प्रभु क्यापिटलको लोयल्टी र रिफरल टिकटक कम्पिटिसन, विजेताले १० हजार पाउने
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवाग्राहीका लागि सेवासंगै लोयल्टी पोइन्ट्स अफरका साथै रिफरल स्किम सार्वजनिक गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन’ संचालनमा ल्याएको छ । यस योजना साउन मसान्तसम्म संचालन हुने जनाएको छ । यस टिकटक कम्पिटिसन अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटलको टिकटक अकाउण्टमा राखिएको जिंगलको ओरिजिनल साउण्डमा टिकटक बनाई ह्यसट्याग #prabhuloyaltyandreferal राखी पोष्ट गर्नुपर्ने हुन्छ । सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रूपैयाँ जित्न सकिने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । लोयल्टी पोइन्ट्स अफर तथा रिफरल स्किम बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिने जनाएको छ ।
डिएभी विद्यालयमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न
काठमाडौं । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ शुक्रवार भव्यरुपमा सम्पन्न भएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । साथै भारतीय चर्चित कलाकार द्वय सौँन्दर्या पानापिल र शशि रमेशले बेजोड प्रस्तुती दिएका थिए । डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यमिक तहका विद्यार्थीहरुले क्रमशः ‘अलरीप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे । भरतनाट्यम प्रशिक्षक द्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीहरूसँगै प्रस्तुत भएका थिए । कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्य समेत प्रस्तुत गरिएका थिए । उक्त साँस्कृतिक साँझ सुशीला आर्ट्स एकेडेमी काठमाडौँ, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाडौं र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन् । सुशीला आर्ट्स एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिँदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिइन् । त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशीला आर्टस एकेडेमी र डिएभी विद्यालयले सयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफु निकै हर्षित भएको बताइन् । उनले सम्पूर्ण विद्यार्थीहरूलाई भरतनाट्यम विधा लगायत आ–आफ्नो रुचि अनुसारको अन्य साहित्यको अध्ययन, अनुसन्धान र सृजनामा क्रियाशिल रहन प्रेरित समेत गरिन् । उनले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको जानकारी समेत गराइन् । कार्यक्रमकी मुख्य अतिथि अभिनेत्री मनिषा कोइरालाले उनलाई बाल्यकालमा भरतनाट्यम र मणिपुरे नृत्य सिकाएकी स्व. सुशीला कोइरालाको स्मरण गर्दै भावुक बनिन । उनले स–साना बालबालिकाहरूको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिन् । साथै सुशीला आर्ट्स एकेडेमी, डिएभी विद्यालय र स्वामी विवेकानन्द सास्कृतिक केन्द्रलाई सफलताको शुभकामना दिइन् । उक्त कार्यक्रममा डिएभी विद्यालयका अध्यक्ष, अनिल केडिया, भाइस–प्रिन्सिपल रामचन्द्र खनाल, विनोद यादव प्रिन्सिपल माछापुच्र्छे आइ बी स्कुल, मुकुन्द शर्मा प्रिन्सिपल लिटील एन्जल्स स्कुल, ए.पी विनोद कुमार प्रिन्सिपल केन्द्रिय विद्यालय र सुबाश न्यौपाने प्रिन्सिपल एपेक्स लाइफ स्कुल लगायत भरतनाट्यम साहित्य अनुरागीहरूको उल्लेख्य उपस्थित रहेको थियो । सोही अवसरमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । निम्न माध्यमिक कोअर्डिनेटर कृष्ण जोशीले शास्त्रीय साँझलाई भव्य एवं सभ्यरुपमा सम्पन्न गराउन योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम औपचारिक रुपमा समापन भएको जानकारी गराएका थिए ।
मनाङमा यार्तुङ मेला सुरु
मनाङ । मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए । ‘लामाहरुले विशेष गरी लामाले नाचेर पर्व मनाउने गरिन्छ’, उनले भने, ‘यार्तुङ छोड्नुहुँदैन भनेर लाग्नुपर्ने अवस्था छ, सबै बसाई सर्ने गरेकाले पूजा गर्न छाडिसकिएको छ ।’ सबै बसाइँसराइले माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले बताए । यस पर्व पाँच दिन मनाउने प्रचलन छ । घोडेजात्रा सबैले खेती रोपिसकेपछि मनाउने गरिएको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । ‘घोडालाई भगवानको रुपमा नै पुजिन्छ, गाउँका सबैले घोडा पालिन्थ्यो, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्तरुपमा पुजिने पर्व हो’, उनले भने, ‘घोडा मनाङको विशेष महत्वको साधनको रुपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न आवश्यक छ ।’ बौद्धको भाषामा वर्षायाममा रोगव्याधिबाट संरक्षण गरिनु नै यसको मुख्य महत्व मानिने पर्यटन व्यवसायी गुरुङले बताए । यस पर्व मनाउने प्रचलनले यहाँ आउने पर्यटकलाई समेत आकर्ष गरेको छ । उहाँका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई समेत संरक्षण गरेको छ । यस पर्वको माध्यमबाट गाउँ, समाज र मानिस बीचमा एकापसमा सामाजिक सद्भावको विकास गरिरहेको उनको भनाइ छ । मनाङ गाउँबाट मनाउन सुरु भएपछि मात्रै यार्तुङ अन्य स्थानमा सुरु गर्ने प्रचलन रहेको छ । यो पर्व पाँच दिन मनाउने गरिन्छ । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले रोगव्याधि नलागोस् भनेर परम्परागत रुपमा हुँदै आएको पूजाआजालाई निरन्तरता दिएको जानकारी दिए। उनले भने, ‘पहिलेको तुलनामा यस पर्वमा युवाको सहभागिता कम हुँदै गएको छ, तर पनि निरन्तरता दिइरहेका छौँ ।’ यस पर्वको आकर्षण बढ्दो भए पनि युवा विदेशिनु, अध्ययन, जागीरलगायतका कारणले गर्दा युवा कम हुँदा सहभागिता घटेको उनले बताए । ’यसले गर्दा यी सामाजिक मूल्य, मान्यताका पर्वलाई लोप हुन नदिन निरन्तरता भने दिइरहेका छौँ’, उनले भने । मनाङ गाउँबाट सुरु हुने यार्तुङ तल्लो मनाउने प्रचलन हटेको स्थानीय बताउँछन् । ‘मनाङका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप उर्जा मिल्छ’, उनले भने । यहाँको संस्कृति अध्ययन तथा प्रवद्र्धनलाई भूमिका खेल्नुपर्ने उनको भनाइ छ । विगतको तुलनामा यस पर्वमा घोडा कम भएको उनले भने । ‘पहिले घर–घरमा दुई÷तीन घोडा पालिन्थ्यो, हरेक ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो, अहिले सवारीसाधन आएपछि घोडाको स्थान लियो, यसको कमी यार्तुङमा पनि देखिएको छ’, उनले भने । सडक नपुगेको स्थानमा घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छन् तर, सडक पुगेका स्थानमा कम हुँदै गएको छ । पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल, जोखिमयुक्त पदमार्गको रुपमा रहेको अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला पास जान चाहने पर्यटकलाई पु¥याउन घोडा प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रु तथा पर्यटकलाई घोडाको माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पुर्याउने गरिएको छ । हालसम्म पनि सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका स्थानीयले मुख्यरुपमा घोडाको प्रयोग गर्ने गर्छन् । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान समेत घोडाको प्रयोग गरिँदै आएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुन्जो तेञ्जिङ लामाले बताए ।