जयरानीको लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन् । नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४।१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पारिनन् तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन् । थारुले गएको असारमा काठमाडौँमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७।०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी थिइन् । जयरानी नवौँको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताए । आफ्नो विधामा खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताउँछन् । उनले भनिन्, ‘कीर्तिमान सुधार गर्दा धेरैनै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ ।’ राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहेका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाइन् । आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन् । ‘बुबा घरमा रैनछन् आमालाई फोनमा स्वर्ण जितेँभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिइन् ।’ उनले भने । राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उनले भने,’स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ ।’ जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन् । त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलिन् । सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितिन् । आठौँमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्धितीय हुनुभएका जयरानीले नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनलाई मिल्यो । उनी विसं २०७६ साउनमा सेनामा भर्ना भए । गाउँले दाइ जीवन चौधरी जो आफू पनि खेल्थे उनलेनै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ । आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरैनै साथ र सहयोग मिलेको जयरानीले बताइन् । सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको सुनाइन् । उनले विगतलाई स्मरण गर्दै भनिन्, ‘सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्दछ भन्थिन्, बाबा चाँही खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहन्थे, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउँथे ।’ सुरुमा चाँही उनलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो । जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै हुन् र अहिले एथलेटिक्स प्रशिक्षकसमेत छिन् उजले विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले सुनाइन् । उनले भनिन्, ‘मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमाले हो । उनको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ ।’ रासस
दुःख र तनावमा रहने मानिसहरु बुढो देखिन्छन्
एजेन्सी । कतिपय मानिस आफ्नो वास्तविक उमेरभन्दा बुढो जस्ता देखिन्छन् । सामान्यतया अरुको तुलनामा तनाव वा दुःखमा भएका मानिसहरु बुढो जस्ता देखिने गरेको पाइएको छ । अनुसन्धानमा भनिएको छ कि एक्लै बस्दा वा मौन बस्दा चाँडै बूढो बन्न सक्छ । समाजसँग मेलमिलापमा बाँच्न र सधैं खुसी रहने प्रयास गरेर बुढ्यौलीको गतिलाई रोक्न सकिन्छ। यसका लागि ३५ हजार वयस्क र वृद्धवृद्धामाथि अध्ययन गरिएको थियो । सो अध्ययनले अकालमै ज्यान गुमाउनेमा सामाजिक एक्लोपन पनि एउटा कारण रहेको खुलासा गरेको छ । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका शोधकर्ताहरूले गरेको यो अनुसन्धान ‘एजिङ’ जर्नलमा प्रकाशित भएको छ ।
‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’
काठमाडौं । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनीहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रुचाए । ‘अहिले सहजै कलाकार मान्छन् । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे’, अभिनेता अनुप विक्रम शाहीले भने । ‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो । त्यसयता उनले सकारात्मक भूमिका कमै निर्वाह गरेका छन् । मोडलिङ हुँदै अभिनेता बनेका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्छन् । ‘ऐश्वर्य’ मा निर्वाह गरेका भूमिकापश्चात् उनलाई त्यस्तै अफर भइरहेको छ । ‘मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ’, अभिनेता ताम्राकारले भने । काठमाडौंमा आयोजित उनी अनुप, प्रशान्त अभिनित फिल्म ‘लाखे’ को पत्रकार सम्मेलनमा आर्यन अधिकारीले सोचाइमा आएको परिवर्तन बारे बताए । ‘हिरोकै रुपमा काम गरिरहेको छु । अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु । म कलाकार हुँ । सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु’, अभिनेता अधिकारीले भने । दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन् । सस्पेन्स थ्रीलर जनराको कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् । रासस