँडालगायतका विभिन्न सामान केजीको हिसाबले बोक्ने गरेको उनले बताए । ‘खाद्यको ढुवानी बढीजसो खच्चडबाट नै हुन्छ’, उनले भने । ठेक्का प्रक्रियामा निकै सास्ती साइपालवासीले खाद्य सङ्कटको समस्या लिएर राज्यको दैलो चहार्न थालेको वर्षौैँ बितिसक्यो । करिब तीन हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएको छ । साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए । अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिुसके । प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए । उनले भने, ‘साइपालका लागि स्थायी डिपो नहुँदा सधैँ खाद्यान्नका लागि पिरलो हुन्छ ।’ ठेकेदारले पनि आफूखुसी खाद्यान्न पु¥याउँदा वितरणमा समानता नहुने गरेको उनले बताए । साइपालमा खाद्यान्नका लागि यस वर्ष दुई हजार पाँच सय क्विन्टल चामलको ठेक्का परेको छ । चालु आर्थिक वर्षमा साइपालमा ढुवानी गर्ने गरी देवराज जोशीले ठेक्का लिएका छन् । तर चालु आवको १० महिना बित्नै लाग्दासमेत एक हजार पाँच सय क्विन्टलमात्रै चामल पुगेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए । उनका अनुसार साइपालमा चामलको आवश्यकता पाँच हजार क्विन्टल हो । तर ठेकेदारले समयमै ढुवानी नगर्दा न ठेक्का रद्द गर्न सकिने, न त थप्न नै सकिने भएको छ । ‘साइपालमा खाद्यान्न नभएर कन्दमूलको खोजी गर्नुपर्ने अवस्था भइसकेको छ’, उनले भने, ‘यता ठेकेदारले वेवास्ता गरेजस्तो देखिन्छ । हामीले दुई हजार पाँच सय क्विन्टल चामल दशैँअगावै पु¥याइसक्नुपथ्र्यो । त्यसपछि फेरि दोस्रो चरणमा थप दुई हजार पाँच सय क्विन्टलको तयारी गर्ने सोच बनाएका थियौँ । तर ठेकेदारले १० महिना बित्न लाग्दासमेत पहिलो ठेक्का नै पूरा गरेको छैन’, उनले भने । अध्यक्ष बोहराका अनुसार अहिले साइपालमा गएको चामल पनि निश्चित व्यक्तिको कब्जामा गइरहेको छ । ‘स्थानीय सबैसँग धेरै खरिद गर्न पैसा पनि हुँदैन । व्यापारीदेखि हुनेखानेले बढी चामल राख्ने गरेको सुनिएको छ’, अब निगरानी बढाउनुपर्ने उनले बताए । चालु आवका लागि साइपालमा गएको चामल वडा नं ४ र ५ मा बढी गएको छ । गएको मङ्सिरमा सबैभन्दा बढी न्यूना गाउँमा चामल गएको अध्यक्ष बोहराले बताए । यता वडा नं ५ का वडाध्यक्ष जैपाल पनि यसपटक भोकमरी टर्नेमा विश्वस्त देखिएका छन् । ‘पहिलो लडमा टाढाका गाउँमा पठायौँ । अहिले आइरहेको छैन’, उनले भने । अन्य वडामा भने दुई महिना पुग्ने गरी समेत चामल नगएको पालिका अध्यक्ष बोहराले बताए । साइपालमा कतै बढी त कतै कम खाद्यान्न गएकोबारे प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले पनि वितरणमा एकरूपता हुनुपर्ने बताए । ‘योभन्दा अगाडि मनोमानी ढङगले चामल वितरण गरेको देखियो’, प्रजिअ पाण्डेयले भने, ‘कुनै गाउँमा चार–पाँच महिनाकै लागि पुग्ने गरी चामल गएको देखिन्छ भने कुनै गाउँमा एक–एक बोरामात्रै चामल गएको छ । अब वडाध्यक्षहरूले आफ्नो मातहतमा लिएर नुन, खाद्यान्न वितरण गर्नुपर्छ’, यसका लागि पत्राचार गरेको उनले बताए । रासस