निकोलस भुसाल पक्राउ

गोरखा । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।      भुसाल सोमबार गोरखा आएको र उजलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । भुसाललाई काठमाडौंस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए ।   

पुनःनिर्माण कोषमा ६ करोड २४ लाख संकलन

काठमाडौं । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म ६ करोड २४ लाख रुपैयाँ संकलन भएको छ ।      अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयकाअनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त रकम जम्मा भएको हो । जेनजी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय, तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्ता संरचनाको पुनःनिर्माणका लागि सरकारले गत असोज २८ गते कोषमा आर्थिक सहयोग जुटाउन सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, दातृ निकाय, उद्यमी तथा विभिन्न सङ्घ–संस्थालाई औपचारिक रूपमा आह्वान गरेको थियो ।      सहयोगकर्तालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षभरि प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ । कोषमा सङ्कलित रकम ‘राष्ट्रिय वाणिज्य बैंक’ सिंहदरबार शाखामा खोलिएको १९६०१००१०२०७०००४ विशेष खातामार्फत व्यवस्थापन गरिँदैछ ।

एनपीएको आयोजनामा स्मार्ट सहरी योजना र विकास सम्बन्धी सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल विद्यावारिधी संघ (नेपाल पीएचडी एसोसिएसन एनपीए) नेपालमा स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।  सम्मेलनको उद्घाटन सत्रमा पूर्व मन्त्री गणेश साह, डा. घनश्याम गुरुङ, प्रज्ञा प्रधान, जानुका ढकाल, प्रा.डा. लेखनाथ शर्मा, गोपाल सिग्देल लगायतका वक्ताहरुले नेपालको सहरी विकास सम्बन्धमा आआफ्ना धारणा राखेका थिए ।  सम्मेलनमा मुख्य वक्ता नेपाल विश्वविद्यालयका चान्सलर विन्दुनाथ लोहनीले नेपालको सहरी विकासका समस्या, अवस्था र समाधानका बारेमा विचार राखेका थिए । नेपाल विद्यावारिधी संघका अध्यक्ष सुनिलबाबु श्रेष्ठले नेपालको सहरी विकासका जटिलताको चर्चा गर्दै यस विषयमा गहन अनुसन्धानको खाँचो औंल्याए ।   सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले नीति निर्माण भए पनि कार्यान्वयनमा समस्या आएको अनुभव सुनासँदै सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।  सम्मेलनमा उमेशबहादुर मल्ल, डा. जनार्दन पौडेल, दुर्गा उपाध्याय, रिजा जोशी, डा. विजयकृष्ण जोशी, स्मृति कायस्थ, डा. सुनिलबाबु श्रेष्ठ, डा. सञ्जय देवकोटा, डा. नदिरा खवाजा, प्रकाश पौडेल, आकृति राना, प्रकृति निरौला लगायतले पेपर प्रेजेन्टेसन गरेका थिए।  दुई दिनको सम्मेलनमा सहरी विकास तथा योजना सम्बन्धमा गहन छलफल गरिएको थियो । छलफलबाट निस्किएका निष्कर्ष तथा सुझावहरुलाई सम्बन्धित निकायहरुमा पठाइने र त्यसले सहरी विकास योजना तथा नीति निर्माणमा सघाउ पुग्ने विश्वास नेपाल विद्यावारिधी संघले लिएको छ ।