सेयर किनबेच गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् दोस्रो बजारमा प्रवेश गर्नु अघि गर्नै पर्ने काम
काठमाडौं । धितोपत्र बजारमा लगानीकर्ताको लागि दुई खाले अवसरहरु उपलब्ध छन् । प्राथमिक निष्काशनमा आएका सेयरमा लगानी गर्ने र अर्को, दोश्रो बजारमा लगानी गर्ने । नेपालमा प्राथमिक बजारमा अधिकांश नागरिकको पहुँच अर्थात आकर्षण बढेको छ भने दोश्रो बजारमा त्यति छैन । लगानी गर्न सजिलो हुने र गरेको लगानी जोखिम रहित हुने महसुस गरिएकोले प्राथमिक बजारमा आम नागरिकको आकर्षण बढेको हो । तर, पछिल्लो समय भने दोस्रो बजारमा पनि आम लगानीकर्ताको रुची बढ्दै गएको देखिन्छ । अधिकांश क्षेत्रमा अनलाइनको पहुँच पुगेसँगै दोश्रो बजार पनि पूर्णरुपमा अनलाइन भएको र कोभिड-१९ पछिको लगानीको क्षेत्र नै धितोपत्र बजार भएकोले नागरिकले यसमा बढी चासो देखाएको बुझिन्छ । दोश्रो बजारमा गरिने लगानी जोखिमपूर्ण हुने र जोखिम बेहोर्न नचाहनेहरु यो बजारमा प्रवेश गर्नहुँदैन । कतिपयलाई दोश्रो बजारमा प्रवेश गरी कारोबार गर्ने इच्छा छ । तर के कसरी गर्ने भन्ने विषयमा अझै पनि अनविज्ञ छन् । के कसरी कारोबार गर्ने त परको कुरा, दोश्रो बजारमा प्रवेश गर्ने कसरी भन्नेमा नै कतिपय अन्यौलमा रहेका छन् । के हो दोश्रो बजार ? सूचीकृत कम्पनीको सेयर मोलमोलाई गरी किनबेच हुने बजारलाई नै दोश्रो बजार (धितोपत्र बजार) भनिन्छ । यो प्राथमिक बजारभन्दा बिल्कुलै फरक हुन्छ । प्राथमिक बजारमा किन्न मात्रै सकिन्छ भने दोश्रो बजारमा किन्न र बेच्न दुबै सकिन्छ । प्राथमिक बजारमा सेयरको मूल्य स्थीर हुन्छ भने दोश्रो बजारमा कारोबार हुने कुनै पनि कम्पनीको सेयर मूल्य अस्थिर अर्थात घटबढ भइरहन्छ । त्यसैले यो बजार बढी जोखिमपूर्ण हुन्छ । दोश्रो बजारको महत्वपूर्ण अंगको रुपमा धितोपत्र बजार सहभागीहरु जस्तै बजार सञ्चालक नेप्से, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी, आश्वा सदस्य, निक्षेप सदस्य, क्रेडिट रेटिङ सेवा, सूचीकृत कम्पनी र सामूहिक लगानी कोष(म्युचअल फण्ड)हरु रहेका छन् । धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले लगानीकर्ता दोश्रो बजारमा प्रवेश गर्छन् । यस बजारबाट लाभ लिन बजारको प्रवृत्तिसँग पनि परिचित हुनु उत्तिकै आवश्यक हुन्छ । अन्य अवस्था यथावत् रहेमा सामान्य अवस्थामा केही दिन बढेको बजार केही दिनपछि घट्छ भने केही दिन निरन्तर घटेको बजार केही दिनपछि बढ्छ । बजारमा प्रवेश गर्ने लगानीकर्ताले धितोपत्र बजार सम्बन्धित सूचनाहरु केलाउने क्षमता आफैले राख्नुपर्दछ । किनभने दैनिक सयौं कम्पनीको सेयर किनबेच भइरहेको हुन्छ र सबैलाई सबै कम्पनीको यथार्थ अवस्थाको जानकारी हुँदैन । यसको लागि सूचीकृत कम्पनीको विवरणमा उल्लेख भएका सेयर बजारसँग सम्बन्धित शीर्षकहरुलाई केलाई राम्रो नराम्रो आफैले मुल्याङ्कन गर्न सक्नुपर्छ । प्रतिसेयर नेटवर्थ जुन जति बढी हुन्छ, त्यति राम्रो मान्ने चलन छ । एक सय रुपैयाँको सेयरको नेटवर्थ त्यसभन्दा कम छ भने त्यो राम्रो मानिदैन । त्यस्तै, प्रतिसेयर आम्दानी जति बढी भयो त्यति राम्रो हुन्छ । सेयर बजार मूल्य र प्रति सेयर आम्दानीको अनुपात जति कम भयो त्यति राम्रो हुन्छ । यसबाहेक कम्पनीको वार्षिक प्रगति प्रतिवेदनमा पनि लेखापरीक्षकले यसका राम्रा र नराम्रा पक्षहरु औल्याएका हुन्छन् । त्यसको आधारमा पनि लगानीकर्ताले निर्णय लिन सक्नुपर्छ । प्रवेश गर्ने कसरी ? के के आवश्यक पर्छन् ? प्रथमतः बजारमा सेयर किनबेच गर्न बैंक खाता, डिम्याट खाता र कारोबार खाता अनिवार्य रुपमा चाहिन्छ । आफ्नो नाममा बैंक खाता छैन भने बैंकमा गएर खाता खोल्नुपर्ने हुन्छ । अभौतिक सेयर जम्मा गर्न डिम्याट खाता चाहिन्छ त्यसैले लगानीकर्ताको डिम्याट खाता अनिवार्य हुनुपर्ने छ । डिम्याट खाता छैन भने बैंक, ब्रोकर वा डिपी सेवा दिने जुनसुकै डिपी सेवाप्रदायक कहाँ गई खोल्न सकिन्छ । जुन खोल्नलाई पासपोर्ट साइजको एउटा फोटो, नागरिकताको प्रतिलिपी र एक सय ५० रुपैयाँ चाहिन्छ । तर कतिपय बैंकहरु तथा उक्त सेवा प्रदायकहरुले भने डिम्याट खाता खोल्दा शुल्क लिने गरेका छैनन् । यद्दपी डिम्याट खाता भने एकै व्यक्तिले दुई वा दुईभन्दा बढी खोल्नु हुँदैन । त्यस्तै, ब्रोकरसँग कारोबार गर्नको लागि कारोबार खाता खोल्नु पर्छ । डिम्याट खाताको लागि जस्तै यसको लागि पनि पासपोर्ट साइजको एउटा फोटो र नागरिकताको प्रतिलिपी आवश्यक पर्दछ । यस सेवाबापत ब्रोकरले हालसम्म कुनै पनि सेवा शुल्क लिएको छैन । यसका साथै, सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले उपलब्ध गराउने ‘मेरो सेयर’को सेवा पनि लिनु पर्ने हुन्छ । जुन २०७७ साउनबाट अनिवार्य भएको छ । उक्त सेवामार्फत आफ्नो डिम्याट खातामा भएको सेयरको जानकारी लिन र बिक्री गरिएको सेयर विद्युतीय प्रणालीबाट हस्तान्तरण गर्न सकिन्छ । यसमार्फत प्राथमिक बजारमा लगानी गर्नेले पनि यो सेवा लिँदा राम्रो हुन्छ । जसमार्फत आफैले आईपीओ, एफपीओ, हकप्रद सेयरमा आवेदन गर्न सकिन्छ । उक्त सेवाको लागि युजर आईडी र पासवर्ड पाउन आफुले डिम्याट खाता खोलेको स्थानबाट मेरो सेयर अकाउन्ट खोल्नु पर्ने हुन्छ । जुन वार्षिक रुपमा ५० रुपैयाँ नविकरण शुल्कतिर्नुपर्ने हुन्छ । नयाँ खोल्दा भने कुनै पनि शुल्क लाग्ने छैन । यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ । दोश्रो बजारमा कारोबारको जुनसुकै ब्रोकरको साइटमा गई अनलाइनबाटै खाता खोली युजर नेम आईडी अनलाइनबाटै लिन सकिन्छ भन्ने विभिन्न सञ्चारमाध्यममा आएका छन् । तर, अझै पनि केही ब्रोकरले आफ्नो वेवसाइटमा अनलाईन फारम उपलब्ध गराउन सकेका छैनन् भने केहीले अनलाइनबाटै सेवा सुविधा दिन थालिसकेका छन् । उनीहरुलाई दिएको काम र अधिकार अनुसार आवश्यक नपर्ने भएकाले होला कतिपय ब्रोकरको त आफ्नो वेवसाइट पनि छैन । उनीहरुको काम भनेको ग्राहककाे तर्फबाट खरिदबिक्री आदेश प्रविष्टि गर्नु हो । यद्यपि, अनलाइनबाटै फारम भरी युजर आईडी र पासवर्ड लिएपनि ब्रोकरकोमा भने पुग्नै पर्ने हुन्छ । किनभने ब्रोकर (दलाल) हरुले प्रत्यक्ष ग्राहक (लगानीकर्ता) चिन्नु पर्ने हुन्छ । ब्रोकरकोमा अनलाइन सुविधा भएमा आफुले चाहेको ब्रोकर, जसकोमा अनलाइन फारम भर्ने सुविधा छ, उसको वेवसाइटमा गई ‘क्रियट अनलाइन ट्रेडिङ अकाउन्ट’ भन्ने अप्सनमा जाने । त्यसपछि फारम आउँछ त्यसमा उल्लेखित सम्पूर्ण विवरणहरु ध्यानपूर्वक भर्नुपर्ने हुन्छ । सम्पूर्ण विवरण तथा वास्तविक कागजपत्र (ओरजिनल डकुमेन्ट) हरु अपलोड गर्नुपर्ने हुन्छ । अनि सब्मीट गर्नुअघि त्यहाँ दिइएका ट्रम्स् एण्ड कन्डिसन्स् ध्यान पूर्वक पढेर मात्रै सब्मीट बटनमा क्लिक गर्नु पर्छ । विवरण सब्मीट पश्चात तपाईको इमेलमा सब्मीट गरेको विवरणको पीडीएफ फाइल सहितको नोटिफिकेशन आउने छ । त्यस विवरण प्राप्त हुनासाथ सम्बन्धित ब्रोकरको कार्यालयबाट तुरुन्तै खाता खोली खाता नम्बरको विवरण इमेलमार्फत जानकारी गराउँछ । त्यस्तै, अनलाइन फारम बुझाएको ३ महिना भित्रमा आफ्नो इमेलमा प्राप्त केवाईसी तथा सम्पूर्ण कागजपत्र लिई सम्बन्धि ब्रोकरको कार्यालयमा एकपटक स्वयं उपस्थित हुनुपर्ने हुन्छ । ब्रोकरकोमा अनलाइन सुविधा नभएमा यदि आफुले इच्छाएको ब्रोकरकोमा अनलाइन खाता खोल्ने सुविधा नभएमा सम्बन्धित कार्यालयमा नै जानु पर्दछ । त्यसपछिब्रोकरसँगको कारोबारको लागि कारोबार खाता भर्नुपर्ने हुन्छ, जसको लागि नयाँ लगानीकर्ताले ग्राहक पहिचान फारम (केवाईसी फारम) भर्नुपर्ने हुन्छ । अनि ब्रोकरले अनलाइन एग्रीमेन्ट फर्म (सम्झौता पत्र) उपलब्ध गराएको हुन्छ, जसमा आफुले साइन (दस्तखत) गर्नुपर्ने हुन्छ । ब्रोकरले सम्बन्धित लगानीकर्ताको इमेलमा युजरनेम पासर्वड र लिंक पठाउँछ त्यसपछि उक्त नम्बर प्रयोग गरी अनलाइनबाट कारोबार गर्न सकिन्छ । अनलाइनका कारोबारको लागि भने ब्रोकरसँग थप सम्झौता गरी चाहिएको कारोबार लिमिट २५ प्रतिशत रकम धरौटी राखेर युजरनेम र पासवर्ड लिई अनलाईन मार्फत कारोबार गर्न सकिन्छ । कारोबार लिमिटको लागि ब्रोकरको टीएमएसमा गएर कनेक्ट आईपीएस प्रयोग गरी अनलाइनबाटै रकम पठाउन सकिन्छ । ब्रोकरकोमा के के कागजात पेश गर्नुपर्छ ? १. नेपाली नागरिकहरुको हकमा नागरिकताका प्रमाणपत्रको प्रतिलिपी । २. अन्य देशको नागरिकको हकमा पासपार्टको प्रतिलिपी । ३. नाबालकको हकमा संरक्षक तथा नाबालक दुबैको फोटो । ४. कानूनी संरक्षक भए सो सम्बन्धी कागजात । ५. आमा वा बाबु संरक्षक भएमा छोरा वा छोरीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी । ६. निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप । ७. कुनै संस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपी । ८. बैंक चेकको प्रतिलिपी । ९. डिम्याट खाता विवरण प्रतिलिपी । यससँगै अब दोश्रो बजारमा सेयर किनबेच गर्न पाइने छ । अब कुन कम्पनीको कति कित्ता सेयर किन्ने हो ? त्यसको लागि ब्रोकरलाई खरिद आदेश दिनु पर्छ । लगानीकर्ताले न्युनतम १० कित्ता सेयर किनबेच गर्न पाउछन् । हाल अनलाइन कारोबार प्रणालीको शुरु भएसँगै लगानीकर्ताले घरमै बसी इन्टरनेटको माध्यमबाट ब्रोकरलाई सेयर किनबेचको आदेश दिन सक्नेछन् । जसको लागि लगानीकर्ताले कारोबार खाता खोल्दा ब्रोकरबाट लिएको युजर आईडी र पासवर्ड प्रयोग गरी टीएमएस मार्फत आदेश दिन सक्नेछन् । लगानीकर्ताको आदेशलाई ब्रोकरले नेप्सेको कारोबार प्रणालीमा प्रविष्ट गरिदिन्छ । त्यसपछि लगानीकर्ताको खरिद आदेश र बिक्री आदेश मिलेमा सेयर किनबेच हुने छ ।
एनआरएन इन्फ्राइन्स्टक्चरकाे सेयर भर्ने दिन सकियाे, कति पर्याे आवेदन ?
काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद आजबाट सकिएकाे छ । साउन १६ गतेदेखि आज अर्थात साउन २१ गतेसम्म जारी भएकाे उक्त सेयरमा कम्पनीले माग गरेकाेभन्दा ५.२४ गुणा बढी आवेदन परेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख २८ हजार एक सय ५३ जना आवेदकले एक कराेड ६५ लाख ६७ हजार ६ सय कित्ता सेयर माग गरेकाे छ । जबकी कम्पनीले ३१ लाख ६० हजार १ सय ८३ कित्ता सेयर साधारणमा निष्काशन गरेकाे थियाे । संस्थाले कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरेकाे हाे । इच्छुक सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ ।
अरुण भ्याली हाइड्रोले शतप्रतिशत हकप्रद जारी गर्न पायाे नियमन आयोगकाे अनुमति
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगकाे अनुमति पाएकाे छ । आयोगको साउन १६ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । आयोगकाे अनुमति पाएपनि नेपाल धिताेपत्र बाेर्डकाे प्रकृया भने बाँकी नै रहेकाे छ । बाेर्डले अनुमति दिएपछि मात्रै कम्पनीले साे मात्राकाे हकप्रद सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड ८३ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद पश्चात हाइड्रोको चुक्ता पुँजी दुई अर्ब नजिक अर्थात एक अर्ब ९९ करोड रुपैयाँ नाघ्ने छ ।