रसुवागढी, साञ्जेन र गणपतिको आईपीओ भर्ने समय सकियो, कतिले भरे सेयर ?

काठमाडौं । बिहीबार विभिन्न तीन कम्पनीको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । एकैदिन रसुवागढी जलविद्युत कम्पनी, साञ्जेन जलविद्युत कम्पनी र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर भर्ने समय सकिएको हो । सो मध्ये रसुवागढी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा एक अर्ब ७१ करोड ४३ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म तीन लाख दुई हजार ६२९ जनाले कुल एक करोड ७१ लाख ४३ हजार २६० कित्ता सेयरको लागि माग गरेका हुन् । रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो । त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको आईपीओमा एक अर्ब ४१ करोड ३२ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर माग गरेका छन् । उक्त आईपीओमा कुल ३ लाख ४ हजार ६९ जनाले एक करोड ४१ लाख ३२ हजार ८४० कित्ता सेयर माग गरेका बिक्री प्रबन्धक लगानीकोषले जनाएको छ । साञ्जेनको ५४ लाख ७५ हजार कित्तामध्ये ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । बाँकी रहेको २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्ड र २ लाख १९ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको थियो । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश भएका यी दुबै जलविद्युत् आयोजनाहरुले गत वैशाख ६ गतेदेखि साधारण सेयर बिक्री गरेका थिए । मागभन्दा बढी आवेदन परेपछि छिटोमा मंगलबार बन्द हुनुपर्ने यी दुबै कम्पनीको सेयर भर्ने समय थप दुई दिन थपिएको थियो । मेरो सेयरबाट आवेदन दिँदा सीडीएससीको सफ्टवेयरमा समस्या आएका कारण नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीको सेयरमा आवेदन दिने म्याद थप गर्न निर्देशन दिएको थियो । सोही अनुसार यी दुई कम्पनीको बिहीबारसम्म सेयर बिक्री खुला भएको हो । त्यस्तै, गणपति माइक्रोफाइनान्सको आईपीओमा कूल ६७ करोड ४७ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा ३ लाख २८ हजार ९६५ जनाले ६७ लाख ४७ हजार ९३० कित्ताको सेयर माग गरेका हुन् । संस्थाले बैशाख ९ गतेदेखि अंकित मूल्य १०० रुपैयाँको दरले ३ लाख १३ हजार ७५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । कम्पनीले कूल ३ लाख ३५ हजार साधारण सेयर निष्काशन गरेको थियो । त्यसमा कर्मचारीलाई ५ हजार १७५ कित्ता र म्युचुअल फण्डलाई १६ हजार ७५० कित्ता छुट्याइ बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरेको हो ।

लक्ष्मी बैंकको ६९ लाख कित्ता बोनस सूचिकृत

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ६९ लाख ८८ हजार ४१६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको बिहीबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

६० अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बको सेयर कारोबार

साताभरको नेप्से चार्ट काठमाडौं । सातामा नेप्से परिसूचक ६० अंकले उकालो लागेको छ । यस साताको पहिलो दिन १२३२.२६ अंकदेखि कारोबार शुरु भएको नेप्से अन्तिम दिन अर्थात बिहीबार १२९२.१२ अंकमा पुगेको हो । जुन गत बिहीबारको तुलनामा ५९.८६ अंक बढी हो । गत साताको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उत्कृष्ट सुधार भएको छ । यस साता नेप्सेमा करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । कुल ५ दिन कारोबार भएको बजारमा बिहीबार सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार मात्रै कूल १७६ कम्पनीको एक अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिमा अधिकांश वाणिज्य बैंकहरुको बढी कारोबार भएको छ । बिहीबार पनि उत्कृष्ट कारोबार गर्ने १० कम्पनी मध्ये ९ वटा वाणिज्य बैंक रहेको छन् । सबैभन्दा बढी नेपाल बैंकको १८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्लो समय ठूला बैंकहरु बिग मर्जरमा जाने हल्लाले सेयर बजारमा वाणिज्य बैंकहरुको बढी कारोबार भएको देखिन्छ । साथै, बजारमा स्थापित बैंकहरुको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ सस्तो भएकाले लगानीकर्ताहरु ती कम्पनीको सेयरमा आकर्षित भएका हुन् । नयाँ वर्ष लागेयता सेयर बजारमा पनि नयाँ उमंग छाएको छ । नयाँ वर्ष २०७६ साल शुरु भएपछि हालसम्ममा नेप्से १०८ अंकले बढेको छ । यस साता ६० अंकले बढेको नेप्से गत साता मात्रै ४८ अंकले बढेको थियो । दुई सातामा कुल ९ दिन कारोबार भएको बजारमा जम्मा एकदिन मात्रै नेप्से सामान्य अंकले घटेको थियो भने बाँकी ८ दिन निरन्तर दोहोरो अंकले उकालो लागेको छ । सेयर दुई हप्तासम्म निरन्तर बढ्नुले २०७६ साल सेयर बजारलाई एकदमै राम्रो देखिएको छ । जसले गर्दा २०७५ को अन्त्य तिर नेप्से निरन्तर ओरालो लागेर निराश भएका लगानीकर्ताहरुमा खुसी छाएको छ ।