दुई महिनामै २८ अर्ब ३६ करोडको धितोपत्र थपियो, आईपीओ मात्रै २० अर्बको

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम दुई महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा २८ अर्ब ३८ करोड रुपैयाँ बराबरको धितोपत्र थपिएको छ । गत साउनदेखि भदौ मसान्तसम्ममा साधारण सेयर(आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी आईपीओ सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा नेप्सेमा २० अर्ब ९४ करोड रुपैयाँ बराबरको आईपीओ थपिएको हो । त्यस्तै, चार अर्ब ४८ करोड रुपैयाँ बराबरको बोनस र एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर थपिएको छ । त्यसैगरी, साउन र भदौमा गरी ३५ करोडको डिबेन्चर(ऋणपत्र) र एक अर्ब १४ करोडको अन्य धितोपत्र नेप्सेमा सूचीकृत भएको हो । उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले विभिन्न बैंकहरुलाई एक अर्ब ८० करोड बराबरको ऋणपत्र निष्काशनको अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा सूचीकृत ४ अर्ब ३७ करोड सेयरको चुक्ता मूल्य ४२८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१८ पुगेको छ । जुन अघिल्लो वर्षको सो अवधिको तुलनामा २२ वटा बढी कम्पनी थपिएका हुन् । २०७५ भदौमा सूचीकृत कम्पनीको संख्या १९६ रहेको थियो । सूचीकृत कम्पनीमध्ये १५५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् ।

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

काठमाडौं । दशैंको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय गर्याे । धितोपत्र बजारमा यस साता कूल १ सय ६० कम्पनीको शेयर कारोवार भए । कूल ३२ लाख ८७ हजार ९ सय ६६ कित्ता शेयर ८० करोड ७५ लाख ५६ हजार ६ सय १२ रुपैयाँ मूल्यमा खरीदबिक्री भए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका कारण साताको पहिलो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएका कारण बजार बन्द भयो । सोमबारदेखि बिहीबारसम्म खुलेको बजार उकालो लाग्ने अपेक्षा रहे पनि लय समात्न सकेन । सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुग्यो । कूल १ सय ५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँ मूल्यमा खरीदबिक्री भए । मङ्गलबार नेप्से परिसूचकमा सामान्य सुधार भयो । सो दिन नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुग्यो । कूल १ सय ५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर २० करोड ९२ लाख ६ हजार ६३१ रुपैयाँ मूल्यमा कारोवार भयो । बुधबार नेप्से परिसूचक पाँच अङ्कले ओरालो लाग्यो । नेप्से ५.०१ अङ्कले घटेर एक हजार १३७.०३ मा पुग्यो । स्टकका अनुसार कूल १ सय ५९ कम्पनीका सात लाख ३६ हजार ८८३ कित्ता शेयर १९ करोड ६६ लाख १८ हजार ९ सय ३६ रुपैयाँमा खरीदबिक्री भए । साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सामान्य वृद्धि भयो । सो दिन नेप्से परिसूचक ०.७१ अङकले बढेर एक हजार १३७.७५ मा पुग्यो । स्टकका अनुसार सो दिन कूल १ सय ६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर १८ करोड २९ लाख ९४ हजार ९ सय ५ रुपैयाँमा खरीदबिक्री भए । स्टकमा यस साता मिथिला लघुवित्त वित्तीय संस्थाको ६८ हजार ९४६ कित्ता शेयर लाभांश सूचीकृत भए । बजार पूँजीकरणका आधारमा पनि यस साता नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा रहेको छ । यस्तै नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्डट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, कृषि विकास बैंक र एनएमबी बैंक शीर्ष दशमा रहेका छन् । ८२ कम्पनीको कारोवार रोक्का नेपाल स्टक एक्सचेञ्जले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८२ कम्पनीको कारोवार स्थगित गरेको जनाएको छ । स्टकका सूचीकरणका शाखाका अनुसार लघुवित्त १९, व्यापार तीन, होटल दुई, अन्य दुई उत्पादन ११, विकास बैंक १८, बीमा दुई, वित्त ११ र जलविद्युत्का १३ कम्पनीको कारोवार स्थगित गरेको हो । रासस

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सेयरधनीलाई सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका थिए । यसैगरी, सभाले सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल गरि विभिन्न प्रस्तावहरु पारित गरेको छ । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ । उक्त सभामार्फत आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित भएकाे छ ।