डिल्लीबजार सडकमा गुड्दागुड्दै भासियो बस (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको डिल्ली बजार पिपल बोट चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ५ ख ४२ ६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरू बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरू आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । बुधबार राति भएको अविरल वर्षाका कारण सडक कमजोर भएको अनुमान गरिएको छ।
डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी
काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । यो सहकार्यको औपचारिक घोषणा डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो । सम्झौतामा डिशहोम इन्टरनेटका तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले हस्ताक्षर गरे । 'डिजिटल कनेक्टिभिटीलाई प्रविधिमा मात्र सीमित नराखी नयाँ पुस्ताको प्रेरणासँग जोड्ने प्रयासमा छौं,' डिशहोमले भनेकाे छ, 'दिव्या रायमाझी युवाको आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन् ।' सो अवसरमा रायमाझीले भनिन्, 'डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो केवल ब्रान्डको सहकार्य होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात हो ।' डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । ‘माई डिशहोम’ मोबाइल एपमार्फत कम्पनीले ग्राहक सेवा स्मार्ट र सहज बनाएको जनाएको छ। रायमाझीसँगको सहकार्यबाट डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ प्रगाढ बनाउने र डिजिटल पहुँचलाई जनस्तरसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको कम्पनीले जनाएको छ।
राजावादीको आन्दोलन भड्काउने ओलीको अभिव्यक्ति, सुरक्षा निकायसँग भने : चक्रपथभित्र छिर्न नदिनू
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई रोक्न निर्देशन दिएका छन् । जेठ १५ गते हुने भनिएको राजावादीको प्रदर्शनसँग सम्बन्धित अभिव्यक्ति दिँदै ओलीले राजावादीलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका हुन् । बिहीबार चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा ब्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभित्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ । सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन । दुवै समूहले सरकारका कुनै पनि निकायसँग कार्यक्रम आयोजनाका लगि ठाउँ माग गरेका छैनन् । ओलीले यसअघि दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै मानव अधिकार आयोगले पनि चिन्ताव्यक्त गरेको थियो ।