पुँजीगत लाभकरको दर परिवर्तन गर्न आईक्यानका ५ सुझाव

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आईक्यान)ले नेपालमा वैदेशिक लगानी भित्र्याउन आयकर ऐन २०५८ का विभिन्न ५ वटा व्यवस्थामा परिवर्तन गर्नुपर्ने सुझाव दिएको छ । आईक्यानले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आयकर ऐन २०५८ मा नेपालमा लगानी गर्ने विदेशी कम्पनीलाई १५ प्रतिशत मात्रै पुँजीगत लाभकर लगाउनुपर्ने सुझाव दिएको हो ।  सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनदेखि विदेशी लगानीका कम्पनीहरूको दर्ताको लागि एकद्वार प्रणाली लागू गर्ने, लगानी बोर्डको गठन महत्त्वपूर्ण प्रयासहरू गरेको छ । तर पनि पछिल्लो ५ वर्षको अवधिमा औसत वार्षिक ४ अर्ब हाराहारी मात्रै विदेशी लगानी भित्रिरहेको देखिन्छ । तर, सोही अवधिमा बंगलादेश र श्रीलंकामा वार्षिक औसत क्रमश: ३ खर्ब र १.५ खर्ब रुपैयाँ बराबर विदेशी लगानी भित्र्याइरहेका छन् । जबकी नेपाल जस्तै अल्पविकसित एसियाली राष्ट्र लाओस, कम्बोडिया, अफगानिस्तान, म्यानमारले नेपालको भन्दा धेरै विदेशी लगानी भित्र्याइरहेका छन् ।  आईक्यानका अनुसार विदेशी लगानीमैत्री कर प्रणाली नहुनु, विदेशी लगानीबाट आर्जित मुनाफा फिर्ता लैजाने तथा लगानीकर्ताले चाहेको बेलामा लगानी समेत फिर्ता लाने प्रक्रिया झन्झटिलो हुँदा वैदेशिक लगानी आउन नसकेको आईक्यानले जनाएको छ । ‘नेपालको करको दर दक्षिण एसियाली मुलुकहरूको दाँजोमा धेरै फरक छैन । तर, दक्षिण पूर्वीय राष्ट्रहरूको तुलनामा औसतमा १० प्रतिशत विन्दुले बढी छ । नेपालमा गरेको लगानीलाई बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरको दर दक्षिण एसियामै सबैभन्दा बढी छ,’ आईक्यानले बजेटमा सुझाव दिँदै भनेको छ, ‘विदेशी लगानीकर्ताले गरेको लगानी निसर्ग गर्दा लाग्ने करलाई धेरै महत्त्वका साथ लिने गर्दछन् । विदेशी कम्पनी वा गैरवासिन्दा व्यक्तिले नेपालमा रहेको उसको लगानी बिक्री गर्दा २५ प्रतिशत लाभकर लाग्ने व्यवस्था छ । साथै आयकर ऐनले लाभकर गणना गर्दा मुद्रास्फीतिको समायोजन गर्ने व्यवस्था गरेको छैन । त्यसैले नेपालको लाभकरको दर अन्य राष्ट्रको तुलनामा धेरै छ ।’ आईक्यानका अनुसार भारतमा दीर्घकालीन लगानीको लाभकर १० प्रतिशत र अल्पकालीन लगानीको लाभकर २० प्रतिशत तोकिएको छ । यस्तै, म्यानमारमा १० प्रतिशत, मलेसियामा १० प्रतिशत, भियतनाममा २० प्रतिशत, मंगलादेशमा १५ प्रतिशत, पाकिस्तानमा ६ वर्षभन्दा बढीको लगानीमा लाभकर नलाग्ने र सोभन्दा कम समयको लगानीमा लाभकर १५, १२.५, १०,७५, ५ वा २.५ प्रतिशत, चीनमा २० प्रतिशत र सूचीकृत संस्थाको लगानीमा लाभकर नलाग्ने र जापानमा १५ प्रतिशत तोकिएको छ ।  नेपालमा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन हुँदा सम्बन्धित निकायलाई समेत दफा ५७ अन्तर्गत आयकर लाग्ने अवस्था रहेको छ । बहराइन, सिंगापुर, जमैका, न्यूजील्याण्डजस्ता धेरै देशमा लाभकर लाग्दैन । यसर्थ नेपालमा लाभकर, अन्तर्राष्ट्रिय अभ्यासभन्दा धेरै रहेको देखिन्छ । यो विदेशी लगानीको प्रमुख बाधक रहेकाले पुनरावलोकन आवश्यक रहेको आईक्यानको सुझाव छ ।  आईक्यानले आयकर ऐन २०५८ को दफा ९५ क को उपदफा २ (क) र (ख) लाई संशोधन गर्दै अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले लाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको तथा नभएको निकायको हितको निःसर्गबाट प्राप्त भएको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ७.५ प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको १० प्रतिशत र अन्यको हकमा लाभ रकमको २५ प्रतिशतका दरले लाग्ने व्यवस्था छ । उक्त व्यवस्थालाई संशोधन गर्दै अन्यको हकमा लाभ रकमको १५ प्रतिशतका दरले लाग्ने व्यवस्था गर्नुपर्ने आईक्यानले सुझाएको हो ।  यसका साथै आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ मा उपदफा ९ थप्न आईक्यानले सुझाव दिएको छ । आईक्यानका अनुसार सो व्यवस्थामा प्रचलित कानुन बमोजिम दर्ता भई धितोपत्रको खरिद-बिक्रीको कारोबार गर्ने बासिन्दा निकायबाहेक अन्य कुनै निकायलाई कुनै बासिन्दा निकायमा रहेको हितको निसर्गबाट लाभ हुन गएमा दफा ३७ बमोजिम गणना गरिएको त्यस्तो लाभमा कर लग्नुपर्नेछ ।  धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा १५ प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत, धितोपत्र बोर्डमा सूचीकृत नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिन भन्दा बढि अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २५ प्रतिशत हुनुपर्ने आईक्यानको सुझाव छ ।  आयकर ऐन, २०५८ को अनुसूची १ को उपदफा (८) गैरबासिन्दा प्राकृतिक व्यक्तिको कुनै आय वर्षको करयोग्य आयमा २५ प्रतिशतको दरले कर लाग्नेछ । तर, गैरवासिन्दा प्राकृतिक व्यक्तिको हकमा बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा १५ प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र सूचीकृत नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २० प्रतिशत र ३६५ दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभको रकममा २५ प्रतिशत । दफा ६७ मा नेपालमा रहेको सम्पत्ति भन्नाले जग्गा जमिन वा भवनहरू, गैरबासिन्दा व्यक्तिको बासिन्दा निकायमा रहेको हित तथा बासिन्दा व्यक्तिको कुनै विदेशी राष्ट्रमा रहेका जग्गा जमिन वा भवन बाहेकका सम्पत्ति वा सो व्यक्ति दफा ६९ बमोजिम नियन्त्रित विदेशी निकायसँग सम्बद्ध रहेमा सो निकायमा रहेको निजको हितसमेत सम्झनु पर्ने व्यवस्था राख्नुपर्ने उल्लेख छ ।   

डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् ।  उनले भने, 'पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।' पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ ।  शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७  यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।   

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई

कामाठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौं आइपुगेका दयाहाङ राई अहिले रङ्गमञ्च र चलचित्रको परिचित अभिनेता बनिसकेका छन् । काठमाडौंमा साहित्यकारसँगको सङ्गत र आकर्षणले लाहुर जानबाट भुलिएका राईले अभिनेताको परिभाषा नै बदल्न सफल भए । खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै स्थापित भएका अभिनेता राईले ‘हिरो’ को नयाँ परिभाषा बनाए । उनले ‘मेरो एउटा साथी छ’, ‘दासढुङ्गा’लगायतका चलचित्रमा अभिनय गरे तापनि स्थापित गर्ने काम चलचित्र ‘लूट’ ले गर्यो । त्यो उनले नसोचेको अप्रत्याशित सफलता थियो । चिटिक्क अनुहार र सुकिला वेशभूषा, नृत्य र द्वन्द्व गरेर अभिनय गरिरहेका अभिनेताको भीडमा अभिनेता राईले दर्शकसँग भौतिक दूरी तोडेर नयाँ शैलीको सुरुआत गरे । 'मैले ‘लूट’ मा अभिनय गर्दा त्यस अगाडिका दुई चलचित्रसहित तीन चलचित्रमा काम गरेँ भनेर देखाउन थियो । किनकि मैले भिन्न किसिमका तीन पात्रलाई पर्दामा ल्याएको थिएँ । ‘लूट’ ले मलाई चिनाउँछ भन्ने आशा थियो तर यस्तो सफलता दिन्छ भन्ने सोच भने थिएन । सायद, त्यहाँ दर्शकले आफूलाई पाउनुभएका कारण त्यो चलचित्र मात्र चलेन, त्यहाँका हामी कलाकार पनि चलिरहेका छौँ', अभिनेता राईले भने ।  चलचित्रमै काम गरिरहँदा सन् २००८ मा रङ्गकर्मीहरूको समूह बनाएर मण्डला नाटकघरको समेत स्थापना गरेका अभिनेता राईले अहिलेसम्म उक्त दायित्व निर्वाह गरिरहेका छन् । आफूलाई अभिनय गर्न, नाटकको अभ्यास गर्न र रङ्गकर्मीलाई एउटा ठाउँ दिन स्थापना भएको मण्डलाले अहिले धेरै कलाकारलाई मञ्चसम्म पुर्याएको छ । अहिले चलचित्रकर्मीका लागि पनि अभिनेता खोज्ने एउटा ठाउँ उक्त नाटक घर बनिसकेको छ । अभिनेता राईसँग उहाँको रङ्ग यात्रा, चलचित्रमा प्रवेश, नाटकघरको परिकल्पनालगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः      तपाइमा रङ्गमञ्चप्रतिको लगाव कसरी भयो ? भोजपुरको माटोमा साहित्य र सङ्गीतको छुट्टै जादु छ, जस्तो लाग्छ । बाल्यकालमा आमाले लोककथा धेरै सुनाउनु हुन्थ्यो । ती कथाका पात्रले मलाई आकर्षित गरिरहेको हुन्थ्यो किनकि उनीहरू रोमाञ्चक थिए । त्यसपछि रेडियो सुन्न थालियो गीतसङ्गीतमा आकर्षण बढ्यो, पुस्तक पढ्न थालेपछि साहित्यप्रति आकर्षित भएँ । त्यसो त म सदरमुकाममा दुई घण्टा हिँडेर चलचित्र हेर्न पुग्थे । चलचित्र हेर्दा किन र कसरी हुन्छ भनेर धेरै कौतुहलता बढ्थ्यो । घरबाट मलाई चाहेको कुरा गर्ने छुट थियो । ‘अरूको चित्त दुखाउने काम नगर्नु’ भनेर अभिभावकले भन्नुहुन्थ्यो । त्यो बाहेक रहर लागेका काम गर्दै हुर्किएँ ।  रङ्गमञ्चसँग कसरी जोडिनुभयो ?  १६ वर्षसम्मा खावा गाविसको गाउँमा जन्मेर खेतीपाती र गाईवस्तु गोठालो गर्दै खावा गाविसको दिल प्राथमिक विद्यालय, पशुपति मावि हुँदै अन्नपूर्ण गाविसका अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसीसम्म अध्यायन गरेँ । एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेर भोजपुरबाट काठमाडौं छिरेँ । यहाँ नाटक र साहित्यप्रतिको आकर्षणले मलाई रङ्गमञ्चसँग जोड्यो । म नाटक, साहित्य, चित्रकला प्रदर्शनीका कार्यक्रममा पुग्ने र त्यहाँ आएका कलाकारलाई भेट्ने गर्थें । मैले नाटक महोत्सवमा पनि पुगेर कसरी गरिन्छ भन्ने अवलोकन गरेको छु ।  त्यही क्रममा नाचघर जमलमा अभिनय सिक्न पाइन्छ भन्ने थाहाँ पाएँ । म पुग्दा एकवर्षे अभिनय कक्षा सकिन लागेको रहेछ, तर तत्कालीन महाप्रबन्धक हरिहर शर्मालाई अभिनयप्रतिको लगाव सुनाएँ । भोजपुरदेखिका कथा सुनाएँ । त्यसपछि अनुभवी कलाकारलाई दिइने कार्यशालामा मैले सहभागी हुने अवसर पाएँ । त्यहाँ अनुप बराल, वीरेन्द्र हमालसँग कार्यशाला लिएँ । त्यसपछि रङ्गकर्मीसँग सामीप्यता पनि बढ्यो, विस्तारै काम पाउन थाले ।  नाटकघर खोल्ने सोच कसरी आयो नि ?  मैले केही चलचित्रमा काम गरिसकेको थिएँ । अभिनय गर्ने लालसा झन् बढ्दै थियो । त्यो समयमा नाचघर, प्रज्ञा प्रतिष्ठान र गुरुकुलमा नाटक हुन्थ्यो । त्यहाँको आर्थिक भार उठाउन सक्ने हैसियत मसँग थिएन । नाट्यकर्मी साथीहरू राजन खतिवडा र सिर्जना सुब्बासँग छलफल गरेर नाटक गर्ने सोच बनाइरहेका थियौँ । तर, अभ्यास गर्न नै हामीले स्कुलको बिदाको समय चाहिने, छलफल गर्न चिया पसलमा घन्टौं बस्नुपर्ने बाध्यता थियो । हाम्रो कारणले अरुलाई असर गरिरहेको महसुस हुन्थ्यो । त्यसकारण एउटा ठाउँ चाहिन्छ भन्ने भयो ।  त्यही क्रममा हामीले काठमाडौ चहारेपछि अनामनगरमा छ आना क्षेत्रफलमा मण्डलाको स्थापना गर्यौँ । तीन जनाबाट सुरू भएको समूह विस्तारै १५ जनाको बनिसकेको छ । यसले हामीलाई जिम्मेवारी पनि दिएको छ । त्यहाँ अभिनय सिक्न पाउनु हुन्छ, आफूलाई बुझ्न आउनु हुन्छ । हाम्रो सपनासँगै अहिले धेरैको सपना जोडिएको छ । चलचित्रको छायाङ्कनमा पुग्दा अभिनयदेखि अन्य प्राविधिक पक्षमा पनि मण्डलाका विद्यार्थी देख्दा सन्तुष्ट हुन्छु । फेरि यो कसैको दबाब होइन, मैले देखेको सपना नै हो । चलचित्रमा काम गरेर नाटकघर चलाउने योजना नै थियो ।  नयाँ पुस्तामाको भविष्य रङ्गमञ्चमा कस्तो देख्नुभएको छ ? अनि रङ्गमञ्च साक्षरताको अवस्था के छ ?     नयाँ पुस्तालाई हामीले अग्रजबाट पाएको ज्ञान हस्तान्तरण गर्नु नै छ । हामीले त्यो गरिरहेका छौँ । हामीभन्दा अघिल्लो पुस्ताको सङ्घर्ष हाम्रो लागि प्रेरणादायी रह्यो । त्यसबाट प्रभावित भएर हामीले उहाँहरूसम्म पुग्न नसकेता पनि एउटा स्थान बनाउन सफल भयौँ । हामी पछाडिको नयाँ पुस्ता प्राविधिक युगको हुनहुन्छ । ज्ञान आर्जन गर्न विभिन्न माध्यम छन् तर इमान्दारिता, धैर्यता र समपर्ण चाहिन्छ । त्यही हामीले बुझाइरहेका छौँ । नयाँ पुस्ताले रङ्गमञ्चमा देखाउनुभएको सम्भावना प्रसंशनीय छ । रङ्गमञ्च साक्षरता बढ्न वा बढाउन समाजनै अध्ययनशील हुनुपर्छ । त्यसपछि हामीले गरिरहेको कामको प्रभाव देखिन्छ । त्यसका लागि विद्यालय वा विश्वविद्यालय जहाँ हामीले शिक्षा आर्जन गर्छौँ, त्यहाँ रङ्गमञ्चसम्बन्धी अध्यन गराउने र छलफल चलाउने हुनुपर्छ । अध्यनबाट सुरुआत भयो भने त्यसले रङ्गमञ्चलाई निकै उचाइमा पु¥याउँछ जस्तो मलाई लाग्छ ।   रङ्गमञ्चबाट जीविकोपार्जन गर्न सकिन्छ त ?   केहीले गरिरहेका छन्, धेरैले सोचे जस्तो जीवनशैली पाउन सकेका छैनन् । रङ्गमञ्च धानिएकै लगाव र इमान्दारिताले हो । किनकी नाटकलाई अझै व्यावसायिक बनाउन सकिएको छैन, हामीले प्रयास गरिरहेका छौँ । यहाँ रङ्गकर्मीकै लगानी छ, जबसम्म ‘कर्पोरेट हाउस’हरु आकर्षित हुँदैनन्, रङ्गकर्मीले सङ्घर्ष गर्नै पर्छ । हामीले चलचित्रमा पाएको पारिश्रमिकले आफ्नो सपना पूरा गर्न रङ्गमञ्च चलाइरहेका छौँ । चलचित्र झैँ यहाँ पनि टिकेट नै आयस्रोत भएकाले हाम्रो सीमितता छ । हामीसँग सिमित सिट छ, सिमित समय छ । तर, हामी धेरै दर्शकसम्म पुग्ने प्रयास गरी नै रहेका छौँ ।  चलचित्र जस्तै विदेशमा नाटक लान वा देखाउन प्रस्ताव आउँछ ? प्रस्ताव आइरहेका छन् । विदेशबाट आएर नाटक हेरेर प्रतिक्रिया दिने नाटक प्रेमी पनि धेरै हुनुहुन्छ । उहाँहरूले विदेश ल्याउनुस् भन्नुहुन्छ । तर, म हतार नगर्नुस्, पहिला सबै बुझ्नुस् भन्छु । किनकी हामिले छोटोमा पनि सात जनासम्मको समूह बनाउनु पर्छ । नाटकलाई सुन्दर बनाउने काम कलाकारसँगै ध्वनी, प्रकाशसहितको ‘स्टेज’ ले गरिरहेको हुन्छ । हामीले विदेशमा मञ्चन गर्दा प्राविधिक रुपमा ती गर्न सक्छौँ वा सक्दैनौँ रु भन्ने प्रश्न आफैँलाई आउने गर्छ । किनकी व्यावसायिक दायित्व धेरै थपेर हामीले नाटक गर्न सक्दैनौँ । त्यसकारण आएका प्रस्तावलाई पर्खिन आग्रह गरेका छौँ ।  नाटकघर सञ्चालन गर्दा के-कस्ता दायित्व थपिने रहेछन् ? पहिला हामीले आफ्नो लागि भनेर स्थापना गरेका थियौँ, अब यो कलाकारिता गर्ने धेरै युवाको सपना बनेको छ । त्यसले हामीलाई दायित्व थपेको छ । केही समय मलाई आर्थिक रुपमा निकै कठिनाइ परेको थियो । तर, अहिले भने सहज रुपमै नाटक घर सञ्चालन गर्न सकेका छौँ ।  तपाई चलचित्रमा देखिन थालेपछि नाटकमा कम समय दिनुभएको छ, अभिनय नगर्नुभएको पनि धेरै भयो । कहिले तपाईलाई दर्शक रङ्गमञ्चमा देख्न पाउने छन् ? म कसरी पवित्र रङ्गमञ्च छाड्न सक्छु रु मञ्च छुटेकै हो तर रङ्गमञ्च कहिल्यै छाडिनँ । रङ्गमञ्च त्यस्तो ज्ञानशाला हो, जहाँ बृहत् विद्या, कला र शिल्पको संयोजन हुन्छ । मैले पछिल्लो समय झन्डै छ वर्ष अगाडि अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘महाभोज’मा काम गरँे । त्यसमा म र कलाकार बुद्धी तामाङ ‘डबल कास्ट’ थियौँ । हामी जहाँ भएपनि एक जना नाटक गर्न आउने सहमति भएको थियो । एकपटक पोखरामा छायाङ्कन हुँदा प्लेन नउडेर आउन सकिन । म आफैँ निराश भएँ । त्यो भन्दा अगाडि मैले ‘र।।। माइलो’ नामक नाटक गरेको थिएँ । चलचित्र र नाटकको धपेडीले एउटा शोमा सोफाको आड लिएर अभिनय गरेँ । शो सकिने बितिकै डाक्टरको निगरानीमा उपचार गराउनुपर्यो । त्यसकारण रहरले मात्र नहुने रहेछ भन्ने लाग्यो ।  अहिले पनि हामीले २०८२/८३ का लागि नयाँ नाटक निर्देशन घोषणा गरेका छौँ । मैले पनि गर्ने भन्ने तयारी थियो । म निर्देशन गर्ने तयारीमा रहँदा पनि समय व्यवस्थापन नभएपछि अर्को वर्ष वा कुनै समयमा गरौँला भनेर व्यवस्थापनको जिम्मेवारीमा छु । मानसिक र शारीरिक रुपमा स्वतन्त्र भइएन भने आफू सन्तुष्ट हुने काम गर्न सकिदैन । काम गर्नैका लागि किन गर्ने भन्ने हो । तर, मञ्च छुटेता रङ्गमञ्च छाडेको छैन । यो मेरो घर हो । घर नफर्की कहाँ जानु र !  तपाईले नाटक हेर्ने शुल्क बढाउनु भएको छ, यसको प्रभाव कस्तो पर्ला ?  हामीले शुल्क न बढाएको झन्डै छ वर्षभयो होला । हामीले नाटकघर सञ्चालन गरिरहेको जग्गाको भाडा, बढ्दो महङ्गीले हामीले आर्थिक भारअनुसार नै टिकट मूल्य बढाएका छौँ । एउटा नाटक मञ्चन भएको पहिलो दुई साता विद्यार्थीलाई ? तीन सय र त्यसबाहेक व्यक्तिलाई पाँच सय रुपैयाँ तथा तेस्रो र चौथो साता विद्यार्थीलाई रु पाँच र त्यस बाहेककालाई एक हजार रुपैयाँ शुल्क तय गरेका छौँ । हामीले पहिले पनि केही सिटलाई एकहजार मूल्य राखेका थियौँ, त्यसलाई परिमार्जन गरेका हौँ । यसले हामीलाई पनि दायित्व बढाएको छ । हामीले पनि लिएको शुल्कअनुसारको मेहनत नाटकमा गर्नुपर्ने दायित्व थपिएको छ ।  ‘लूट’ मार्फत तपाईले अभिनेताको परिभाषा नै बदल्नुभयो नि ? त्यो चलचित्रको बनोट शैली नै नियमितभन्दा भिन्न थियो । त्यसका म लगायतका पात्र टोल, छरछिमेकमा भेटिने नै थिएँ । दर्शकले त्यहाँ आफूलाई पाउनुभयो । त्यही कारण त्यसले नसोचेको नतिजा दियो । हामी रङ्गकर्मी अहिले चलचित्रमा काम गरिरहेका छौँ । हामी दर्शकको सोच र स्वाद फेर्न सफल भयौँ । तर, म त्यो चलचित्रमा आफ्नो विविधता देखाउन अभिनय गरेको थिएँ । मैले ‘दासढुङ्गा’ र ‘मेरो एउटा साथी छ’मा गरेको काम भन्दा भिन्न थियो । अभिनयमा मलाई निरन्तरता दिन मद्दत गर्छ भन्ने लागेको थियो तर यो सफलता पाउँछु भन्ने आशा थिएन ।  नाटकघर स्थापनासँगै चलचित्र निर्माणमा पनि जोडिनुभयो । ‘कबड्डी’ निर्माणमा सहकार्य गर्ने सोच कसरी आयो ?   चलचित्रमा काम गरेर भएको आर्जनले नाटकघर चलाउने हाम्रो सोच नै थियो । ‘लूट’ को सफलताले दर्शकले एउटा विश्वास गर्नुभएको थियो । हामी मण्डला स्थापनाकै समय भेटघाट हुँदै गर्दा निर्देशक रामबाबु गुरुङले चलचित्र बनाउने कुरा गर्नुभयो । उहाँले सुनेको कथा (आइडिया) राम्रो लाग्यो । सोही क्रममा निर्देशक निश्चल बस्नेतसँग पनि सहकार्य गर्ने सल्लाह भयो । हामीसँग पर्याप्त पैसा नभए पनि जोडजाम गरेर चलचित्र बनाउने निधो गरेर काम गर्यौं । ‘कबड्डी’ को कथा नयाँ थियो, यसले नयाँ शैलीलाई परिचित गरायो । त्यसबाट हामीले व्यावसायिक रुपमा समेत लाभ लिन सक्यौं ।  चलचित्र ‘कबड्डी’ मा तपाईले निर्वाह गर्नुभएको ‘काजी’ को राम्रै चर्चा भयो । त्यो प्रेम कथाको शैली कहाँबाट आयो ?   ‘कबड्डी’ एउटा प्रेम कथानक चलचित्र हो । त्यसको काजी नामक पात्रले एकोहोरो माया गर्नेको कथा हो । उसले मन पराएको मान्छेलाई इमान्दारिताको साथ प्रेम गर्छ तर शैली मिलाउन सक्दैन । सोही कारण उसको शैलीमा दर्शकले ‘ह्युमर’ पाउनुभयो । यस्तो प्रेम गर्ने पनि छन्, हुन्छन् । हामीले नियमित भन्दा फरक काम गर्ने कोशिसकै सिलसिलामा काजी पात्रको उदय भएको हो ।  कलात्मक र पूर्ण व्यावसायिक (मसालेदार) दुवै चलचित्रमा काम गरिरहनुभएको छ, के छ यिनमा भिन्नता ?  मसालेदार चलचित्रमा दर्शकको प्रिय बन्न पात्रको बनोट हुन्छ । हाम्रो कोसिस त्यहि हुन्छ । तर, कलात्मक चलचित्रमा हामीले स्वतन्त्र भएर काम गर्न पाउँछौ, किनकी यी चलचित्रलाई अन्तरराष्ट्रिय बजार केन्द्रित गरेर तयार गरिएको हुन्छ । दर्शकले पनि दुवै चलचित्रको भिन्नता महसुस गरिसक्नुभएको छ । किनकी उहाँहरू मनोरञ्जन मात्र लिने की नयाँ केही हेर्ने भन्ने सोच बनाएर नै चलचित्र भवनसम्म आउनुहुन्छ ।  नाटक निर्देशन गर्नुभयो, चलचित्रतर्फ के छ सोच ?  म निर्देशन अवश्य गर्छु । तर, यो समयमा भन्ने सोचेको छैन । अहिले नाटकघरसँगै अभिनयमै व्यस्त छु । कुनै समय अभिनयबाट विश्राम लिनुपर्यो भने मैले गर्ने भनेकै नाटक र चलचित्र निर्देशन हो । तर, अहिले के कसरी गर्ने भन्ने तय छैन । यद्यपि केही पटकथा (स्क्रिप्ट) हेरिरहेको छु । तय भएपछि म आफैँ यसबारेमा जानकारी दिन्छु ।  तपाईको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महाभोज’ मा कस्तो भूमिका निर्वाह गर्नुभएको छ ? यो हाम्रै गाउँ/समाजको कथा हो । यसमा पाँच जना प्रमुख पात्र छन्, जसमध्येको म एक हुँ । त्यहाँ एकजना विदेशबाट गाउँ फर्किएका छन्, एक जना काठमाडौँबाट । ती युवाहरुको सोचको कथा नै ‘महाभोज’ हो । यसमा मैले धेर वर्षपछि निर्देशक दिनेश राउत र अभिनेता आर्यन सिग्देलसँग सहकार्य गरेको छु । मैले झन्डै सत्र वर्ष अगाडि चलचित्रमा सुरुआत गरेको थिएँ । त्यसक्रममा ‘मेरो एउटा साथी छ’ मा अभिनेतामा सिग्देल र मुख्य सहायक निर्देशकमा राउत हुनुहुन्थ्यो । केही समयदेखि कुरा गर्ने भनिएको सल्लाह अहिले बल्ल काममा परिणत भएको छ । यो जेठ १५ गते प्रदर्शन हुँदैछ, यसको विषयले हामीलाई रमाइलो मात्र बनाउँदैन । समाजका केही विषयमा सोच्न बाध्य बनाउँछ ।  नेपाली चलचित्र क्षेत्रमा गएको वर्षको व्यावसायिक उपलब्धिले कस्तो प्रभाव पार्ला ?  अघिल्लो वर्ष हामीले धेरै विविधतामूलक कथालाई पर्दामा हेर्न पायौं । धेरै भिन्न र फरक किसिमका कथा भएकै कारण धेरै देशक चलचित्र भवन आउनुभयो । तर, हाम्रो चुनौती नै ‘फलोअर्स’ बन्नबाट जोगिनु हो । हामीले त्यस्तो चलचित्र चल्यो भनेर त्यही शैलीलाई पछ्याउनु हुँदैन । आफैँ ‘क्रिएटर’ बन्न सक्नुपर्छ । हिजो ‘लूट’ होस् वा ‘कबड्डी’, गएको वर्षकै ‘पूर्णबहादुरको सारङ्गी’ बनाउनुको उदेश्य अर्काको देखासिखी थिएन । त्यो बनाउन मन लागेको शैली र कथामा चलचित्र बनेका थिएँ । तर, अब त्यो चल्यो, त्यो जस्तै बनाउन भनेर आउनुभयो भने गत वर्ष चलचित्र भवन आएका दर्शकलाई हामीले नयाँ केही दिन सक्दैनौँ । त्यसकारण हामीले आफ्नो रचनात्मक पक्षलाई अझैँ बढाउनु आवश्यक छ । चलचित्रको बजार हामीले देखिसकेका छौँ, राम्रो चलचित्र बनाउने दायित्व हामीलाई छ । रासस