फुटबलको फाइनल गेममा नाइक र एडिडास कम्पनीको जर्सी लगाएर प्रतिस्पर्धा हुँदै
काठमाडौं । कतारको लुसेल रंगशालामा आइतबार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा विश्वका दुई ठूला स्पोर्ट्सवेयर कम्पनीहरुको ठूलो प्रचारात्मक पदर्शनी पनि हुनेछ। एडिडास लामो समयदेखि अर्जेन्टिना राष्ट्रिय टोलीको प्रायोजक रहेको छ भने फ्रान्सलाई नाइक कम्पनीले प्रायोजन गरेको छ । यसवर्षको विश्वकप फुटवल प्रतियोगितामा १३ टोलीलाई नाइक र ७ टोलीलाई एडिडासले जर्सी उपलब्ध गराएका थिए । जर्सीको स्पोन्सरमा नाइकले एडिडासलाई उछिनेको यो तेस्रो पटक हो । दशकौंदेखि एडिडास विश्वकप प्रतियोगितामा पहिलो स्पोन्सरको रुपमा रहँदै आएको थियो । एडिडासले जर्मनीमा भएको १९७४ फिफा विश्वकपमा १६ मध्ये ९ टोलीलाई प्रायोजित गरेको थियो । अहिलेसम्म विश्वकपमा धेरै जर्सीको प्रायोजन गर्नेमा एडिडास कम्पनी अगाडि रहेको छ भने नाइक दोस्रो स्थानमा रहेको छ ।
नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरू
काठमाडौं । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १०औँ संस्करण आजदेखि सुरू हुँदैछ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा हुन लागेको उक्त महोत्सव यही पुस ६ गतेसम्म चल्ने छ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ नारासहित आयोजना हुने सो महोत्सवको उद्घाटनका अवसरमा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्प्रेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ । विश्वभरीबाट खुल्ला आवेदनमार्फत सङ्कलन गरिएका नेपालसहित २५ देशका ६४ चलचित्र, वृत्तचित्रलगायत महोत्सवमा देखाइने छन् । नेपालबाट निर्देशक अभिनाश विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् । महोत्सवमा प्रदर्शन गरिने उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवका निर्देशक पाण्डव खत्रीका अनुसार विदेशी चलचित्र कसरी निर्माण भइरहेका छन्, कथा कसरी छनोट गरिएको छ, कथा वाचन गर्ने शैली, पात्र चयन, पात्रको अभिनयलगायत कुरा सिक्न पाइने छ । ‘महोत्सवबाट नेपाली कला, संस्कृतिका साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सहयोग पुग्ने छ’, उनले भने ।
तेक्वान्दोको इतिहास झल्काउने ‘रूट अफ तेक्वान्दो नेपाल’ सार्वजनिक, शिनको योगदान अविस्मरणीय
काठमाडौं । तेक्वान्दोको इतिहास झल्काउने ‘रूट अफ तेक्वान्दो नेपाल’ नामक संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ । नेपाल तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित उक्त पुस्तक शनिबार एक कार्यक्रमबीच सार्वजनिक भएको हो । सो पुस्तकले नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जे. के. शिनको योगदान र यस कार्यमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरुको भूमिका उर्जागार गरेको छ । पुस्तकमा तत्कालिन तेक्वान्दो सम्बन्धित दुर्लभ तस्बिर समावेश गरिएका छन् । नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने रोचक सन्दर्भबाट लेखकले यो पुस्तकको लेखन प्रारम्भ गरेका छन् । जे. के. शिनको अभिभावक्तवमा तेक्वान्दोलाई देशव्यापी रुपमा विस्तार तथा नेपालले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा गरेका उपलब्धीहरुको सचित्र वर्णनले पाठकहरुलाई तत्कालिन समयको स्मृतिमा लग्दछ । चिफ ग्रान्ड मास्टर जे. के. शिनका शिष्यहरु क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगडीयर जनरल डा. सुधासेन मल्ल, लेफ्टीनेन्ट् कर्नेल एकनाथ थापा क्याप्टेन र ईन्द्र गुरुङद्वारा आयोजित कार्यक्रममा नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडीयर जनरल डा. सुधा सेन मल्लले कार्यक्रमको सुरुवात गरेकी थिइन् । प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवंम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र विकासका लागि जे. के. शिनले गरेका योगदान अविस्मरणीय रहने बताए । ‘ओलम्पिकमा हाम्रो नेपालपछि परेको अवस्थामा हामीले हाम्रो तयारी तीव्र बनाउनुपर्नेछ, तेक्वान्दोजस्ता विश्व परिवेशमा देशलाई परिचित गराउने खेलहरुको विकासले अझ धेरै पर्यटन नेपालमा भित्रिन सक्दछ,’ उनले भने । विशेष अतिथि पूर्व शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर बिष्टले नेपालमा तेक्वान्दोको स्थापनाकालका रोचक प्रसँग बताउँदै उनले भने, ‘विगतमा यस खेल प्रहरी र सेनालाई तालिमका क्रममा खेलाइन्थ्यो । तर पछि यस खेलमार्फत अनुशासन पनि हुने हुनाले आम जनतालाई खेलाउन लागिएको हो ।’ उनले जे.के शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताए । त्यस्तै, नेपाल तेक्वान्दो एशोसिएसनका उपाध्यक्ष एवंम पूर्व मन्त्री किसान श्रेष्ठले यस खेलको विकासको लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे । ‘बिमोचित पुस्तकमा रहेका ऐतिहासिक तस्वीरहरुले जे के शिन फादर अफ तेकवान्दो रहेको तथ्यलाई सबैको सामु उर्जागर गरेको छ । नेपाल खेलकुद परिषदका तत्कालिन कोषाध्यक्ष विष्णु गोपाल श्रेष्ठले जे. के शिनले नै तेक्वान्दो खेलको सुरुवात मात्र नभइ, उक्त खेल विधामा छोटो समयमानै नेपाललाई अन्तर्राष्ट्रियस्तरका पदक दिलाउन सफल भएको दावी गरे । यस्तै, कार्यक्रममा बोल्दै गुरु चिफ ग्रान्ड मास्टर जे.के शिनले नेपालमा मार्सल आट्रसले जीवनलाई सँधै ताजा र जीवन्त राख्ने सन्देश दिए । उनले तत्कालिन समयमा जुनस्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो त्यसमा आएको ह्रासप्रति चिन्ता गरे । र, आफु जहिले पनि नेपालमा तेक्वान्दो खेलको विकासको लागि योगदान गर्न तत्पर रहेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, प्रशिक्षक, खेलाडी लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट चन्द्र गुरुङले कार्यक्रमको सम्पूर्ण संयोजनका लागि डा. रबि मल्ललाई बिशेष दिए ।