उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहताको संघर्ष र सफलताको यात्रा
काठमाडौं । नेपालका चर्चित अभिनेता आर के मेहता, जसले चलचित्र ‘आँखा’ मार्फत उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले आफ्नो संघर्ष र समर्पणको यात्रा जारी राख्दै नेपाली फिल्म उद्योगमा नयाँ उचाइ थपेका छन् । हालै काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदिप खड्का, आर्यन सिग्देल र पल शाह जस्ता चर्चित कलाकारलाई पछि पार्दै मेहताले यो अवार्ड जितेका थिए । ‘आँखा’ चलचित्रले यस महोत्सवमा उत्कृष्ट राष्ट्रिय फिचर चलचित्रको अवार्ड पनि प्राप्त गरेको थियो । यस चलचित्रबाट निर्देशक जौन यौंजनले उत्कृष्ट स्क्रिनराइटरको अवार्ड जितेपछि महोत्सव ‘आँखा’ मय बनेको थियो । आर के मेहता, विराटनगरको भट्टाचोकमा जन्मिएका, थिएटरको माध्यमबाट अभिनय क्षेत्रमा आएका थिए । उनले रंगमञ्चको अभ्यास गर्दै इटालीको ‘एकाडेमिया डेल आर्टे’मा भौतिक थिएटर अध्ययन गरेका थिए । नेपाली फिल्म ‘रंगेलीु’बाट अभिनय यात्रा सुरु गरेपछि, उनले विभिन्न नाटक र फिल्ममा काम गर्दै आफ्नो अभिनयको गहिराइ बढाएका थिए । उनको प्रमुख फिल्म ‘आँखा’ मा उनले १५ किलो तौल घटाएर, ६ महिना काठमाडौंको सुकुम्बासी बस्तीमा बिताएर, पात्रको वास्तविकता बुझ्न निकै कठोर मेहनत गरेका थिए । उनले आफ्नो अभिनयका लागि कडा डाइट र जीवनशैली अपनाएका थिए । आर के मेहता अब नेपाली सिनेमा उद्योगका लागि एक प्रेरणा बनिसकेका छन् । उनको संघर्ष, समर्पण र कडा परिश्रमले उनलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाएको छ, र नेपाली चलचित्र क्षेत्रलाई नयाँ दिशा र ऊर्जा दिएको छ । को हुन् आर के मेहता ? विराटनगरको भट्टाचोकमा जन्मिएका आर के मेहता ती कलाकार हुन्, जसले अभिनयलाई केवल पेशा होइन, आफ्नो जीवनको अटुट अंश बनाए । बाल्यकालदेखि नै कराँते, नृत्य, र अभिनयमा रुचि राख्ने उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए । अभिनयप्रतिको गहिरो मोहले उनी रंगमञ्चतर्फ आकर्षित भए, जहाँ उनले विराट मैथिल नाट्य कला परिषद, विराटनगर गुरुकुल हुँदै शिल्पी थिएटरमा प्रशिक्षण लिएका थिए । शिल्पी थिएटरमा उनी दुई वर्ष होस्टल बसेर काम गरे । अन्तर्राष्ट्रिय अवार्डः निफको ‘उत्कृष्ट पुरुष अभिनेता’ विजेता उनको कठोर मेहनतले रंग ल्यायो । ‘आँखा’ फिल्ममा उनको दमदार अभिनयले उनलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ मा उत्कृष्ट पुरुष अभिनेता को अवार्ड दिलायो । यो अवार्डले उनको संघर्षको पहिचान मात्र दिएन, नेपाली सिने उद्योगका लागि पनि एक नयाँ उचाइ थप्यो ।
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले ३ र नरेन साउदले १ विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र १ छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तगत यसपटक ४६ वटा खेलहरु खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।
चैत्र कृष्ण औँसीः आज परम्परागत घोडेजात्रा पर्व मनाइँदै
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।