पाँच वर्षसम्म वृद्धभत्ता नबढाउन सुझाव, उमेर सीमा पनि ७० वर्ष पुर्याउनुपर्ने

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउनुपर्ने सुझाव दिएको छ । आयोगले उक्त ऐनमा व्यवस्था भएका भत्ताहरू बाहेक अन्य भत्ता बजेटमा घोषणा नगर्ने सुझाव दिएको हो ।  सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ मा रहेको भत्ता नपाउने अवस्थामा “नेपालको निजी क्षेत्रका प्रतिष्ठानबाट अवकाश प्राप्त वा विदेशमा काम गरी फर्केका नेपाली नागरिकले विदेशमा काम गरेको निकायबाट नियमित मासिक निवृत्तिभरण पाइरहेको व्यक्ति थप गर्ने सुझाव दिएको छ ।  आगामी ५ वर्ष सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने सुझाव आयोगले दिएको छ ।  यस्तै, सबै प्रकारका सामाजिक सुरक्षालाई राष्ट्रिय परिचयपत्र संग आवद्ध गरी सामाजिक सुरक्षा उपलब्धताको एकिकृत तथ्याङ्क तयार पार्ने, प्रदेश सरकार र स्थानीय तहले प्रदान गरेका सामाजिक सुरक्षाको पनि तथ्याङ्क एकिकृत रूपमा राख्ने, दोहोरो पर्ने गरी सामाजिक सुरक्षा उपलब्ध नगराउने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सबै खालको सामाजिक सुरक्षाको एकिकृत तथ्याङ्क संकलन र व्यवस्थापनको जिम्मेवारी दिने प्रतिवेदनमा उल्लेख छ । सबै तलब तथा ज्याला भुक्तानीमा १.५ प्रतिशत सामाजिक सुरक्षा कर लगाई सामा सुरक्षा कोषमा जम्मा गर्ने र अनौपचारिक क्षेत्रका कामदारहरूलाइ योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध गर्ने, ५ वर्षमुनि बालबालिकाहरूलाइ बाल भता हाल २५ जिल्लामा मात्र प्रदान गरिएकोमा गर घरपरिवारहरूमा उपलब्ध हुने गरी सबै जिल्लामा विस्तार गर्ने, गरिब घरपरिवार पहिचानको लागि गरिब परिचय पत्रलाई आधार बनाउने सुझाव दिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा व्यवस्था वृद्धि गर्न सामाजिक व्यवसाय र संघ संस्थाहरूलाइ उत्प्रेरित गर्ने स्वास्थ्य बीमाको हालसम्मको सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो भार सम्बोधन गर्न स्वास्थ्यमा हानी गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरेको छ । 

वर्ष २०८१ : पूर्णबहादुर सारङ्गीको करिब ४७ करोड कमाइ, अरू चलचित्रले कति गरे ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो । यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । त्यसले विसं २०८१ मा मात्र नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो । यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने छ । यसका साथै यस वर्ष चार चलचित्रले १० करोडभन्दा बढीको व्यापार (ग्रस) घरेलु बजारमा गर्न सफल भएका छन् । चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शन हुँदैछन् ।  यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले अङ्क तलमाथि हुनसक्ने बोर्डको भनाइ छ । ‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ । यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो । यसले अकल्पनीय व्यापार गर्यो । बक्स अफिसको तथ्याङ्कानुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ ले दर्शकको राम्रो साथ पायो ।  बक्स अफिसको तथ्याङ्कानुसार ‘१२ गाउँ’ले रु १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले रु १५ करोड २० लाखको व्यापार गरेको छ । अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रूपमा आइरहेको ‘छक्का पञ्जा’को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ । यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ । उनले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताए । दशैंपछि तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको छ । उनले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताए ।  आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौँ स्थानमा छ । यसले घरेलु बजारमा रु सात करोड ५० लाख व्यापार गरेको छ । उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन् ।  गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद् पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताए । यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ ले रु सात करोड ३७ लाख, ‘घरज्वाइँ’ले रु पाँच करोड नौ लाख, ‘फर्की फर्की’ले रु चार करोड ८४ लाख, ‘मनसरा’ले रु चार करोड ७८ लाख र ‘लाज शरणम्’ले रु चार करोड ३४ लाखको व्यापार (ग्रस) गरेको तथ्याङ्क ‘बक्स अफिस’मा छ ।  

सूर्य नेपाल एनपिजिए म्याच-प्ले सुरू

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी निरज तामाङले फराकिलो अन्तरको जितमा क्वाटरफाइनलमा स्थान बनाएका छन् ।   डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धन बहादुर थापा, रवि खड्का, प्रदीप कुमार लामा, तोरण विक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाए । रोयल नेपाल गल्फ क्लबमा मंगलबार भएको खेलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६ औं वरियताका पशुपति शर्मालाई ५/४ ले हराए । चार होल अगाडि जित निकालेका उनले अब क्वाटरफाइनलमा धन बहादुर थापालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन् । आठौं वरियताका धन र नवौं वरियताका भुवन कुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो । १७ औं होलको समाप्ती सम्म दुवै बराबरीमा थिए । १८ औं होल जितेर धनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । नेपाल नम्बर २ प्रो निरज तामाङले १५ औं वरियताका सूर्य प्रसाद शर्मालाई सहजै ५/४ ले हराए। चार होल अगाडि पहिलो चरणको खेल जितेका निरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन्। निरजले अब सातौं वरियताका रामे मगरसँग क्वाटरफाइनल खेल्नेछन् । रामेले १० औं वरियताका दीपक मगरलाई ४/३ को नतिजामा माथ दिए।   डिफेन्डिङ च्याम्पियन तेस्रो वरियताका दिनेश प्रजापतिले १४ औं वरियताका रमेश अधिकारीलाई ४/३ ले माथ दिए । उनले अब अनुभवी तोरण विक्रम शाहीसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछन् । ११औं वरियताका तोरणसँग छैटौं वरियताका जयराम श्रेष्ठ ३/२ ले पराजित हुन पुगे । यसैगरी चौथो वरियताका रवि खड्काले १३ औं वरियताका टंक बहादुर कार्कीलाई ३र२ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रविले अब १२औं वरियताका प्रदीप कुमार लामासँग खेल्नेछन् । प्रदीपले पाँचौ वरियताका सञ्जय लामा विरूद्ध २/१ को अप्रत्याशित नतिजा निकाले । सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । आज पहिलो चरणमा पराजित भएका आठ खेलाडीले नगद ६/६ हजार पाउनेछन् । भोलि क्वाटरफाइनल र सेमिफाइनल खेल १८र१८ होलको हुनेछ । फाइनल र तेस्रो स्थानको लागि बिहीबार प्रतिस्पर्धा हुनेछ । फाइनल भने ३६ होलको हुनेछ ।