गाउँलेले नपत्याएका डाक्टर अहिले उत्कृष्ट न्यूरो सर्जन
काठमाडौं । एउटा १०/१२ वर्षको बच्चालाई आमाले आँखा चिम्लेर काखमा कसेकी छन् । बच्चा जोडले चिच्याइरहेको छ । यता चिकित्सकले मजाले लुगा सिलाएजस्तै चुँडिन लागेको औंला सिलाइरहेका छन् । अब सम्झनूस् त यो क्षण कस्तो थियो होला ? एउटा बालकलाई कति पीडा भएको हुँदो हो ? बच्चा रोएर छट्पटाएको देख्दा आमाले कसरी आफूलाई सम्हालेकी थिइन् होला ? आजभन्दा करिब १८ वर्ष पहिले दुर्गम पहाडी क्षेत्रको स्वास्थ्य अवस्था यस्तै थियो । कुनै अप्रेसन गर्नुपर्दा घाउमा बोरा सिलाएजस्तै गर्नुपर्थ्यो । जहाँ न कुनै अप्रेसन गर्ने मेसिनहरू थिए न त बिरामीलाई दुखाइ कम गर्ने औषधी नै । डा. सुशीलमोहन भट्टराईलाई अहिले त्यो दृश्य सम्झँदा सपना जस्तै लाग्छ । ‘नाइलनको डोरी भकभक उम्लिरहेको पानीमा पकाएर लुगा सिलाए जस्तै सिलाउँदाको त्यो दृश्य अहिले सम्झँदा पनि डर लाग्छ,’ उनी भन्छन्, ‘मैले पहिलोपटक अप्रेसन यसरी नै गरें, त्यतिबेला बेला न राम्रो औषधी, थियो न उपकरण । जे छ त्यसमै प्रयास गर्नुको विकल्प थिएन ।’ अहिले दूरबिनबाट घाउ नबनाएरै शरीरको अंगअंगको अप्रेसन गरिरहेका भट्टराई आफूले १८ औं शताब्दीको तरिकाले उपचार गरेको अनुभव सुनाउँछन् । डा. सुशीलमोहन भट्टराई नेपालको चिकित्सा क्षेत्रका एक प्रतिष्ठित न्यूरो सर्जन हुन् । अहिले उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जनको रूपमा काम गरिरहेका छन् । यस क्षेत्रमा उनको अनुभव, समपर्ण र दक्षता प्रशंसनीय छ । ब्रेन ट्युमर, इस्पाइनल डिसअर्डर र न्यूरोलोजिकल जटिलताहरूको सजिर्कल उपचारमा गहिरो विशेषज्ञता हासिल भएका भट्टराई आजभन्दा १७ वर्ष पहिले विभिन्न ग्रामीण बस्ती पुग्दा गर्नुपर्ने उपचारको प्रक्रिया माथि उल्लेख गरिएअनुसार थियो । उनी चिकित्सा क्षेत्रमा प्रवेश गरेसँगै धादिङ, इलाम, धरान पुग्दा यसरी उपचार गर्नुपर्ने अवस्था थियो । जहाँ काम गर्दा उनले फरकफरक अनुभव सगाल्ने अवसर पाए । भन्छन्, ‘उपत्यका बाहिर काम गर्दा पाइलापाइलामा फरक अनुभव हुन्छ, प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती हुन आउने महिलालाई मैनबत्ती बालेर सुत्केरी गराउँदाको क्षण कस्तो दर्दनाक थियो, अहिले त नेपालको स्वास्थ्यले धेरै फड्को मारिसक्यो ।’ अवस्था उस्तै रहेन । अहिले सबै अंगप्रत्यंग सजिलै हेर्नसक्ने प्रविधि नेपाली स्वास्थ्य क्षेत्रमा उपलब्ध छन् । होसमै राखेर पीडा हुन नदिनेदेखि बेहोस पारेर हरेक अंगमा देखिएका विकार झिक्न सक्ने उपकरण छन् । यस्ता प्रविधिले उपचार गरिरहँदा कहिलेकाँही विगतका स्मरणले घोच्दा भट्टराईको मन चिसो हुन्छ । अहिले सहरमा मात्र होइन, हरेक वडामा स्वास्थ्य संस्था छन् । हरेक पालिकामा अस्पताल छन् । १८ वर्षमा पनि नेपालको स्वास्थ्य क्षेत्रले निकै ठूलो फड्को मारेको उनी बताउँछन् । गाउँलेले नपत्याएका डाक्टर भट्टराईको बाल्यकाल पोखरामै बित्यो । कक्षा १० सम्म उनले पोखरामै पढाइ गरे । एसएलसीपछि उनी डाक्टर बन्ने सपनामा काठमाडौं पसे । जुन सपना बोकेर काठमाडौं पसेका थिए, यो सपना पूरा भएको १८ वर्ष भइसक्यो । उनले आइएस्सीपछि काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरे । एमबीबीएस सकेर लगत्तै चिकित्सा क्षेत्रमा प्रेवेश गरेका उनी उपत्यकाभन्दा बाहिर कामका लागि गए । ग्रामीण स्थानमा पुग्दा गाउँलेहरूले उनलाई पत्याएनन् । झट्ट हेर्दा भर्खरको २२–२३ वर्षको अल्लारे ठिटो । त्यो बेला गाउँलेहरूलाई उनी डाक्टर हो भन्ने विश्वास नै लाग्दैन्थ्यो । अस्पतालमा आउँदा उनलाई धेरैले सोध्नै चाहँदैनथिए । सोधिहाले पनि उनले प्रेस्क्रिप्सन गरेको औषधी पनि पत्याउँदैनथिए । भन्छन्, ‘ऊ राम्रो डाक्टर हो, भर्खर पढेर आएको भनेर गाउँलेलाई सम्झाउन अस्पतालका नर्स, ल्याब र औषधी पसलेहरूले धेरै मिहिनेत गर्नुपर्यो ।’ उपचार गर्न भारत जानेको लर्को देख्दा अचम्मित भट्टराई जागिरको सिलसिलामा पूर्वी इलाममा पुग्दा अनौठो दृश्य देखे । जहाँ सामान्य बिरामी पर्दा पनि उपचारका लागि नेपालीहरू भारत जान्थे । टाउको दुख्दा होस् या पेट दुख्दा भारतको दार्जिलिङ र सिलगुढीका अस्पतालमा नेपालीको भीड लाग्थ्यो । नेपालमा उपचार हुन्छ, औषधी पाइन्छभन्दा पनि नागरिकहरूले पत्याउँदैन थिए । सामान्य उपचारका लागि भारत पुगेकाहरू फर्किँदा कार्टुनभरि औषधी बोकेर फर्कन्थे। बिस्तारै भट्टराईले जनचेतना अभिवृद्धिका काममा लागे । नेपालमा हुनसक्ने उपचारका लागि भारत गइरहन पर्दैन भन्दै सबै नागरिकलाई सम्झाउन चेतनामूलक कार्यक्रमको आयोजना गरियो । नागरिकले पनि विस्तारै विश्वास गर्दै गए । अहिले त्यो क्षेत्रमा सामान्य उपचारका लागि भारत जाने संख्यामा निकै कमी आएको छ । भन्छन्, ‘यो स्वास्थ्य सेवामा भएको राम्रो प्रगति हो । नागरिक बुझ्न थाले, स्वास्थ्यप्रति ध्यान दिन थाले। यो खुसीको कुरा हो ।’ वीरमा काम गर्दाको अनुभव कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएकोे छ । काठमाडौं बाहिर सामान्य सिटामोल नपाइने अवस्था थियो । अहिले विशेषज्ञ डाक्टर हरेक जिल्लाजिल्ला पुगिसकेको छन् भने सघन उपचार कक्ष (आइसीयु), भेन्टिलेटर सेवा, अप्रेसन आदिइत्यादि सेवा पनि पाइन्छ । भट्टराईले वीर अस्पताल काम गर्न थालेको ९ वर्ष भयो । अहिले उनले टाउकाको जटिल अप्रेसन पनि गर्छन् । यस्ता जटिल अप्रेशन गर्न अनुभव र एउटा टिमवर्क चाहिने बताउँछन् । ‘समूहमा काम गर्दा जटिलता धेरै कम हुन्छ,’ उनी भन्छन्, ‘यो बाहेक कतिपय अवस्थामा जटिलता आउँछन् र तिनीहरूको सही समयमा पहिचान र उपचार गर्दा व्यक्तिको ज्यान जोगाउन सफल भइन्छ ।’ यसका लागि प्रविधिले धेरै सजिलो बनाइदिएको छ । उनी विश्वस्तरिय प्रविधि प्रयोग गरेर उपचार गर्न पाउँदा कृतज्ञ बनेको बताउँछन् । भट्टराई कहिलेकाँही उपचारमा जटिलता आउनुलाई स्वभाविक ठान्छन् । भन्छन्, ‘संसारभरि उपचार गर्दा जटिलता नआउने भनेको हुँदैन । जुनसुकै चिकित्सकले गर्दा पनि यस्तो समस्या आउँछ । तर हरेक चिकित्सकले आफ्नो विशेषज्ञाता भित्र आफ्नो उपचारलाई सही सटिक र प्रभावकारी बनाउने हरेक प्रयास गरेको हुन्छ ।’ कहिलेकाँही विरामीको अवस्था देखेर आफन्तहरूले आस मारिसकेको अवस्थामा उपचारपछि बिरामी हिँडेर घर जाँदाको खुसी अर्कै हुन्छ । नसोचेको खुसी केही समय पहिले एकजना महिलालाई प्रहरीले बोकेर अस्पताल ल्यायो । बेवारिसे अवस्थामा सडकमा भेटिएकी उनी अचेत थिइन् । इमरर्जेन्सीमा ल्याएर उनको सिटिस्क्यान गरियो । टाउकोमा ठूलो परिमाणमा रगत जमेको देखियो । ती महिलाको धड्कनमात्र बाँकी थियो । बाँच्ने आशा समेत कमै थियो । अस्पतालले सबै व्यवस्थापन गरेर उपचार गर्यो । भेन्टिलेटरमा राखेर उपचार गर्दा उनको बल्ल प्राण जोगियो । उपचार गरेको तेस्रो दिन बल्ल उनले आँखा खोलिन् भने चौथो दिन बोल्न थालिन्, पाँचौं दिन बुझिने गरी कुरा गर्न थालेपछि चिकित्सकहरूले सोधे । धेरै दिनसम्म उनी को हुन् भनेर पहिचान हुन सकेन । चिकित्सकले आईसीयूमै विभिन्न प्रश्न गरे । लामो प्रयासपछि उनलाई आफन्त कसैको नम्बर याद छ भनेर नम्बर सोध्न सुरु गरियो । उनले नम्बर भन्दै गइन्, चिकित्सकले नम्बर डायल गर्दै फोन गर्न थाले । तर नम्बर जहिल्यै गल्ती हुन्थ्यो । तर एक दिन उनले भनेको नम्बरमा फोन गर्दा फोन सम्पर्क हुन सक्यो । बल्ल सही नम्बर थाहा भयो । छोरीसँग कुरा हुनेबित्तिकै दुई घण्टाभित्र उनको परिवार आइपुग्यो । उनी उपत्यका बाहिरकी रहेछिन् । उनी कसरी काठमाडौं आइपुगिन् भन्ने समेत परिवारलाई थाहा थिएन । प्रहरीले अन्तिम अवस्थामा अस्पताल पुर्याएकी महिलालाई बचाएर परिवासँग मेल गरायो । भट्टराई यो सबैभन्दा खुसीको क्षण भएको बताउँछन् । उनका अनुसार अस्पतालमा यस्ता घटनाहरू प्रायः भइरहन्छन् । नेपालमै पढाइ नेपालमै काम न्यूरो सर्जनका रूपमा काम गरिरहेका डा. सुशील नेपालमै पढेर विशेषज्ञता हासिल गरेका व्यक्ति हुन् । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मास्टर रेजिडेन्सटी गरे । विद्यावारिधी तहको एमसीएच न्यूरोसर्जरी तालिम वी अस्पतालबाट गरेका हुन् । हरेक व्यक्तिका रुचि, इच्छा र चाहना फरक हुन्छन् र ती सानैदेखि हुन्छन् । कसैलाई परिवारले गाइड गर्छन् । कोही सानै उमेरमा कसैलाई देखेर पनि सपना बुन्छन् । त्यही सपनालाई पच्छ्याउँदै जाँदा कतिपय सफल हुन्छन् त कोही असफल । कसैले अर्कै बाटो रोज्छन् जुनमा सफल हुन्छन् । यही क्रमम आफू चिकित्सक बनेको भट्टराई बताउँछन् । उनी डाक्टर बन्नुको पछाडि डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइराला हुन् । उनीहरूलाई नदेखेर नचिनेर पनि उनले रोलमोडलको रूपमा देखे । उनीहरूका अन्तर्वार्ता टिभीमा आउँदा कहिल्यै नछुटाएर हेर्थे । उनले पढ्नेक्रममा थुप्रै चिकित्सकलाई भेट्ने चिन्ने अवसर पाए । त्यसपछि उनको मनमा झन् चिकित्सकप्रति सम्मान बढ्दै गयो । डाक्टर हुनु र बन्नुमा फरक धेरैजसो अभिभावकको सपना आफ्ना बच्चाहरू डाक्टर बनून् भन्ने हुन्छ । विद्यार्थीहरूको इच्छा पनि यसैमा हुन्छ । तर डाक्टर बन्ने चाहना राख्नु र बन्नुमा धेरै फरक हुन्छ । अहिले नेपालमा शिक्षाको नाममा चरम व्यापारीकरण हुँदै गएको छ । डाक्टर बन्न खोज्नु र हुनुमा के फरक छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिक्षा किन्न सक्ने क्षमता छ भने डाक्टर हुन त्यति गाह्रो छैन । तर चिकित्सक बन्न एक तहको तपस्या, मिहिनेत गर्नैपर्छ । अहिले यो पेशामा लाग्ने अठोट सानै उमेरमा बनाइसक्नुभएको छ भने योसँग सम्बन्धित संघर्षलाई अगाल्ने अठोट गर्नुपर्छ ।’ ‘यो पेशा भनेको यस्तो हो कि यसले प्रतिफल दिन्छ तर सधैं दिन्छ भन्ने हुँदैन । कहिलेकाँही तपाईंले गरेका संघर्षभन्दा ठूलो प्रतिफल दिन्छ, कहिले कम दिन्छ । कहिल्यै यो प्रतिउत्पादक पनि हुन सक्छ,’ उनले थपे ।
स्थायी बसाइँसराइदेखि रोजगारी र अध्ययनसम्म: दुई वर्षमा लाखौं नेपालीले छाडे देश
काठमाडौं । स्थायी रूपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरूले सधैंका लागि देश छाड्ने क्रम बढ्दो रूपमा देखिएको हो । पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो भने १ लाख ३७ हजार नेपाली स्थानीय रूपमै देश छाडेर विदेशमा बसाइँ सरेका छन् । अध्यागमन कार्यालयका अनुसार त्यसरी देश नै छाडेर विदेश बसाइँसराइ गर्नेहरूमा महिला भन्दा पुरुषको संख्या धेरै देखिन्छ । दुई वर्षको अवधिमा मात्रै ७१ हजार २०७ जना नेपाली पुरुष स्थायी रुपमै बसाइँ सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन् । त्यस्तै त्यसरी बसाइँ सरेर विदेश जाने महिलाको संख्या ६६ हजार ५ सय ३८ रहेको छ । अध्यागमन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा मात्रै स्थायी रूपमै विदेशमा बसाइँ सरेर ७० हजार ९ सय १५ नेपाली गएका छन भने सन् २०२४ मा ६६ हजार ८ सय ३५ नेपाली सधैं उतै बस्नेगरी गएका छन् । यसले ठूलो संख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाइँ सरिरहेको देखाएको छ । पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर अड्कलबाजी भइरहेको बेला कतै हजारौं नेपालीमार्फत स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशंका विभागको तथ्यांकले देखाएको छ । तर देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन । स्थायी मात्रै नभई अस्थायी रुपमा उतै बस्नका लागि पनि ठूलो संख्यामा नेपालीहरू विदेश गईरहेको सरकारी तथ्यांकले देखाउँछ । सन् २०२३ मा ९२ हजार ३ सय ४९ जना नेपाली अस्थायी रुपमा विदेशमा बस्नेगरी नेपालबाट अनुमति लिएर गएका छन भने सन् २०२४ मा मात्रै ६६ हजार ८३५ नेपाली अस्थायी रुपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेको अध्यागमन कार्यालयको तथ्यांकले देखाउँछ। पछिल्लो यो दुई वर्षमा रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गएको पनि तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा काम नपाएर रोजीरोटीका लागि १६ लाख ६४ हजार ८ सय ३७ नेपाली विदेश गएका छन् । अध्यागमन कार्यालयका अनुसार सन् २०२३ को तुलनामा २०२४ मा रोजगारीका लागि विभिन्न मुलुक जानेहरूको संख्या पनि वृद्धि भएको देखिन्छ । सन् २०२३ मा कामको खोजीका लागि विदेश जाने नेपालीको संख्या ८ लाख ८ हजार ४ सय १५ रहेकोमा सन् २०२४ मा ८ लाख ५६ हजार ४ सय २२ रहेको छ । पछिल्लो दुई वर्षको अवधिमा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी बाहिर गएको तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा मात्रै विद्यार्थी भिसामा २ लाख २७ हजार ९५१ जना विदेश गएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा पढ्नका लागि विदेश जानेहरूको संख्या बढेको देखिन्छ । सन् २०२३ मा १ लाख ८ हजार ५ सय ४२ जना पढ्नका लागि विदेश गएकोमा अर्को वर्ष २०२४ मा मात्रै १ लाख १९ हजार ५ सय ९ जना अध्ययनका लागि देशै छाडेर विद्यार्थी विभिन्न मुलुकमा गएको तथ्यांकले देखाएको छ । यस्तै, पछिल्लो समय भिजिट भिसामा विदेश जाने नेपालीको संख्या पनि बढेको देखिन्छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ४ लाख ७८ हजार ८४६ नेपाली विदेशमा गएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा घुमफिरका लागि भन्दै धेरै नेपाली विदेश गएको तथ्यांकले देखाएको छ । सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरका लागि विदेश गएकोमा सन् २०२४ मा मात्रै २ लाख ७४ हजार ५ सय १८ नेपाली विभिन्न मुलुकमा घुमफिरका लागि भन्दै भिजिट भिषामा गएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगले बिहीबार विशेष अदालतमा नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो । उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानिनोक्सानी पुर्याएको पाएपछि अख्तियार मुद्दा चलाउने निष्कर्षमा पुगेको हो । अख्तियार स्रोतका अनुसार यस प्रकरणमा चारवटा कसुरजन्य कार्य भएको र जसमध्ये एक कसुरमा नेपाल व्यक्तिगत रूपमै संलग्न भएको देखिएपछि नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय भएको हो । पतञ्जलिको नेपाल कार्यालयका केही अधिकारी, जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियाे । नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । यससँगै नेपालकाे सांसद् पद स्वतः निलम्बन हुने भएको छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाएपछि मात्र औपचारिक मानिने प्रावधान रहेको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भनिएको छ, ‘थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।’