फागुन २१ मै चुनाव निर्वाचन सम्पन्न गर्न राष्ट्रपति पौडेलको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमता र सहयोग गर्न अपिल गरेका छन् । बडादशैं–२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, 'तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गर्दछु । यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछु ।' गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । प्रतिनिधि सभाबाट अर्को सरकार गठनको अवस्था नबनेपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए । नयाँ निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ । यस सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने आवश्यकता औंल्याउँदै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति र सरकारी तथा निजी क्षेत्रमा परेको भौतिक क्षतिलाई उपयुक्त व्यवस्थापन गर्न सबै पक्षको सहकार्य अपरिहार्य भएको पनि उनले बताएका छन् । दसैँ पर्वको संरक्षण र सम्बर्द्धनले राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेम जागृत हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले बडादशैं–२०८२ सबै नेपालीमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा भर्ने शुभकामना व्यक्त गरेका छन् ।

दशैंको शुभकामना दिदैं देउवा भन्छन् - जेनजी आन्दोलन इतिहासकै अकल्पनिय र दु:खद

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई  आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेका छन् । सोमबार बडादसैँ २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गरे ।       सन्देशमा भनिएको छ, 'नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहीत बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति,व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ ।'  उनले गत भदौ २३ र २४ गते  ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद् क्षणमा ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपाराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर, डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खबौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अल्कपनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गरेका छन्  । संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पारेका छन् । उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताए । सन्देशमा भनिएको छ ,'नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ, यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।'  उनले दसैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताए । सभापति देउवाले बडादसैँ २०८२ को अवसरमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।   

अनियमिततामा मुछिँदा प्रमुख र लेखापाल मन्त्रालयमा तानिए, छानबिन पनि थालियो

काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ ।  कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ । कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका कार्य हुन्छन् ।  कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।  मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा सङ्लग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छ ।  छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन र अनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ ।