नेपाल टि ट्वान्टी लिगमा जनकपुरले पोखरालाई हरायो

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । नौ खेलमध्ये छ मा जित तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो । प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान नौ खेल नै खेलको लुम्बिनीले आठ खेलमा जित र एक खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजको खेलमा पोखराले जनकपुरलाई जितका लागि ६९ रनको चुनौती दिएको छ । जवाफमा जनकपुरले नौ ओभरमा चार विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरको जितमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे । त्यस्तै पवन सरार्फले चार रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान एक÷एक रन जोडे । बलिङतर्फ पोखराका कुशल मल्लले तीन विकेट लिए भने असिथा फर्नान्डोले एक विकेट लिए । त्यसअघि टस हारेर पहिलो व्याटिङको निम्तो पाएको पोखराले १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६÷१६ रन जोडे । त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पोखरालाई कम योगफलमा समेट्नेक्रममा जनकपुरका सोमपाल कामी एक्लैले तीन विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान दुई÷दुई विकेट लिए । त्यस्तै पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान एक÷एक विकेट झारे । यससँगै नौ खेल खेलेको पोखराले तीनमा जित तथा छ खेलमा हार बेहो¥यो । छ अङ्क बटुलेको पोखरा अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।

नेपाल टि–२० लिग क्रिकेट : काठमाडौंले जनकपुरलाई हरायो

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौँ नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । जनकपुरका लागि अरफुदिन असरफले सर्वाधिक ३३ रनको योगदान दिए भने सोमापाल कामीले २१ रन बनाए । त्यस्तै खड्क बोहोराले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । काठमाडौंका अभिनास बोहोरा एक्लैले चार विकेट लिए भने अजमतुल्लाह उमरजाईले दुई विकेट लिए । त्यसैगरी कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले समान एक/एक विकेट झारे । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८० रनको योगफाल बनाएको थियो । काठमाडौँका लागि सुनाम गौतमले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । त्यस्तै रायन बर्लले ६१ रन जोडे भने एलेक्स ब्लेकले २०, अजमतुल्लाह उमजाईले १० तथा लोकेश बमले सात रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए भने शरफुदिन असरफ र कप्तान ट्राभोल ग्रिफिथले समान एक/एक विकेट लिए । यससँगै पाँच खेलको काठमाडौं तीन जितसँगै छ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यसैगरी छ खेल खेलेको जनकपुर चार खेलमा जित हात पार्दै आठ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी अल स्टार छ खेलमा पाँच जित हात पार्दै १० अङ्कका साथ अङ्कताकिलाको शीर्ष स्थानमा छ । यही पुस २७ गते हुने फाइनल खेलको विजेताले ५५ लाख रुपैयाँ तथा उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । रासस

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लव गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ । ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिष्पर्धा गराइनेछ । विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्स वुम्यानलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिन आयोजकको भनाइ छ । साथै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिनेछ । प्रतियोगितामा कुल १ करोड १३ लाख रुपैयाँ बजेट लाग्ने अनुमान आायेजकको छ । राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने सहमति भएको छ । ‘खेलकुद पर्यटन नै विकास समृद्धिको आधार’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।