तोकिएको मितिमै निर्वाचन गर्न माओवादीको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले घोषित मितिमै निर्वाचन गराउन माग गरेको छ । माओवादी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरेको बैठकपछि पार्टीका मुख्य सचिव गणेशमान पुनले जानकारी गराएका छन् । सरकारले तोकिएकै मितिमा निर्वाचन गराउन अग्रसर भए निर्वाचनको माहोल बनाउन पार्टीले सहयोग गर्ने पुनले बताए । अन्तरिम सरकार गठनपछि प्रतिनिधि सभा विघटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ गते आम निर्वाचन गर्ने मिति तोकेका थिए । भदौ २२ र २३ को आन्दोलनपछि माओवादीको स्थायी समितिको बैठक पहिलो पटक बसेको हो । बैठकमा मंसिरमा पार्टीको विशेष महाधिवेशन गर्ने विषयमा पनि छलफल भएको मुख्य सचिव पुनले जानकारी दिए ।
राष्ट्रपतिले गरे मतदाता नामावली सम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी मतदाता नामावली ऐन, २०७३ संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय महिला आयोगको कार्यवाहक अध्यक्षमा कृष्णकुमारी पौडेल नियुक्त
काठमाडौं । राष्ट्रिय महिला आयोगको कार्यवाहक अध्यक्षमा आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा नियक्त भएकी छन् । आयोगकी अध्यक्ष कमला कुमारी पराजुली असोज ५ गतेदेखि अनुपस्थित रहँदै आएकी कारण पाैडेल कार्यवाहक अध्यक्ष बनेकी हुन् । महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० बमोजिम वरिष्ठतम सदस्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने व्यवस्था अनुसार पौडेलले पदभार ग्रहण गरेकी हुन् । अध्यक्ष विदेश भ्रमणमा जाँदा, सात दिनभन्दा बढी समयसम्म बिदामा बस्दा वा कुनै कारणवश कार्य सम्पादन गर्न नसक्ने अवस्थामा कार्यवाहक अध्यक्षले जिम्मेवारी निर्वाह गर्ने कानुनी प्रावधान छ । सोही व्यवस्थाअनुसार अध्यक्ष पराजुली आयोगमा उपस्थित नहुँदासम्म पौडेलले आयोगको नेतृत्व गर्नेछिन् ।