सुनचाँदीको मूल्य निरन्तर अकासिदो
काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आइतबार बजार खुल्दा सुनको मोल तोलामा ७०० रुपैयाँ र त्यति नै तौलको चाँदी ७० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख २३ हजार २०० रुपैयाँ तथा त्यति नै परिमाणको चाँदीको मूल्य दुई हजार ८१० रुपैयाँ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बाई बाई काठमाडौं, ह्याप्पी दसैं (तस्बिरहरु)
काठमाडौं । नेपालीहरूको महान पर्व विजया दशमीको लागि घर जानेहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरूको आइतबार बिहानैदेखि उल्लेख्य भीड छ । काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरूबाट बाहिरी जिल्ला जानेहरू बिहानैदेखि सडकमा उभिएका थिए । दशैँ, तिहार लगायतका पर्वहरू मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरू फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ । केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ । दशैँ मनाउन घर जान हिँडेका नागरिकहरूको तस्बिर आजको फोटो फिचरमा ।
‘इभी’ सवारी साधान दुर्घटनामा १७ जना घाइते
काँक्रेविहार । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल सहित जुम्ला चन्दननाथ नगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र दमाई, जुम्ला सिंजा गाउँपालिका–५ का २८ वर्षीय महेन्द्र शाही, वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीया लक्ष्मी कठायत, वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही घाइते भएका छन् । त्यसैगरी, अन्य घाइतेहरूमा लेकबेँसी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, दैलेख दुल्लु नगरपालिका–६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु–११ कै ३० वर्षीया लक्ष्माण कार्की, जुम्ला सिंजा गाउँपालिका–३ का २४ वर्षीया राज्यलक्ष्मी हमाल, दैलेख दुल्लु नगरपालिका–१० का २६ वर्षीय गणेश योगी, कालीकोट पचाल झरना गाउँपालिका–३ का २२ वर्षीय रोशन विक, जुम्ला सिंजा गाउँपालिका–४ का २२ वर्षीय ऐन रोकाय, १६ वर्षीया रक्षा धिताल, वडा नं ५ की २२ वर्षीय विष्णु शाही, मुगु सोरु गाउँपालिका–९ का ३२ वर्षीय दिनेश शाही, जुम्ला चन्दननाथ –१ का २१ वर्षीय श्री परियार घाइते प्रहरी उपरीक्षक रिमालले जानकारी दिए । घाइते सबैको उपचार भइरहेको छ ।