एकीकृत समाजवादी विघटनपछि किसान श्रेष्ठ एमालेसँग छलफलमा

काठमाडौं । एकीकृत समाजवादी पार्टी विघटन भएसँगै नेपाली कम्युनिस्ट पार्टीमा नगएका नेता किसान श्रेष्ठले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग छलफल गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले सातै प्रदेशमा अभियान चलाएर नेताकार्यकर्तालाई एमालेमा फर्कने आह्वान गर्ने योजना रहेको बताएका थिए । उनले आफूले पसिना बगाएको र जीवन अर्पण गरेको पार्टी एमाले नै भएको उल्लेख गर्दै पुनः त्यही पार्टीमा फर्कनेबारे वार्ता र संवाद चलिरहेको जानकारी दिए । श्रेष्ठका अनुसार, एमालेमै आफ्नो राजनीतिक यात्रा सुरु भएकाले अब पुनः संगठन सुदृढीकरणका लागि योगदान गर्न तयार रहेको स्पष्ट पारे ।  

जेनजी प्रदर्शनको प्रभाव : स्तनपान कक्षमै इजलास सञ्चालन

काठमाडौं । जेनजी प्रदर्शनमा लागेको आगलागीपछि मोरङ जिल्ला अदालतले इजलास अभावमा स्तनपान कक्षमै इजलास सञ्चालन गरेको छ । अदालतका दुई भवनमा ११ वटा इजलास सञ्चालनमा रहेका मध्ये आगलागीपछि दुईवटा इजलासलाई स्थान अभाव भएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ९ वटा इजलास रहेको मुख्य भवनमा रहेका ४ नम्बर र १ नम्बर इजलासलाई स्थान अभाव भएको छ । इजलासका लागि स्थान अभाव भएपछि पुरानो स्तनपान कक्षलाई इजलासको रूपमा विकास गरिएको बुढाथोकीले जानकारी गराए । तर त्यहाँ पनि मुद्दाको सुनुवाइ हुन सक्ने अवस्था छैन । उनका अनुसार सानो ठाउँमा दुईवटा इजलास राखिएकोले सुनुवाइ गर्न नसकिएको हो । 'स्थान अभावले मुद्दाको सुनुवाइ त रोकिएको छ नै, चालु मुद्दाका १ हजार ४१ वटा मिसिल जलेका कारण मुद्दाको निरन्तरतामा पनि समस्या आएको छ,' बुढाथोकीले भने । फैसला लेखिँदै गरेका ९० वटा मिसिल नष्ट भएकाले फैसला भएर पनि पक्षहरूले न्याय पाउन नसकेको जानकारी उनले दिए । बुढाथोकीका अनुसार फौजदारी अभियोगका १० वटा मिसिल दैनिक रूपमा रिकभर भइरहेका छन् । दुनियाबादी  मुद्दाका फाइलहरू मुद्दाका पक्ष र वकिलहरूसँग सहयोग मागेर मिसिल बनाउने काम भइरहेको छ । अदालतमा २००१ सालदेखिका १ लाख ४९ हजार मिसिल जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा जलाइएको पाइिएको छ ।  

सुनको मूल्य तोलामा दुई लाख ३७ हजार ८०० पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मोल दुई लाख ३७ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १० रुपैयाँ निर्धारण भएको छ । बुधबार एक तोला सुन दुई लाख ३७ हजार २०० रुपैयाँ र चाँदी दुई हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।  बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी गर्दा बजारको प्रवृत्ति र मूल्य परिवर्तनमा ध्यान दिनु आवश्यक भएको उनीहरूको कथन छ । आगामी दिनहरूमा पनि मूल्यमा उतारचढाव हुने उनीहरूको विश्लेषण छ ।