मनसुनी वायूको प्रभाव कमजोर, यी ३ प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माले आज राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । दलित आयोग नेपालको संविधानको धारा २५५ मा व्यवस्थित संवैधानिक आयोग हो । यसले दलित समुदायको हित अभिवृद्धि गर्न जातीय छुवाछुत, उत्पीडन एवम् विभेद अन्त्यका लागि पहल गर्दै आएको छ । दलितसँग सम्बन्धित उपयुक्त राष्ट्रिय नीति र कार्यक्रम तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष प्रतिवेदन पेस गर्ने आयोगको मुख्य काम हो ।
घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौं छाडे
काठमाडौं । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौं छाडेका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए । 'मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौंमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,' अध्यक्ष स्वारले भने । काठमाडौं गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए । उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।