खाद्य स्वच्छता दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ नारासहित १७औं राष्ट्रिय खाद्य स्वच्छता दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार पत्रकार सम्मेलन गरी विश्व खाद्य स्वच्छता दिवसभन्दा पहिले नै नेपालमा यससम्बन्धी कार्यक्रम हुँदै आएको जानकारी गराएको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार विभागले विसं २०६५ देखि नियमितरूपमा खाद्य स्वच्छता दिवस मनाउन थालेको हो । सन् २०१८ मा संयुक्त राष्ट्रसंघको ७३औं महासभाले सन् २०१९ देखि प्रत्येक वर्ष जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। नेपालमा यस वर्ष जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार अस्वच्छ तथा दूषित खाद्य पदार्थका कारण विश्वभर वार्षिक झाडापखाला, क्यान्सरजस्ता २०० भन्दा बढी रोग सर्ने गरेका छन् ।  प्रत्येक १० जनामध्ये १ जना विषाक्त खाद्यको सेवनका कारण बिरामी हुने गरेका छन् भने वार्षिक ४ लाख २० हजार मानिसको मृत्यु खाद्यजन्य रोगका कारण हुने गरेको तथ्याङ्कले देखाउँछ। त्यसमध्ये झाडापखालाबाट मात्रै करिब ५५ करोड मानिस प्रभावित हुने र २ लाख ३० हजारको ज्यान जाने गरेको छ। डब्लुएचओको अध्ययनअनुसार नेपालमा तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एन्टिबायोटिकको असर, र खाद्यान्नमा ढुसीजन्य विष (माइकोटक्सिन) को समस्या देखिएको छ। नेपालको संविधानले प्रत्येक नागरिकलाई सुरक्षित र पोषिलो खाद्यको अधिकार सुनिश्चित गरेको छ । सोही अनुसार सङ्घीय संसद्ले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ जारी गर्दै यस क्षेत्रको कानुनी संरचना संशोधन र एकीकरण गरेको छ । उक्त ऐनमार्फत खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक आधारमा स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्ने, उपभोक्ता हित संरक्षण गर्ने, र प्रभावकारी नियमन गर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक गाडी नचलेको मौका छोप्दै पठाओ र इन्ड्राइभ, मनपरि भाडा असुल्दै

काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेसँगै सर्वसाधारणहरू प्रत्यक्ष मर्कामा परेका छन् । सोमबार बिहानदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प छ । यातायात अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि घरबाट निस्किएकाहरू सडकमा अलपत्र छन् । सोमबारदेखि गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले देशव्यापी रूपमा आन्दोलन गरेका हुन्  । धादिङका सुरेन्द्र भण्डारी गाडी नचल्दा अलपत्र परेका छन् । उनलाई अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र बनेपा जानुपर्ने थियो । तर, गाडी चलेपछि उनलाई कहाँ जाऔं के गरौं भयो ।  उनका छोरा अपाङ्ग बाल अस्पताल बनेपाको बेडमा छन् । छोराका लागि खानेकुरा, लत्ता कपडा लिएर जानुपर्नेमा उनी अलपत्र अवस्थामा परेका छन् । उनले भने, ‘बिहानै चन्द्रागिरीबाट साझा यातायात चढी रत्नपार्कसम्म आएँ । यहाँदेखि सधैं बनेपा गइरहन्थें  । तर आज गाडी नै भेट्टाइरहेको छैन । अस्पतालमा बाबुको खुट्टाको अप्रेसन गरेर राखेको छ । बाबुका लागि खानेकुरा र लत्ताकपडा लिएर जानुपर्ने छ तर यता गाडी पाइँदैन । पठाओ अनि इन्ड्राइभमा जाऊँ भनेको भाडा दोब्बर देखाइरहेको छ ।’ भण्डारीले आज पठाओ र इन्ड्राइभले पनि मौका पारेर बढी भाडा असुलिरहेको गुनासो पोखे । आफूहरू जस्ता आर्थिक अवस्था कमजोर भएका गरिखाने सर्वसाधारणलाई गाह्रो परिरहेको उनको भनाइ छ ।  यसैगरी, सार्वजनिक यातायात बन्द हुँदा निकै सास्ती खेप्नुपरेको निराजन रिजाल बताउँछन् । उनले क्याम्पस पुग्नका लागि माछापोखरीबाट साझा यातायातमा रत्नपार्क आएको बताए ।  उनी भन्छन्,‘ धेरै सास्ती खेपिरहेका छु । क्याम्पस जानुपर्ने ढिलो भइसक्यो । धेरै हिँडिसकें । लगनखेल पुग्नु पर्नेछ । अब क्याम्पस जाने कि नजाने भनेर दुविधामा छु । यस्तो त नगरिदिनुपर्ने हो । हामी विद्यार्थीलाई अब समस्या हुने भयो । ’ यस्तै, सडकमा भेटिएका गणेश घिमिरे हरेक संघ संगठनहरूले आन्दोलन गरिरहँदा यसको मारमा सर्वसाधारण पर्ने गरेको बताउँछन् । यो विषयमा सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ । उपत्यकामा ४० वटा साझा बस सञ्चालनमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प रहँदा साझा यातायात भने सञ्चालनमै रहेको छ । उपत्यकाका विभिन्न रुटमा बस सञ्चालनमै रहेको साझा यातायातका अनुगमन सहायक हीरामणि खनालले बताए ।  उनले भने, ‘ सार्वजनिक बसहरू बन्द हुँदा बिहानैदेखि सर्वसाधारणको खासै चहलपहल छैन । सबैले पठाओ, इन्ड्राइभ गर्न सक्दैनन् । ट्याक्सी चढ्न सक्दैनन् । जनताले दुःख नपाउन् भनेर हामीले ४० वटा बस सञ्चालनमा राखेको छौं ।’  उनका अनुसार साझा यातायातले प्रहरीसँग सहकार्य गरी प्रत्येक गाडीमा प्रहरी राखेर गाडी सञ्चालन गरिरहेको छ।  मौका छोप्दै पठाओ र इन्ड्राइभ  सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको मौकामा राइड सेयरिङहरूले सर्वसाधारणलाई मनपरी भाडा असुलेको गुनासो गरेका छन् । सार्वजनिक गाडी नचल्दा सर्वसाधारणहरू दोब्बर पैसा तिरी पठाओ तथा इन्ड्राइभमा यात्रा गर्न बाध्य छन् भने धेरैजना विद्यालय र अफिस जान पाएका छैनन् । सार्वजनिक यातायात ठप्प भएको मौकामा बाटोभरि पठाओ/इन्ड्राइभका राइडरहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ । उनीहरूले अफलाइनमा बसी यात्रुसँग बार्गेनिङ गरिरहेका छन् ।  सार्वजनिक बसमा चढ्ने यात्रुहरू सबै पठाओ र इन्ड्राइभमै जान थालेपछि राइडरको कमी भएको र भाडा बढेको चालक रविन खत्री बताउँछन् । उनका अनुसार पठाओ र इन्ड्राइभको भाडा राइडरले बढाउन मिल्दैन ।  भाडा एपले नै आफै बढाउने गरेको उनको भनाइ छ ।  उनले भने, ‘पठाओ र इन्ड्राइभको हिजोअस्तिको तुलनामा भाडा आज दोब्बरले बढेको छ । पठाओ र इन्ड्राइभ एपले जानीजानी यस्तो गरिरहेका छन् ।’ उनले आफूहरूले १० देखि १५ रुपैयाँ मात्रै बढाउन मिल्ने बताउँदै यो माथिबाटै बढाएर आएपछि आफूहरूले त्यत्तिकै बस्न नमिल्ने उनको भनाइ छ ।  उनले भने,‘हामीले यात्रुको इच्छाअनुसार मात्रै हामीले एसेप्ट गछौं । यस्तो नगर्नुपर्ने हो । पठाओ र इन्ड्राइभमा फिक्स रेट हुनुपर्ने हो तर त्यस्तो छैन । पानी पर्दा जाम हुदाँखेरी रेट बढ्ने गरेको छ ।’ प्रहरीका दुई बस निःशुल्क सञ्चालनमा  नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन ल्याएको छ । प्रहरीले यात्रुको सहजका लागि उक्त बस सञ्चालनमा ल्याएको जनाएको छ ।  काठमाडौं उपत्यका ट्राफिक कार्यालयलका अनुसार उपत्यकाको दुई रुटमा दुईवटा बस सञ्चालनमा ल्याएको हो । यात्रुहरूको आवातजावत सहज बनाउनका लागि प्रहरी निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।  गिरीका अनुसार बस सेवा आजदेखि सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘हामीले अलपत्र परेका यात्रुहरूको सहजताका लागि उपत्यकामा दुईवटा बसहरू सञ्चालनमा ल्याएका छौं ।  यी दुबै बस उपत्यकाको विभिन्न ठाउँमा सञ्चालन छन् ।’ रुट नम्बर १ मा नयाँबसपार्क, बालाजु, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, जय नेपाल हल, पुतलीसडक,माइतीघर, थापाथली, जाउलाखेल, लगनखेल, सातदोबाटो, बल्खु, कंलकी, स्वयम्भुको रुटमा चलिरहेका छन् । रुट नम्बर २ मा एयरपार्ट, कोटेश्वर, ठिमी, सल्लघारी, सुर्यविनायक, चाविल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, रातोपल र गौशाला रुटमा सेवा दिइरहेका छन् ।  यसैगरी, सार्वजनिक बस ठप्प हुँदा उपत्यकामा यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि सशस्त्र प्रहरी बल नेपालले पनि दुईवटा बस नि:शुल्क  सञ्चालनमा ल्याएको छ ।  सशस्त्र प्रहरीका अनुसार सर्वसाधारणको सहजताको लागि बस नि:शुल्क रुपमा सञ्चालनमा ल्याइएको हो । गाडीमा चालकसहित तीन/तीन जना सशस्त्र प्रहरी समेत रहेका छन् ।  सशस्त्र प्रहरीका गाडीका चालकले भने, ‘ यातायात व्यवसायीसँग सरकार वार्ता गरिरहेको छ । यदि वार्तामा सहमति जुटेन भने अवस्था यस्तै रहेको खण्डमा उपत्यकाभन्दा बाहिरबाट समेत गाडी मगाउने कुरा भइरहेको छ । मंगलबारसम्म सम्भवत: यसको वार्ता सकारात्मकै आउँछ होला । सोमबारको जस्तो न होला ।’ बढी भाडा नलिन निर्देशन प्रहरीले यात्रुहरूसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । कसैले नियम विपरीत यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०४ मा कल गरेर जानकारी गराउन अनुरोध गरेको छ । उजुरी दिनसमेत प्रहरीले आग्रह गरेको छ । 

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायाङ्कन सुरु भएको हो ।  बन्दीपुरमा उक्त चलचित्रको छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायाङ्कन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।  बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब ३०० स्थानीयलाई दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायाङ्कन हुने जनाइएको छ ।  बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायाङ्कनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए । चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उनको भनाइ छ ।  चलचित्र छायाङ्कनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । उनले भने, 'विदेशी चलचित्रको छायाङ्कनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।' सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पलले यो चलचित्रको निर्माण गर्न लागेको हो । रासस