आज हरितालिका तीज आज मनाइँदै, देशभरका शिवालयमा भीड

काठमाडौं । आज (भदौ २९ गते सोमबार) नेपाली हिन्दू महिलाले महत्त्वपूर्ण पर्व हरितालिका तीज मनाउँदैछन् । यस अवसरमा महिलाहरूले महादेवको पूजाआराधना गरी व्रत बस्ने तथा शिव-पार्वतीको पूजा गर्ने परम्परा छ ।

हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाइन्छ । विशेषगरी भगवान् शिवलाई प्रसन्न पार्ने उद्देश्यले व्रत बस्ने र पार्वतीसहित शिवको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ ।

शिवपुराणमा उल्लेख भएअनुसार अनादिकालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदिशक्ति) ले महादेवलाई पति रूपमा प्राप्त गर्न व्रत र तपस्या गरेकी थिइन् । उनका पिता हिमालयले पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने तयारी गरेपछि उनले आफूले मन पराएको वर प्राप्त गर्न शिवजीको तपस्या गरेकी थिइन् ।

पार्वतीले शिवलिङ्ग स्थापना गरी व्रत बसेर पूजाआराधना गरेपछि उनको मनोकामना पूरा भएको र सोही व्रतको प्रभावले शिव-पार्वतीको विवाह भएको धार्मिक ग्रन्थमा उल्लेख छ । यही धार्मिक मान्यताका आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।

तीजका दिन महिलाहरूले आफ्नो स्वास्थ्य अवस्थाअनुसार निराहार, जलाहार, फलाहार वा एकछाक खाएर व्रत बस्ने चलन छ । अत्यन्त अशक्त अवस्थामा भने भोजन गरेरै पनि व्रत बस्ने गरिन्छ । अविवाहित महिलाले सुयोग्य वर प्राप्त होस्, विवाहितले पार्वतीले जस्तै पतिबाट माया र दाम्पत्य सुख प्राप्त होस् तथा विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति प्राप्त गरून् भन्ने कामनासहित व्रत बस्ने धार्मिक विश्वास छ ।

व्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजेसम्म दर खाने परम्परा छ । यस अवसरमा माइतीले चेलीलाई, दिदीले बहिनीलाई तथा मावलीले चेलीभान्जीलाई बोलाएर दर खुवाउने चलन छ । भोलिपल्ट व्रत बस्न आवश्यक शक्ति प्राप्त होस् भन्ने उद्देश्यले पौष्टिक तथा स्वादिष्ट परिकार खाने गरिन्छ ।

तीजका अवसरमा महिलाहरू माइत जाने, साथीसँगी तथा आफन्तसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन तथा जमघट गर्ने गर्छन् । यस क्रममा वर्षभर आफूले भोगेका दुःख, पीर र मर्का आपसमा साटासाट गर्ने भएकाले तीजलाई महिलामैत्री पर्वका रूपमा पनि लिइन्छ । पछिल्लो समय हिन्दू धर्मावलम्बीबाहेक अन्य धर्म तथा जातजातिका महिलाले समेत तीज हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तीजका दिन महिलाहरू दिनभर शिवालय पुगेर शिवजीको दर्शन तथा पूजाआराधना गर्ने, भजनकीर्तन गर्ने तथा नाचगानमा सहभागी हुने गर्छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा तीजका अवसरमा ठूलो संख्यामा व्रतालु तथा श्रद्धालुको भीड लाग्ने गरेको छ ।

Share News