कात्तिक २१ र २२ गते नास आईटी एक्सपो हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ आयोजना गर्ने भएको छ ।  ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरु प्रदर्शनीमा रहने छन् । स्थानीय प्रविधि र डिजिटल उ‌द्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए ।  'एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,' आइतबार काठमाडौंमा आयोजित प्रेस मिटमा पाण्डेले भने ।  यस्तै नास आईटीका उपाध्यक्ष दिपेन चापागाईले एस्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए ।  सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ ।  नास आईटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जस अनुसार टिग‌द्वारा प्रस्तुत नास आईटी एक्सपो २०२५ को नामबाट एक्सपो सञ्चालन हनेछ । परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यवसायिक अवसर, सहकार्य र ब्रान्ड निमौणको गतिशील मञ्चका रूपमा तयार गौरएको छ। एक्सपोमा विशेष गरी कृत्रिम बु‌द्धिमत्ता (एआई) र डिजिटल रुपान्तरणमा जोड दिइएको छ ।  नास-आईटी एक्स्पो ५ केवल एक प्रदर्शनी नभएर नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताइन् ।  एक्सपोमा ३० बढी आईटी सेवा र प्रडक्टहरुको प्रदर्शनी रहने छ । एक्सपो अवलोकनकर्तालाई अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ ।  साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्ने छन् ।  एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरु आउने छन् । एक्सपो अवलोकन निःशुल्क गर्न सकिने छ। यसका लागि अनलाइन टिकट बाट लिन सकिने छ ।  दुई दिनसम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिङ, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।   

बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले

काठमाडौं । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन् ।      सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।      स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए । चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौंका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ ।   

निजी क्षेत्रमा परेको असर र भविष्यको मार्गचित्रबारे सरकारले उद्योगी–व्यवसायीसँग गर्‍यो छलफल

काठमाडौं । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा सार्वजनिक–निजी संवाद आयोजना गरिएको छ । शुक्रबार लगानी बोर्डको कार्यालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल लगायतको सहभागिता रहेको थियो । छलफलमा अर्थमन्त्री खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका कामहरू निजी क्षेत्रले अनुभव गर्नेगरी भइसकेको बताए । लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शंका नगर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आग्रह गरे । यस्तै, गृहमन्त्री अर्यालले निजी क्षेत्रले राखेको सुरक्षा प्रत्याभूतिको विषयलाई गृह मन्त्रालयले गम्भीर रूपमा लिएको बताए । उनले मुलुकमा सुशासन कायम गर्न अपरिहार्य रहेको भन्दै सुशासनका सम्बन्धमा सरकारसँगै निजी क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताए । यसैगरी उद्योगमन्त्री सिन्हाले कुनै पनि निकायमा रोकिएका काम सम्पन्न गर्न तीव्र  गतिमा काम गरिरहेको बताए । कानुन नै सुधार गर्नुपर्ने बाहेकका प्रक्रियागत सुधारलाई उच्च प्राथमिकतामा राखिएको उनको धारणा छ । नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानी योग्य रकम रहेको हुँदा लगानीका लागि राम्रो अवसर रहेको बताए । उनले लगानीका लागि आग्रह गर्दै विशेषगरी पूर्वाधार क्षेत्रमा लगानी गर्न सुझाव दिए । कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरूलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको बताए । मुलुकमा भ्रष्टाचार निवारण, पारदर्शिता एवं सुशासन बढाउन सार्वजनिक निकायबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई ‘फेसलेस’, ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउन सार्वजनिक सेवाहरूलाई तीव्र गतिमा डिजिटलाइज गरिनुपर्नेमा जोड दिए ।  पाण्डेले देशको अर्थतन्त्र, निजी क्षेत्रको प्रकृति र संकट झेल्न सक्ने सामर्थ्य अन्यत्रभन्दा भिन्न रहेको यथार्थ यसअघिका संकटहरूले समेत देखाइसकेको भन्दै हालको चुनौतीलाई पनि अवसरको रूपमा लिन सकिने बताए ।  'तर, यसका लागि सरकारले अभिभावकत्व दिन आवश्यक छ । यो वा त्यो वहानामा लगानीकर्तालाई निरुत्साहित बनाउन हुँदैन । विगतका संकटहरूको जस्तै हालको संकटको पनि पूर्ण रूपमा सामना गरी अगाडि बढ्न निजी क्षेत्र दृढ छ । दृढ रहेको निजी क्षेत्रलाई अगाडि बढ्न प्रेरित गर्ने दायित्व भने राज्यको नै हो,' पाण्डेले भने ।   लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यक्रमको महत्त्वबारे जानकारी गराउँदै परियोजनाका लगानीकर्ता तथा विकासकर्ताहरूका लागि सहज व्यावसायिक वातावरण निर्माण गर्न लगानी बोर्डको कार्यालय सक्रिय र विवेकपूर्ण ढंगले कार्यरत रहेको तथा उक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।  'लगानी बोर्डले अब लगानीकर्ताका लागि ‘एकल विन्दु सेवा प्रणाली लागु गर्दै छ । जसअन्तर्गत कुनै पनि निजी लगानीकर्ताले लगानी बोर्डमा सिधै आयोजना दर्ता (आवदेन) गर्न सक्नेछ, र उक्त आयोजनाको स्वीकृति प्रक्रिया एकीकृत रूपमा एकल विन्दु सेवामार्फत अघि बढ्नेछ,' उनले भने । विगत एक वर्षयता सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, नियमावली लगायतका कानुनी संशोधन, संस्थागत सुधार र क्षमता विकासका प्रयासहरूको स्मरण गरे । उनले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट वक्तव्य, साथै लगानी बोर्डको आगामी चार वर्षे रणनीति र व्यावसायिक योजनाले निर्धारण गरेका महत्त्वाकांक्षी लक्ष्यहरू हासिल गर्नका लागि उच्च प्रतिबद्धताका साथ अघि बढ्ने बताए ।