आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ, गठबन्धन नगरी पार्टी एक्लै चुनाव लड्छ: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् । नेपाल थारू सङ्घको तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए । ‘संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ,’ उनले भने, ‘कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानूनविपरीत हुन्छ ।’ महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताए । विगतजस्तो कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उनको भनाइ छ । उनले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेता बलियो बनाएर पार्टी बलियो हुन्छ भन्ने होइन, कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ,’ महामन्त्री थापाले भने, ‘अब दाङका उम्मेदवार दाङकै पार्टीले छान्न पाउने गरी विधान बदल्नुपर्छ, दाङका उम्मेदवार काठमाडौंले छान्ने कुरा वैज्ञानिक छैन ।’ संवैधानिक राजतन्त्र ल्याउन नसकिने उल्लेख गर्दै महामन्त्री थापाले यो कुरा सबैले बुझ्न आवश्यक रहेको बताए । सङ्घीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिलेको निर्वाचन प्रणालीलाई भने संविधान संशोधनमार्फत समाधान गर्नेतर्फ पहल लिनुपर्ने महामन्त्री थापाले बताए । सरकारले जनमैत्री काम गरेमा पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि पनि हट्ने उनको भनाइ छ । ‘देशमा केही हुँदैन की भन्ने छ, नागरिकमा खुसी छैन । यसका लागि सरकारमा बस्ने व्यक्तिले आचरण सुधार गर्नुपर्छ, व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्छ, त्यसो भएमा सबै समाधान हुन्छ,’ महामन्त्री थापाले भने ।
९७ वर्षको उमेरमा वरिष्ठ पत्रकार रिसालको निधन, पाटन अस्पतालले शरीर अध्ययन गर्ने
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यु पश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
राम नवमी पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । रामनवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रुपमा पनि लिइन्छ । यस दिन मुलतः देशको विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । ‘राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु,’ राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख छ । नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि उनले शुभकामना सन्देशमार्फत व्यक्त गरे ।