‘मिस्टर एण्ड मिस नेशनल २०२४’ का अन्तिम ३० प्रतियोगी घोषणा
काठमाडौं । मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतियोगी छनोटको घोषणा भएको छ । बुधवार आयोजित स्यास सेरेमोनीमा सेमी–फाइनलिस्ट सार्वजनिक गरिएको हो । देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेशनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले बताए । स्यास सेरेमोनीमा सबै प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत प्रदान गरिएको हो । स्यास ग्रहण गर्दै प्रतियोगीले आफ्नो परिचय र रुचिबारे बताएका थिए । जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थ्यमा योगदान पुर्याउनु रहेको बताए । यस पटकको प्रतिस्पर्धामा चिकित्सक, विद्यार्थी, मोडल, राष्ट्रिय खेलाडी लगायतका पेशाका युवा युवतीले यसपटक भाग लिएका छन्। देशमा विभिन्न स्थानबाट छनोट गरिएका प्रतियोगीलाई ३ हप्ताको ट्रेनिङ प्रदान गरिने र छनोट भएका सबै प्रतियोगीको पोर्टफोलियो शूट समेत गराइने आयोजकको भनाइ छ। प्रतियोगिताका विजेतालाई साढे २ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मीडिया एक्स्पोसर र नेपालको प्रतिनिधित्व गर्नका निम्ति पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्ड पठाइने बताइएको छ । प्रतियोगितामा प्रतियोगीले ट्यालेन्ट राउण्ड, टप मोडल राउण्ड, इलेजेन्स राउण्ड, फिटनेस राउण्ड,स्वीम वेयर राउण्ड, जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने छन् भने पृथ्वी दिवसको अवसर पारेर वृक्षरोपण गर्ने विशेष योजना रहेको बताइयो । प्रतियोगिताको टप मोडल राउण्ड र स्वीम वेयर राउण्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिप्लाइनमा आयोजना गर्ने योजना रहेको बताइएको छ । प्रतियोगितालाई अन्तरराष्ट्रियस्तरका निर्णायकको उपस्थितिमा मूल्यांकन गरिने आयोजकको भनाइ छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण इमेज च्यानलबाट गरिने बचाइएको छ । उक्त सौन्दर्य प्रतियोगिता टु डर्मासँगको सहकार्यमा हुने र प्रतियोगिताको मुख्य प्रयोजक ग्लोबल स्कुल अफ साइन्स, टेलिभिजन पार्टनर इमेज टेलिभिजन, पेन्ट्स पार्टनर जस्मिन पेन्ट्स, टेलिकम पार्टनर नेपाल टेलिकम, भोटिङ पार्टनर खल्ती, इन्टरटेनमेन्ट पार्टनर क्यु एफ एक्स सिनेमा, हस्पिटल पार्टनर मेट्रो हस्पिटल, स्किन केयर पार्टनर फेस फरवार्ड, ग्रुमिङ पार्टनर हेयर एण्ड शान्ति, मेकअप पार्टनर मेकअप दरबार, द फिजिक वर्कशप, जिमखाना, नेपाल एयराइन्स, दाउरा थकाली, फिष्टेल एयर, टु मि, नेपाल टुरिजम बोर्ड, ट्रेण्डिङ नेपाल, रसुवा वाटर, स्कूल अफ ब्युटीसियन, रोयल सिङ्गि, रुटिन अफ नेपाल बन्द, भ्यू रेस्ट्रो एण्ड बार, गोदावरी भिलेज रिसोर्ट लगायत जोडिएका छन् ।
फिल्म ‘चिसो मान्छे’ र सर्ट फिल्म ‘घुर्रा’ लाई उत्कृष्ट अवार्ड
काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘घुर्राको लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन् । चलचित्र ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । हरिवंश अवार्ड लिन स्वयं उपस्थित भएका थिए भने निर्देशक भट्टराई कार्यक्रममा देखिएनन् । त्यस्तै चलचित्र ‘छक्का पन्जा चार’बाट दीपक राज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले छक्का पन्जा चारबाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् । दीपकराज गिरी छक्का पन्जा पाँचको स्कृप्टमा व्यस्त भएकोले कार्यक्रममा आउन नसकेको भन्दै दुवै अवार्ड दीपाश्रीले नै लिएको थिईन् । राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा ‘थिम’, वातावरणीय चलचित्रमा ‘दिअर ईज नो टुमारो’, उत्कृष्ट डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला चलचित्र ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरेको छ । लघुचलचित्र ‘साउण्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए । प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेल उपस्थित रहेको थिए । मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, मोहन निरौला लगायत थुप्रै कलाकारहरुको उपस्थित थिए । चलचित्र महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको ‘मुझे स्कुल नही जाना’ र लघुचलचित्रमा बेलायतको ‘नो फ्रिडम नो आर्ट’ले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र ‘डियर सत्यजित’बाट उत्कृष्ट निर्देशक अवार्ड पाए । उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ‘ईन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बाल चलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, मानव अधिकार चलचित्रमा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र ‘जुद्धो जोएर किशोर नायक’बाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र ‘जेन’बाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको ‘सेक्रेट्स अफ एन वर्ल्ड गन टु’बाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको ‘द ट्रु समिट’बाट कोर्बन रबीले अवार्ड पाएका छन् । जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको ‘नमस्ते हिमालय’ र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ‘ईमाकुलेट’ र पाकिस्तानको ‘समटाईम्स ईभन द सोर ड्रन्स’ले पाएको छ । विदेशबाट धेरैजसो विजेताहरु कार्यक्रममा स्वयं सहभागी भएरै अवार्ड लिएका थिए । चलचित्र विकास बोर्डको हलमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भईरहँदा विकास बोर्डकै अध्यक्ष भुवन केसी भने अनुपस्थित रहेका थिए । चलचित्रलाई माया गरेर विदेशबाट धेरै चलचित्रकर्मीहरु नेपाल आइरहँदा चलचित्र विकास बोर्डकै अध्यक्षले बेवास्ता गरेको धेरै सहभागीहरूले गुनासो व्यक्त गरेका थिए । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका थिए । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् । भारतका मुश्ताक अलि, जर्मनीका जान स्लेक, सर्बियाकी ल्जुबिन्का, पोल्यान्डकि म्याग्डालेना महोत्सवमा उपस्थित रहेका थिए । सबैले नेपालीमा बोल्ने प्रयास गरेर महोत्सवको माहोललाई तताएका थिए । तीन दिने महोत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डमा गरिएको थियोे भने समापन चलचित्र विकास बोर्डको हलमा गरिएको थियो । महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत भएको थियो । चलचित्र विकास बोर्डमा सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिएकी थिईन् भने अन्तिम दिन भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास गरेका थिए । चलचित्र महोत्सवको समापन गर्दै महोत्सव निर्देशक सन्तोष सुवेदीले देश तथा विदेशबाट चलचित्र क्षेत्रलाई माया गरेर महोत्सवमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल, ‘सानोमा पढ्न पाइँन, अब पढ्छु’
पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएकी छिन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका-४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन् । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन् । भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी भएकी छिन् । विसं २०४६ मा उनको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उनी सुन्त्केरी भएर छोरा जन्माइन् । सुत्केरी भएपछि परीक्षा दिन त पाइनन् नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो । पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भइन् । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएकी हुन् । पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताइन् । उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका-५ उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन् । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ । भुसालका छोरा र छोरीबाट तीन नाती नातीनासमेत छन् । ‘छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु’, उनले भनिन्, ‘एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ ।’ भुसाल बिहादी गाउँपालिकाकी पूर्वजनप्रतिनिधि हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बनेकी थिइन् । भुसालले अहिले सक्रिय राजनीति गर्दै आएकी छिन् । उनी नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्षसमेत रहेकी छिन् । भुसालले १७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा पनि काम गरिसकेकी छिन् । कार्यपालिका सदस्यमा विजयी भएपछि उनले स्वयंसेविका छाडेकी हुन् । उनले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी हुन् । ‘राजनीति होस् वा अन्य क्षेत्रमा पढाइको ज्ञानसँगै प्रमाणपत्रसमेत आवश्यक पर्ने भएकाले पनि मलाई विद्यालय जान रहर जागेको हो’, उनले भनिन् । घरमा छोराछोरीको जिम्मेवारी पूरा गरेपछि पढ्न सहज भएको उनले बताइन् । भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेसका नेता हुन् । उनी नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहेका छन् । ‘सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन्’, श्रीमान् तिलकले भने, ‘उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन्, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।’ श्रीमतीको पठनपाठन प्रभावित नहोस् भनेर आफूले घरायसी काममा सहजीकरण गरिदिने गरेको तिलकले बताए । शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले पर्वतमा एसइई दिने दुई हजार २८ विद्यार्थीमध्ये खगिसरा भुसाल सबैभन्दा पाको उमेरको विद्यार्थी रहेको जनाएको छ । कार्यालय प्रमुख उद्धिमराज पौडेलले भुसाल ५० वर्ष नाघेको विद्यार्थी रहेको भन्दै उनी जिल्लामै सबैभन्दा बढी उमेरको विद्यार्थी भएको बताए । पर्वतकै पैंयु गाउँपालिकास्थित जनसेवा संस्कृत माविबाट १२ वर्षका शक्ति अधिकारीले पनि एसइई परीक्षा दिएका छन् । अधिकारी जिल्लाकै सबैभन्दा कान्छो उमेरका विद्यार्थी हुन् । रासस