आज रंगहरूको पर्व होली, पहाडी तथा हिमाली जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी तथा जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीभाइहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले फागुपूर्णिमा (होली पर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे । उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । यसैगरी, प्रधानमन्त्री दाहालले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत उनले बताएका छन् ।
काठमाडौंमा संगीत महोत्सव ‘इकोज इन द भ्याली’ (तस्बिरहरु)
काठमाडौं । शुक्रबारबाट सुरु भएको संगीत महोत्सव ‘इकोज इन द भ्याली’को आठौं संस्करण आज शनिबार पनि विभिन्न सांगितिक कार्यक्रम आयोजना गरिएको छ । हनुमानढोका संग्रहालय र इतुम बहाल क्षेत्रमा दुई दिनसम्म फेस्टिभल आयोजना गरिएको छ । महोत्सवमा अमेरिका, भारत, मौरिसस, स्पेन र युक्रेनका कलाकारले प्रस्तुति गरेका थिए । डब डब दफा, दहना, राजामती गायक, हिमालयन हाइवे, सोनगी ब्लुज र सुर सुधाको प्रस्तुति रहेको थियो ।
क्रिकेट प्रतियोगिता एक्सन स्पोर्टस् च्यानलले प्रसारण गर्ने
काठमाडौं । टेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलाहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रशारण गर्ने छ । नेपाल को राष्ट्रिय टोली गुजरात र बडोदासँग टी-२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि आयरल्यान्ड वुल्भ्सले नेपाल ए विरुद्ध तीन खेलको टी-२० सिरिज र त्यसपछि तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका रहेको छ । त्यसपछि ए टिमसँग टी २० चैत १५ गते, चैत १६ गते र चैत १८ गते गरी तीन वटा म्याच खेल्ने छ । यस्तै, तीन वटा एक दिवसीय खेलहरु भने चैत २१, २३ र २५ गते हुने छन् । प्रतियोगिताका सवै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छन् ।