नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा पाहाँचह्रे पर्व मनाउँदै

काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ । यो चाडलाई काठमाडौंमा नेवार सम्प्रदायले दसैँ र तिहारजस्तै मनाउँदै आएका छन् । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खान्छन् । पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ । विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ । यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ । घरघरमा खाल्टोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ । यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । पाहाँचह्रेको अन्तिम दिन आइतबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ । पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ । खट तीनवटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को हुन्छ । “असनमा खट जुधाउने भनिए पनि खट नै जुधाइँदैन ।” रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् ।

नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे

काठमाडौं । नेपाल सुपर लिग २०२५ को तेस्रो संस्करणमा डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ र ‘आइएमई पे’ आधिकारिक टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन् । चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा आयोजना हुने यो प्रतिष्ठित फुटबल प्रतियोगितामा दर्शकहरूले खल्ती वा आइएमई पे एपमार्फत सजिलै टिकट खरिद गर्न सक्नेछन् । यस साझेदारीले खेल प्रेमीहरूलाई सहज रूपमा आफ्नो सिट सुरक्षित गर्न र मनपर्ने टोली तथा खेलाडीलाई रंगशालाबाट प्रत्यक्ष रूपमा हौसला प्रदान गर्न थप सुविधाजनक बनाउनेछ । नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले खल्ती र आइएमई पे जस्ता विश्वसनीय डिजिटल वालेटहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित रहेको बताए । ‘हाम्रो लक्ष्य फुटबल दर्शकहरूलाई अझ सहज, इन्टरेक्टिभ र पहुँचयुक्त अनुभव प्रदान गर्नु हो,’ उनले भने । आइएमई पेका कार्यकारी अधिकृत प्रविन रेग्मीले डिजिटल प्रविधिमार्फत नेपाली फुटबललाई सशक्त बनाउन पाउँदा गर्व लागेको बताए । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस साझेदारीलाई ऐतिहासिक बताउँदै डिजिटल माध्यमबाट टिकट बुकिङलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल सुपर लिग २०२५ मा ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर र धनगढी गरी ७ क्लब भिड्दैछन् । डिजिटल टिकटिङ साझेदारीको यस नयाँ प्रयासले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

राजनीति गर्न र चलचित्र निर्माणका लागि तयार छैन्, अभिनयका लागि प्रस्ताव गर्नुहोस्: मनिषा

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन् । उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन् । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौंमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताइन् । उनले भनिन्, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।’ त्यसो त उनले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन् । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ । उनले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गरिन् । ‘मैले सुरुवाती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो,’ अभिनेत्री कोइरालाले भनिन् । कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्‍यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गरेकी थिइन् । भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उनले बताइन् । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गरिन् । ‘मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो,’ उनले भनिन् । अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन् । उनले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिइन् ।